अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०९ | Colorodo: 03:24

रसुवाको कालिकास्थान गाउँपालिकाको लामाटोलबाट चित्रेपानी सम्मको ग्रामीण सडक निर्माण सम्पन्न

बिआरटीनेपाल २०७४ फागुन १५ गते २१:१२ मा प्रकाशित

रसुवा जिल्ला कालीका गाउँपालिका अन्तरगत चित्रेपानी गाउँका बासिन्दाहरु यति बेला खुसीले गद्गद् छन्। रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यले आफ्नो व्यक्तिगत लगानीमा चित्रेपानी गाउँमा बाटो पुर्‍याए पछि चित्रेपानी बासिहरुको मुहारमा खुसी आएको हो ।

बर्षौ देखी बाटोको पर्खाइमा रहेका चित्रेपानी बासिहरुको आफ्नै घर अगाडी मोटर गुडेको हेर्ने चाहाना सांसद मोहन आचार्यको विजय सँगै पुरा भएको छ।

सांसद मोहन आचार्यले बाटोले नछोएका जिल्लाका सबै स्थानहरूमा आफ्नो व्यक्तिगत खर्चमा बाटो पुर्‍याउने अभियानको शुभारम्भ माघ २७ गते स्काभेटर र डोजर जिल्लालाई उपलब्ध गराएर सुरु गरेका थिए । सो अभियानबाट लाभान्वित हुने चित्रेपानी बासिहरु पहिलो भाग्यमानी बन्न पुगेका छन्।

सो अभियान अन्तर्गत पहिलो चरणमा रसुवाको कालिकास्थान गाउँपालिकाको लामाटोलबाट चित्रेपानी सम्मको करिब ४ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न भएको छ।रसुवा जिल्लाको सबै गाउँमा ग्रामीण सडक सञ्जाल पुर्‍याउन सांसद आचार्यले व्यक्तिगत लगानी १ करोड ७० लाख रुपैयाँमा खरिद गरिएको स्काभेटर र डोजर जिल्लालाई उपलव्घ गरेका थिए ।

रसुवा जिल्लाको गोसाँईकुण्ड गाउँपालिको लाङटाङ ,नौकुण्ड गाउँपालिकाको केही गाउँ, पार्वतीकुण्ड गाउँपालिकाको हाकु, सानो हाकु, नेसिङलगायतका ठाउँहरूमा अहिले पनि मोटर बाटो पुग्न सकेको छैन ।

घर अगाडी मोटर बाटो आईपुग्दा भूकम्पबाट पिडीतहरुलाई घर निर्माणमा प्रत्यक्ष सहयोग पुगेको स्थानीय बासिहरुको भनाई छ। यसले पुनर्निर्माणमा संलग्न जनताहरूको ढुवानी लागत आघा घटाएको उनीहरूले बताए।

अब दोस्रो चरणमा पासाङलामु राजमार्गको पराङक्षे बाट पात्ले जोड्ने सडक खन्ने काम सुरु हुने छ। यो सडकको लम्बाइ करिब २ किलोमिटर छ। 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू