अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३१ | Colorodo: 18:46

साफा ‘बेष्ट प्रिजेन्टेड अवार्ड’बाट विभिन्न कम्पनीहरू पुरस्कृत

बिआरटीनेपाल २०७४ माघ १७ गते ६:२५ मा प्रकाशित

काठमाडौँ, दक्षिण एसियाली लेखा व्यावसायी महासङ्घले सन् २०१६ मा उत्कृष्ट वार्षिक प्रतिवेदन पेस गर्ने कम्पनीहरूलाई विभिन्न पदकद्धारा सम्मानित गरेको छ । काठमाडौँमा जारी साफा सम्मेलन–२०१८ अन्तर्गत बुधवार महालेखापरिक्षक टंकमणी शर्मा र अर्थसचिव शङ्कर अधिकारीले एक दर्जन विधामा उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गर्ने साफा सदस्य देशका कम्पनीहरूलाई सम्मानित गर्नुभयो ।

साफा बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड –२०१६ विभिन्न १२ वटा क्षेत्रका कम्पनीहरूलाई प्रदान गरिएको छ । जसअन्तर्गत कृषि विधामा गोल्डेन हार्भेस्ट एग्रो लिमिटेड–बङ्गलादेश, सूचना प्रविधिमा माइन्डट्रि लिमिटेड–भारत, डाइभर्सिफाइड होल्डिङ विधामा क्रिसेन्ट स्टिल एण्ड एलाइड प्रोडक्ट लिमिटेड–पाकिस्तान, वित्तीय सेवा विधामा आइडीएलसी फाइनान्स लिमिडेड–बङ्गलादेश, बिमा विधामा प्राइम इन्स्योरेन्स बङ्गलादेश, उत्पादनमूलक विधामा ब्रिटिस अमेरिकन टोबाको कम्पनी लिमिटेड–बङ्गलादेशले पदक जितेको छ ।

यसै गरी गैरसरकारी विधामा सिटिजन्स फाउन्डेसन–पाकिस्तान, निजी क्षेत्रका बैङ्क विधामा बिआएसी बैङ्क लिमिटेड–बङ्गलादेश, सार्वजनिक बैङ्क विधामा जनता बैङ्क–बङ्गलादेश, सार्वजनिक क्षेत्रका संस्था विधामा इन्फास्टक्चर डेभलपमेन्ट कम्पनी लिमिडेड –बङ्गलादेश, सेवा विधामा नुवारा इलिया होटेल–श्रीलंका, इन्टिग्रेटेड रिपोटिङ विधामा आइडिएलसी फाइनान्स लिमिटेड बङ्गलादेशले पदक जितेका छन्

यसै गरी सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्रनेन्स भने इस्लामी बैक बङ्गलादेश लिमिटेडले जितेको छ ।

सबै विधामा फस्र्ट रनर अप तथा सेकेन्ड रनर अप समेत घोषणा गरी पदक प्रदान गरिएको थियो । यसै गरी उत्कृष्ट वार्षिक प्रतिवेदन पेस गर्ने कम्पनीलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो । जसमा नेपालबाट वित्तीय सेवा विधामा कैलाश विकास बैङ्क र निजी बैङ्क विधामा स्ट्यान्डर्ड चार्टर्ड बैङ्क नेपाल र निर्माण क्षेत्रमा बुटवल पावर कम्पनी लिमिटेड सम्मानित भएका छन् ।

साफा दक्षिण एसियाली लेखा व्यवसायी संस्थाहरूको साझा सङ्गठन हो । यसलाई दक्षिण एशियली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) ले अभिन्न अङ्गका रूपमा समेत मान्यता दिइएको छ । हाल साफामा नेपाल लगायत अफगानिस्तान, बङ्गलादेश, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका लेखाव्यवसायी संस्थाहरू सदस्य रहेका छन् जसमा ३ लाख ७५ हजारको हाराहारीमा लेखा व्यवसायीहरूको संलग्नता रहेको छ ।

नेपालको तर्फबाट नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था (आइक्यान)का पूर्व अध्यक्ष सिए. सुबोध कुमार कर्णले सन् २०१८ को लागि साफाको अध्यक्ष पदमा मनोनीत हुनुभएको छ । यसरी नेपालले यस महत्त्वपूर्ण जिम्मेवारी सम्हालेको दोस्रो पटक हो । यस अघि संस्थाका पूर्व अध्यक्ष सिए. कोमल बहादुर चित्रकारले सन् २०१० मा अध्यक्षको जिम्मेवारी सम्हाली सक्नुभएको छ ।

साफा सदस्य संस्थाको रूपमा आइक्यानले सम्मेलन आयोजना गरेको हो ।

बुधवार नै आइक्यानले आफ्नो २१ औँ वार्षिकउत्सव समेत मनाएको छ । वार्षिकउत्सवको अवसरमा उत्कृष्ट विद्यार्थीहरू तथा कर्मचारीहरूलाई पनि पुरस्कृत गरिएको थियो ।

चाटर्ड एकाउन्टेन्ट (सिए) परीक्षामा उत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थीलाई विभिन्न पदकबाट सम्मानित गरिएको छ । यसअन्तर्गत केबी चित्रकार स्वर्ण पदकबाट आकृति आचार्य र विनय खड्का, शिवमान सिंह तथा चन्द्र भण्डारी सिल्भर पदकबाट अनिल फुयाँल र रोहित खड्का, बिके अग्रवाल स्वर्ण पदकबाट सागरमान नकर्मी, नारायण बजाज सिल्भर पदकबाट शिवानी श्रेष्ठ र सुवास ज्ञवाली, सुवास कुमार झुन्झुन्वाला स्वर्ण पदकबाट उज्जल नरेन्द्र वास्तोला र सवु नेपाल, प्रकाश जंङ थापा स्वर्ण पदकबाट निवास भट्टराई र रोहित धिताल, डा. गोविन्द राम अग्रवाल स्वर्ण पदकबाट आकृति आचार्य र विनय खड्का, नरेन्द्र वाशिष्ठ स्वर्ण पदकबाट आकृृति आचार्य र विनय खड्का सम्मानित भए ।

यसै गरी वार्षिकउत्सवकै अवसरमा उत्कृष्ट कर्मचारीका रूपमा संस्थामा कार्यरत समिता डंगोल रु २५ हजार, आमोद खनाल रु २० हजार र अनिमा मर्हजन रु २० हजार रुपैयाँसहित पुरस्किृत हुनुभएको संस्थाले जानकारी दिएको छ ।

वार्षिक उत्सवकै अवसरमा आइक्यानले कनिवाहल सिन्चाहिटी हुँदै चक्रपथ निस्कने सडकलाई आइक्यान मार्ग नामाकारण गरेको छ । बिहीबार भएको उक्त नामाकरण कार्यक्रममा संस्थाका अध्यक्ष, उपाध्यक्ष, पार्षद, पूर्व अध्यक्षहरू, कर्मचारीहरूका साथै ललितपुर महानगरपालिका वडा नं १५ का प्रतिनिधि समेतको उपस्थिति रहेको थियो ।

यसै गरी बिहीबार नै प्रमुख वित्तीय अधिकृतहरूको कार्यशाला समेत सम्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू