अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१५ | Colorodo: 01:30

५ हजार दर्शकका साथमा बुटवलमा ‘प्रोजेक्ट वान’को भब्य कन्सर्ट- माघ २७ गते जावलाखेलमा

बिआरटीनेपाल २०७४ माघ १६ गते १९:४० मा प्रकाशित

‘प्रोजेक्ट वान’ व्याण्डले गत शनिवार बुटवलमा ‘टुबोर्ग फेरि उठ्नेछ नेपाल ३’ नामक भव्य कन्सर्ट गरेको छ । चिसो मौसमको वेवास्ता गर्दै बुटवलस्थित बुटवल मण्डपमा झण्डै पाँच हजार बढी दर्शकले व्याण्डमा रहेका गायक गायिकाको गीतबाट मनोरञ्जन लिए ।

स्थानीय यस नेपाल इभेन्ट मेनेजमेन्टको व्यवस्थापनमा ब्याण्डवागन बाइ पोजिटिभ भाइब्सले आयोजना गरेको कन्सर्टको शुभारम्भमा गायक रविन तामाङ आफ्नो व्याण्ड ‘रबिन एण्ड दी न्यू रिभोल्युसन’ लिएर उपस्थित भए । उनले आफ्नो व्याण्डको हिट नम्बर ‘नेपाल’, ‘भूलमा भुलियो’ र ‘केटा केटी’लगायतका गीतले मनोरञ्जन दिए ।

रविनको प्रस्तुति पछि स्टेजमा आएका ‘प्रोजेक्ट वान’ व्याण्डका अर्का गायन सदस्य तथा अनुप्रस्था व्याण्डका गायक निरन शाही ‘ह्वाट टु डु काठमाडू ?’गीत लिएर आए । उनलाई यो गीतमा दी स्याडोज नेपालका स्वप्निल शर्मा, मुक्ति एण्ड रिभाइभलका मुक्ति शाक्य र रविन एण्ड दी न्यू रिभोल्युसनका रविन तामाङले साथ दिएका थिए । व्याण्डमा मुक्ति एण्ड रिभाइभल, रविन एण्ड द न्यू रिभ्योलुसन, अभया एण्ड द स्टिम इन्जन्स, द स्याडोज नेपाल र अनुप्रास्ताजस्ता चर्चित व्याण्ड आबद्ध छन् ।

कन्सर्टमा अनुप्रस्थाले ‘दिन’ र ‘ह्वाट टु डु काठमाण्डू ?’, दी स्याडोज नेपालले ‘प्रकृति’ र ‘हिँड्ने मान्छे लड्छ’, अभया एण्ड दी स्टिम इन्जिन्सले ‘तिम्रो लागि’ र ‘सक्दिन’, मुक्ति एण्ड रिभाइभलले ‘चौबन्दी चोलो’ र ‘कान्छी नानी ब्लुज’ तथा प्रोजेक्ट वानले ‘जीत’, ‘बर्न’, ‘हामी एक हौं’, ‘नेपाल’ र ‘फेरी उठ्नेछ नेपाल’ गीत प्रस्तुत गरेको थियो ।

आफ्ना गीतमा दर्शक मैदानमा नाँचिरहँदा व्याण्डका गायकहरु स्टेजमा बाद्यवादकका साथ उस्तै गरी रमाइरहेका थिए । अत्याधुनिक प्रकाशको व्यवस्था गरिएको झकिझकाउ स्टेजको सजावटले दर्शकलाई मोहित बनाएको थियो ।

यो व्याण्डको गायन समूहमा मुक्ति एण्ड रिभाइभलका मुक्ति शाक्य, रविन एण्ड द न्यू रिभोल्युसनको रविन तामाङ, अभया एण्ड दि स्टिम इन्जन्सकी अभया सुब्बा, द स्याडोज नेपालका स्वप्नील शर्मा र अनप्रास्ताका निरन शाही छन् ।

व्याण्डमा वाद्यवादनतर्फ गितारमा नेपथ्यका पूर्व लिड गिटारिष्ट तथा हरि महर्जन प्रोजेक्टका हरि महर्जन, दि एक्स व्याण्डका पूर्व लिड गितारिष्ट तथा टम्बलविड र श्री ३ का शरद श्रेष्ठ, अभया एण्ड द स्टिम इन्जन्सका राजीव रिन्छेन पाल्जोर, बशिष्टमा मुक्ति एण्ड रिभाइभलका रोशन कंसाकार र म्युजिक स्कोरर सुरज विष्ट, सारंगीमा केयूका प्रोफेसर भरत नेपाली, ड्रम्समा नेपथ्यका पूर्व ड्रमर तथा कान्ता डब डबका निखिल तुलाधर छन् ।

व्याण्डवागन बाइ पोजिटिभ भाइब्सका प्रस्तुतकर्ता विकेश कायस्थले बुटवलको सांगीतिक इतिहासमा अहिलेसम्मकै ठूलो कन्सर्ट गरिएको दाबी गरे । ‘बुटवलपछि अब हामी ललितपुरको जावलाखेलमा कार्यक्रम गर्नेछौं । नेपालमा एकताको आवश्यकताको सन्देश बाड्न व्याण्डको टोली काठमाडौं र देशका विभिन्न कलेजमा पुग्ने योजना पनि छ ।’ उनले भने । व्याण्डले आगामी माघ २७ गते ललितपुरको जावलाखेलमा यस्तै कन्सर्ट गर्दैछ ।

प्रतिक्रिया