अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५१ | Colorodo: 12:06

काठमाडौँमा केन्द्रीय रक्तसञ्चार भवन शिलन्यास

बिआरटीनेपाल २०७४ फागुन १८ गते १०:४८ मा प्रकाशित

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार भवनको आज भृकुटीमण्डप प्रदर्शनी मार्ग काठमाडौँमा शिलन्यास गरिएको छ । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापा, नेपालका लागि थाईल्याण्डका राजदूत महामहिम भागवत तान्स्कूल (HE Mr Bhakavat Tanskul) , काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र थाई रेडक्रसका रक्तसञ्चार सेवाका निर्देशक उवोनवोन(CDR Ubonwon Charoonruangrit) ले संयुक्त रूपमा भवनको शिलान्यास गर्नुभएको हो ।

रक्तसञ्चार भवनको शिलान्यास गर्दै काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले विगतको भूकम्पबाट पाठ सिक्दै अब बन्ने भवनहरू भूकम्प प्रतिरोधी बनाउनु पर्नेमा जोड दिनुभयो । नेपाल रेडक्रस सोसाइटीले जस्तैं सबै सामाजिक तथा सामुदायिक संघसंस्थाहरुले पनि अव भवन संहिता अनुसार नक्सा पास गरी भवन निर्माणको प्रक्रिया अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।

“रक्तसञ्चार सेवा केन्द्रीय भवन निर्माण सहयोग परियोजना नेपाल थाइल्याण्ड बिचको मित्रता, सौहार्दता तथा सहयोगको एउटा बलियो प्रमाण हो” थाई राजदूत महामहिम भागवत तान्स्कूले बताउनुभयो ।

सोसाइटीका अध्यक्ष संजीव थापाले भूकम्प पछि रगत आवश्यक पर्ने बिरामीहरूका लागि आपत्कालीन सेवा केन्द्रबाट सेवा प्रदान भइरहेकोमा समयमै नयाँ भवनको निर्माण गरी अत्याधुनिक सेवा दिन सबै पक्षको सहयोगको लागि आव्हान गर्र्दै संस्थाको तर्फबाट छिटो भन्दा छिटो निर्माण सम्पन्न गर्न सबै सम्भव प्रयासहरू गरिने बताउनुभयो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला तथा रक्तसञ्चार व्यूरोका निमित्त निर्देशक डाक्टर रेखा मानन्धरले रेडक्रस रक्तसञ्चार सेवाको प्रशंसा गर्दै सरकारको तर्फबाट रक्तसञ्चारका क्षेत्रमा हरसम्भव सहयोग पुर्‍याइने बताउनुभयो ।

यसअघि नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले भूकम्प पछि पूर्ण रूपमा क्षति भएको भवनको निर्माण शुरुहुनु सबैको लागि खुसीको कुरा भएको बताउँदै कार्यक्रमा सबैलाई स्वागत गर्नुभयो ।

थाई रेडक्रसका रक्तसञ्चार सेवाका निर्देशक उवोनवोनले थाई रेडक्रस र नेपाल रेडक्रस सोसाइटी बिच भूकम्प पुर्नलाभ कार्यक्रमलाई दिगो बनाउन सहयोग र समन्वयका सम्बन्धमा बृहत् छलफल भई सो अनुरूप रक्तसञ्चार सेवा भवन निर्माणका लागि सहयोग उपलब्ध गराइएको बताउनुभयो ।

भवनको निर्माणको लागत २१ करोड ७४ लाख ७३ हजार ८ सय रहेको भन्दै नेपाल रेडक्रसका सञ्चार पर्मुख दिव्यराज पाैडेलले अण्डरग्राउण्ड सहित ५ तलाको भवन हुने र १८ महिनामा भवन निर्माण सकिने योजना रहेकाे जानकारी दिनुभयाे । पाैडेलले भन्नुभयाे थाई रेडक्रसले उपकरण खरिद तथा व्यवस्थापकिय सेवा पनि उपलब्ध गराउने छ । नेपाल रेडक्रस सोसाइटीले देश ७३ जिल्लाका १ सय ६ स्थानबाट रक्तसञ्चार सेवा दिई आएको छ ।

निर्माण कम्पनीका तर्फबाट कन्ट्रयाक्टर जिपछिरीङ लामाले सुरक्षा, गुणस्तर र समयलाई ध्यानदिई भवनको निर्माण कार्य सम्पन्न हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

शिलन्यास कार्यक्रममा रेडक्रसको अन्तर्राष्ट्रिय समिति, रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ, नेपाल रेडक्रसका कोषाध्यक्ष, उपमहामन्त्रीलगायत पदाधिकारी र उच्च पदस्थ कर्मचारीहरू, काठमाडौँ महानगरपालिका वडा ३२ र १७ वडाका वडा अध्यक्षहरू, रक्तसञ्चार समितिका सभापति, नेरेसो केन्द्रीय रक्तसञ्चार निर्देशकलगायत अन्य विभागका निर्देशकहरूको उपस्थिति रहेको थियो । शिलान्यास कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाइटी भूकम्प प्रतिकार्य कार्यक्रमका प्रमुख उमेश प्रसाद ढकालले गर्नुभएको थियो ।

शिलन्यास कार्यक्रम पश्चात् आजै महामहिम भागवत तान्स्कूल र थाई रेडक्रसको टोलीले नेपाल रेडक्रस सोसाइटीको केन्द्र्रीय कार्यालयको भ्रमण गरी नेपाल रेडक्रस सोसाइटीका गतिविधिहरूबारे जानकारी लिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू