अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५२ | Colorodo: 04:07

छापामार देखि मन्त्रीसम्म. . .

शूरबहादुर सिंह/दिपेन्द्र शर्मा २०७४ फागुन ८ गते ९:४५ मा प्रकाशित

सुर्खेत, विसं २०४६ मा तत्कालीन मसालको विद्यार्थी संगठनको सदस्यता लिँदा उहाँ राप्ती ज्ञानोदय मावि रुकुममा कक्षा ६ मा अध्ययनरत हुनुहुन्थ्यो ।

विद्यार्थी संगठनको सदस्य हुँदा राजनीतिबारे खासै थाहा थिएन, उहाँलाई । पछि संगठनका अग्रजले मुलुकको राजनीतिक, आर्थिक र सामाजिक अवस्थाको यथार्थता प्रष्ट्याउँदै जाँदा त्यसप्रति उहाँको चासो बढ्यो । यद्यपि त्यतिबेला भने नेपालमा सशस्त्र युद्धको थालनी भइसकेको थिएन ।

किशोर अवस्थादेखि राजनीतिक यात्रा शुरु गर्नुभएकी बिमला केसी रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ सिम्ली निवासी हुनुहुन्छ । सानै उमेरमा बुबाको मृत्यु भएकाले केसीलाई विद्यालय शिक्षा हाँसिल गर्न निकै समस्या भयो । बुबाको मृत्युपछि आमाले भोगेको पीडा, व्याप्त गरिबी र महिला हिंसाले उहाँलाई संघर्षमा उत्रन उत्प्रेरित गरायो ।

विद्यार्थी राजनीतिबाट अघि बढेकी केसीपछि २०५२ सालमा तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्धमा सरिक हुनुभयो । पूर्णकालीन सदस्य बनेर माओवादी राजनीतिको यात्राका दौडानमा उहाँ रुकुम जिल्लाको पहिलो महिला, विद्यार्थी तथा कलाकार संगठनको एकै पटक प्रमुख बन्नुभयो ।

त्यसपछि माओवादी सुरक्षा दलको सदस्य हुँदै २०५६ सालमा उहाँले रुकुमको छिवाङ गाउँ जनसरकार प्रमुखको भूमिका निर्वाह गर्नुभएको थियो । सुरक्षा दलको सदस्य हुँदाका बखत महिला छापामार भएर कैयन युद्ध मोर्चामा लड्दा भोग्नु परेका सास्तीको केसी अहिले पनि तीतो स्मरण गर्नुहुन्छ । 

विसं २०५८ सालमा पार्टीको क्षेत्रीय ब्यूरो तथा महिला संगठनको केन्द्रीय सदस्य बनेकी केसी २०५९ सालमा भूमिगत अवस्थामै तत्कालीन मगरात स्वायत्त प्रदेशको समाज कल्याण मन्त्री पनि बन्नु भएको थियो । त्यसैगरी, २०६४ सालमा रुकुमबाट उहाँ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभयो ।

समानुपातिकबाट प्रदेशसभामा निर्वाचित केसी प्रदेश नं ६ को पहिलो भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बन्नु भएको छ । महिलाहरुले संघर्ष गर्न सक्दैनन् भन्ने भनाइलाई गलत सावित गर्दै अहिले यो हैसियतमा पुग्दा निकै गर्व लागेको मन्त्री केसी बताउनुहुन्छ । “यो देशको महिलासहित उत्पीडित वर्गको जननी सशस्त्र युद्ध नै हो, जहाँ थुप्रैपटक हामीले छापामार युद्ध लडेका थियौँ,”–उहाँले भन्नुभयो ।

त्यही छापामार युद्धले आफूलाई यस ठाउँमा पु¥याएको उहाँको भनाइ थियो । प्रदेश सरकारको प्रवक्तासमेत रहनु भएकी सहकारी मन्त्री केसी हाल नेकपा (माओवादी केन्द्र)को पोलिटब्यूरो सदस्य हुनुहुन्छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू