अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१४ | Colorodo: 06:29

यस वर्षको उत्कृष्ट विशेष उद्यमी पुरस्कार कमला सुवेदीलाई

बिआरटीनेपाल २०७४ चैत १३ गते २१:५६ मा प्रकाशित

काठमाडौँ, मुलुकभरका २३ हजार महिलालाई हस्तकलाको सीप सिकाइ सकेकी युनिक क्रिस्टल हस्तकला उद्योगकी संचालिका कमला सुवेदीले यस वर्षको विशेष उद्यमी पुरस्कार प्राप्त गरेकी छन् ।घरेलु तथा साना उद्योग विकास समितिले राजधानीको भृकुटी मण्डपमा आयोजना गरेको राष्ट्रिय औद्योगिक बस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रममा उनले २० हजार रुपैयाँ राशिको उक्त पुरस्कार पाएकी हुन् । उक्त पुरस्कार नेपाल चेम्बर अफ कमर्सले प्रायोजन गरेको थियो । 

यही चैत ९ देखि १४ गतेसम्म भएको प्रदर्शनीमा हेटौंमा रहेको उनको सुवेदीको युनिक क्रिस्टल हस्तकला उद्योगले आफ्ना वस्तु प्रदर्शन गरेको थियो । उनलाई उद्योग सचिव यमकुमारी खतिवडाले पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरिन् ।

उनले यसअघि सन् २०१४ मा सरकारले प्रदान गर्ने उत्कृष्ट उद्यमी पुरस्कारसमेत यही व्यवसायबाट प्राप्त गरिसकेकी छन् । उनको उद्योगले विशेष गरी महिलाले श्रृंगार गर्न प्रयोग गर्ने सामानसामान उत्पादन गर्दै आइरहेको छ । चुरा, टप, विभिन्न प्रकारका माला, पर्सलगायतका सामान उनी उत्पादन गर्छिन् । उनी क्रिस्टलका सामान बनाउने वरिष्ठ प्रशिक्षक पनि हुन् ।

उनले बङ्गलादेशमा क्रिस्टलका गहनालगायतका सामग्री बनाउने सीप सिकेर आएपछि युवा स्वरोजगार कोषबाट आर्थिक सहयोग लिएर सुरुमा ५० जना महिलालाई क्रिष्टल हस्तकलाका सामान बनाउने तालिम दिएकी थिइन् । त्यसपछि तालिमको धेरै ठाउँबाट माग बढ्दै गएर उनले अहिलेसम्म नेपालका ६० भन्दा बढी जिल्लामा महिलालाई क्रिस्टलका सामग्री बनाउने तालिम दिइसकेकी छन् ।

सुरुमा १० हजार रुपैयाँ लगानी गरेर स्थापना गरिएको उनको उद्योगको आकार विस्तार हुँदैछ । उद्योगमा सिजनअनुसार कामदारलाई रोगगारी दिएको उनी बताउँछिन् । उनलाई उद्योग सञ्चालन गर्ने फुर्सद भने छैन । 

उनी गृहिणीहरुलाई क्रिस्टलबाट विभिन्न सामग्री उत्पादन गर्ने तालिम दिन्छिन् । तिनै महिलालाई कच्चा पदार्थ दिएर सामान बनाउन लगाउँछिन् । ती महिलाले बनाएको सामान उनको उद्योगले खरिद पनि गरिदिन्छ ।

सिलाईको कामबाट उनले व्यवसायमा हात हालेकी हुन् । उनले सन् २०११ मा बङ्गलादेश जाने अवसर प्राप्त गरिन् । त्यहाँको घुम्ने क्रममा उनले क्रिष्टलबाट बनेका हस्तकलाका सामानहरू प्रशस्त देखिन् । क्रिष्टलबाट सामान बनाउने तरिका उनले त्यहीँ सिकिन् । नेपाल फर्केर उनले यसैलाई व्यवसाय बनाइन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू