अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:११ | Colorodo: 05:26

दक्षिणा सहित बिदाई गरियो डोलेश्वरबाट साधुसन्तलाई

बिआरटीनेपाल २०७४ फागुन २ गते २:३१ मा प्रकाशित

केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वको लागि आएका साधुसन्तलाई आज बिदाई गरिएको छ । शिवरात्रिमा विभिन्न स्थानबाट डोलेश्वरको मन्दिरमा दर्शन गर्न आएका ती साधुसन्तलाई भोजन, प्रसाद तथा दक्षिणा प्रदान गरी बिदाई गरिएको हो ।

डोलेश्वर दर्शन गर्न आएका झण्डै ५०० साधुसन्तहरु मध्ये आज ३०० साधुसन्तहरु बिदाई कार्यक्रममा सहभागी भएको र बाँकी साधुसन्त बिदाई कार्यक्रममा सहभागी नभईकन फर्केको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष बिदुरमान सिंह बस्नेतले बताए ।

डोलेश्वरमा आएका साधुसन्तलाई तीन तहमा वर्गिकरण गरी दक्षिणा उपलब्ध गराएको समितिका सचिव तथा प्रचार प्रसार समितिका संयोजक मोहन बल्लले बताए । क वर्गका साधुसन्तलाई नगद १ हजार १ सय दक्षिणा, ख वर्गलाई नगद ७ सय रुपैयाँ र ग वर्गलाई नगद ५ सय ५ रुपैयाँ तथा प्रत्येकलाई एक थान कम्बल, १ थान धोती प्रदान गरिएको उनले बताए ।
डोलेश्वरमा विगत केही वर्षदेखि साधुसन्तहरुको आगमन हुने गरेको हो । डोलेश्वरमा शिवरात्री पर्वका लागि गत एक हप्ता अघिदेखि साधुसन्तहरु आएका थिए ।

मन्दिर परिसरमा जम्मा भएका साधुसन्तलाई समितिले खानपानलगायत धुनी बाल्न दाउराको समेत व्यवस्था गरेको थियो । देशका विभिन्न स्थान तथा भारतबाट साधुसन्त तथा योगीहरु शिवरात्रिमा डोलेश्वर आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू