अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४९ | Colorodo: 23:04

अमेरिकामा अवार्डेड चलचित्र ‘पंचायत’को ट्रेलर सार्वजनिक

बिआरटीनेपाल २०७४ माघ २१ गते २२:१३ मा प्रकाशित

पचास वर्ष अघिको सामाजिक संरचना र किशोरीको मनोभावलाई समेटेर बनाएको चलचित्र ‘पंचायत’को ट्रेलर सार्वजनिक गरिएको छ । वरिष्ठ कलाकार तथा वितरकहरुको सहभागितामा आईतवार राजधानीमा ट्रेलर सार्वजनिक गरिएको हो ।

अमेरिकामा उत्कृष्ट अवार्ड लिनसफल चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव महानिरिक्षक (डिआईजी) छविलाल जोशीले विकट ठाउँमा पुगेर चलचित्र बनाएको र मौलिक विषय समेटिएकाले चलचित्र उत्कृष्ट हुने विस्वास व्यक्त गरे ।

सार्वजनिक ट्रेलरमा एउटा गाउँकी किशोरीको यौनमनोभाव नायिका निता ढुंगाना मार्फत झल्किन्छ । २०३३ सालको तत्कालिन पञ्चायत व्यवस्थाको प्रधानपञ्चको भूमिकामा नायक सरोज खनाल देखिन्छन् । किशोरीले भोग्ने पिडा र पञ्चायत बसेर गाउँमा समस्याहरु समाधान गरिएका दृष्य उत्कृष्ट छ । ट्रेलरमा देखिएको मौलिक भाषाशैलीको प्रयोग र लवजलाई सहभागिहरुले तारिफ गरेका छन् ।

वरिष्ठ कलाकार निर शाह, चलचित्र विकास वोर्डका सदस्य नरेन्द्र महर्जन, नेपाल चलचित्र संघका अध्यक्ष प्रदिपकुमार उदय, चलचित्र वितरक गोपाल कायस्थ, कलाकार संघको महासचिव सरिता लामिछाने कार्यक्रममा सहभागि थिए ।

कार्यक्रममा चलचित्र निर्देशक सोभित बस्नेत, मधुसुदन भट्टराई, ऋषि लामिछाने, डव्बु क्षेत्री, लक्ष्मण सुवेदी, निर्मात्री क्रिशा चौलागाई, कलाकारहरु रमित ढुंगाना, सलोन बस्नेत, सुलेमान शंकर (ईकु) लगायतको पनि सहभागिता थियो ।

अमेरिकाको क्यालिफोर्निया राज्यको सन्फ्रान्सिस्को शहरमा आयोजित ‘सन फ्रान्सिस्को चलचित्र महोत्सव’मा चलचित्र ‘पंचायत’ले बिदेशी भाषाको उत्कृष्ट चलचित्र विधाको अवार्ड जित्न सफल भएको थियो ।

सोही क्रममा नायिक निता ढुंगानाले उत्कृष्ट नायिकाको अवार्ड पाएकी थिईन् । चलचित्र पञ्चायतबारे संक्षिप्त प्रतिक्रिया दिंदै बरिष्ठ कलाकार निर शाहले जीवन्त दस्तावेजको रुपमा अभिनय गर्ने हस्ती पंचायतमा रहेको भन्दै ट्रेलरले नै सफलताको संकेत गरेको प्रतिक्रिया दिए ।

नेपाल चलचित्र संघका अध्यक्ष प्रदिपकुमार उदयले चलचित्रले सफलताको शुभकामना दिए । चलचित्र विकास वोर्डका सदस्य तथा फिल्म वितरक कम्पनी(एफडी)का अध्यक्ष नरेन्द्र महर्जनले राम्रो चलचित्र बनेकोे भन्दै बढीभन्दा बढी हल उपलव्ध गराउने प्रतिबद्धता जनाए ।
चलचित्र वितरक गोपाल कायस्थले यसअघि सेन्सर बोर्डमा हेरिसकेकाले उत्कृष्ट बनेको भन्दै नायिका निताको भूमिका उत्कृष्ट रहेको बताए ।

चलचित्रको बारेमा नायक सरोज खनालले राम्रो चलचित्रमा अभिनय गर्न पाईएको भन्दै अमेरिकाको प्रदर्शनमा उत्कृष्ट तारिफ पाएको जनाए । यो कथाबस्तु निता ढुंगानाकै लागि बनेको भन्दै उनको अभिनयको प्रशंसा गरे । उनले यो फिल्म पञ्चायत शासन व्यवस्थालाई देखाउन खोजेको नभई त्यो बेलाको सामाजिक व्यवस्थालाई देखाउन खोजेको बताए ।

नायिका ढुंगानाले मसानपछिको यती राम्रो तारिफ आएको बताईन् । सात वर्ष अगाडीपनि यस चलचित्रमा अभिनय गर्न अफरको स्मरण गर्दै सातवर्ष पनि पुन त्यही चलचित्रमा अभिनय गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।

उनले आफू २५ वर्षको केटीले १५\१६ वर्षको किशोरीको भूमिकामा न्याय गर्न सक्छु की सक्दिन भन्ने आशंका लागेपनि उत्कृष्ट गर्ने कोशिष भएको बताईन् । अर्की नायिका जाहान्वी वस्नेतले अन्तिम समयमा आएर भएपनि चलचित्रमा खेल्न पाउँदा खुसी प्रतिक्रिया दिईन्।

कार्यक्रममा स्वागत गर्दै निर्माता शुशान्त श्रेष्ठले धेरै दुख गरेर चलचित्र बनाएकाले सबैले मन पराउने आशा व्यक्त गरे । चलचित्र लेखक तथा निर्देशक शिवम अधिकारीले सात वर्ष अगाडि नै चलचित्रको स्क्रिप्ट लेखेपनि मौलिक सिनेमा हेर्ने कल्चर भर्खरै शुरु भएकाले अहिले आएर चलचित्र निर्माण गरेको बताए । उनले चलचित्र चैत २मा रिलिज हुने समेत जानकारी दिए । चलचित्र उत्कृष्ट बनाउने कोशिष आफुले गरेको अधिकारी बताउँछन् ।


शिवम अधिकारीको लेखन तथा निर्देशन रहेको चलचित्र ‘पंचायत’मा सरोज खनाल र निता ढुङ्गाना मुख्य भूमिकामा छन् । गणेश गिरीको प्रस्तुति रहेको पंचायतको निर्माता शुशान्त श्रेष्ठ र शंकर गिरी हुन् । कार्यकारी निर्मातामा चलचित्र पत्रकार रवि अधिकारी छन् ।
चलचित्रमा खनाल, ढुंगानाका अलावा रुपा राना, जाहान्वी बस्नेत, गिता अधिकारी, गणेश गिरी, विशाल पहारी, राजुबाबु श्रेष्ठ लगायतको अभिनय छ ।

प्रतिक्रिया