अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१५ | Colorodo: 22:30

नयाँ प्रविधिको ब्रान्डिङ गर्ने थलो बन्यो इन्फोटेक

आजसम्म २,१९,५९१ जनाले मेलाको अवलोकन

बिआरटीनेपाल २०७४ माघ १४ गते ९:२५ मा प्रकाशित

काठमाडौँको भृकुटीमण्डपमा जारी ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएशन विथ मोटोरोलाको’ को आज चौथो दिन ६०,२६२ जनाले अवलोकन गरेका छन् । आजसम्म २,१९,५९१ जनाले मेलाको अवलोकन गरिसकेका छन् ।

प्रदर्शनीमा सहभागी बालकदेखि वृद्धसम्मको भिडले नेपालमा सूचना प्रविधिप्रति आमसर्वसाधारणको चासो झनै बढेको आभास गरेका छौँ । विगतका संस्करणहरूमा युवाहरूको प्रभुत्व रहने क्यान इन्फोटेकमा यो वर्ष वयस्कहरूको पनि बाहुल्यता रहेको पाइयो । विभिन्न विशिष्ट व्यक्तिहरूले समेत मेलाको अवलोकन गर्नुभएको छ ।

आज माननीय आपूर्ति मन्त्री जयन्त चन्द, सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मी यादव, नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक मिङमर लामा, प्रहरी वरिष्ठ उपरीक्षक पुर्णचन्द्र जोशी, कलाकारद्धय पल शाह र आँचल शर्मालगायतका विशिष्ट अतिथिले इन्फोटेक अवलोकन गर्नुभयो । अवलोकनकर्ताको उत्साहप्रद सहभागिता, उहाँहरूको प्रतिक्रिया र विशिष्ट व्यक्तित्वहरूको अमूल्य सल्लाह, सुझावले हामीलाई आगामी दिनहरूमा अझ प्रभावकारी ढङ्गले कार्यक्रमहरू सञ्चालन गर्ने हौसला र उत्प्रेरणा मिलेको छ ।

आज इन्फोटेकमा बिजनेश डेको अवसरमा बिजनेश हाउसेसहरुले आफ्नो व्यापार प्रवद्र्धनकोे लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्षरुपमा बिजनेश डिल गरेका छन् । यसअन्तर्गत नेपालस्थित अधिकृत विक्रेताहरुले आफूसँग व्यापारिक सहकार्य गर्न चाहने कम्पनी वा समूहसँग व्यापारिक साझेदार गरेका छन् । बिजेश डेले स्थानीयस्तरमा प्रविधिको बजार अझै विस्तार हुने अपेक्षा हामीले गरेका छौँ ।

इन्फोटेकमा सहभागी कम्पनी तथा डिष्ट्रिब्युसनहरुमध्ये केहीले आज पनि नयाँ उत्पादनहरू विशेष स्किमसहित सार्वजनिक गरेका छन् भने कतिपयले हिजोभन्दा आकर्षक अफरहरु सार्वजनिक गरेका छन् । व्यवसायीहरूले ल्याएको नगद छुट, निःशुल्क जडान, फ्रि सर्भिस, उपहारलगायतका अफरहरुले अवलोकनकर्ताहरुलाई थप सुविधा मिलेको  छ ।

विशेष गरी इन्टरनेट सेवाप्रदायक कम्पनी, स्मार्टफोन र ट्याब्लेट, ल्यापटप÷कम्प्युटर एवं कम्प्युटर एसेसोरिज, डिजिटल टिभी, सफ्टवेयर, मोबाइल वालेट, एन्टिभाइरस, फोटोकपी, प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेसिन, राउटर, सिसिटिभी, आइटी कलेज र ट्रेनिङ इन्स्टिच्युटहरुले आफ्ना वस्तु र सेवाको ब्रान्डिङ गर्नुका साथै आकर्षक क्यान अफर समेत राखेका छन् ।

शीर्ष प्रायोजक सुबिसु केबलनेटले आफ्नो ब्रान्ड प्रवर्द्धन गर्न दुई महिनासम्म क्लियर टिभी प्रिमियम प्याकेजसहित १५ र ८ एमबिपीएस अनलिमिटेड इन्टरनेट सेवा प्रदान गरेको छ । इन्फोटेकको सहशीर्ष प्रायोजक कम्पनी मोटोरोलाले आफ्नो मिड रेन्ज स्मार्टफोन ई ४ प्लसको विशेष प्रदर्शनी गरिरहेको छ । प्लाटिनम स्पोन्सर वल्र्डलिंकले ल्याएको नयाँ प्रविधि स्मार्टहबमा अवलोकनकर्ताको निकै आकर्षण रहेको पाइयो । यो प्रविधिमार्फत् मोबाइल एपबाट घरको ढोका लक गर्न, लाइट अफ गर्न, त्यहाँको गतिविधि निगरानी आदि कार्य गर्न सकिन्छ । मेलाकै अवसर पारी नेपालमा सार्वजनिक गरिएको नयाँ प्रविधिअन्तर्गत पाइन ओभरसिजले ‘स्मार्ट हेल्थ एनालाइजर’ ल्याएको छ, यसले क्वान्टम सेन्सरको माध्यमबाट ब्लड र युरिन टेस्टबिनै फुल बडी चेकअप गर्न सक्छ । यसबाट ३९ ओटा शरीरका रोग वा स्वास्थ्य स्थिति पत्ता लगाउन सकिने जानकारी कम्पनीले दिएको छ ।

मेलाकै अवसर पारेर हाइ पावरका नेटिस राउटरको खरिदमा आकर्षक छुटका अतिरिक्त बुलगार्ड इन्टरनेट सेक्युरिटी निःशुल्क प्रदान गरिरहेको छ । साथै हाइसेन्सका ६५ इन्चसम्मका टिभीहरूमा २० प्रतिशत छुटसहित नेपाली ग्राहकका प्रदर्शनी गरिएको छ । हुवावेको नोभा २ मोडलको स्मार्टफोनले प्रयोगकर्ताको मन लोभ्याएको छ । साओमी नेपालले एमआई ब्रान्डका नयाँ स्मार्टफोनका अतिरिक्त इको प्रोडक्टहरुको बजार प्रवर्द्धन क्यान इन्फोटेकमार्फत् गरिरहेको छ ।

लिभ स्मार्ट नामक कम्पनीले ल्याएको वायरलेस डिस्ट्रिब्युसन कन्ट्रोल बक्समा अवलोकनकर्ताको आकर्षण निकै देखिएको छ । यो सिस्टमबाट मोबाइल एपमार्फत् घरको एमसी, एलइडी÷ट्युबलाइट, फ्रिज, सिएफएल लगायत विद्युतीय सामाग्रीहरू खोल्न बन्द गर्न एवं निगरानी गर्न सकिन्छ । मेलामा नेपालमै बनेका सफ्टवेयरहरूको विशेष प्रदर्शनी गरिएको छ । साथै स्टार्टअप र विद्यार्थीले बनाएका विभिन्न आइटी र इन्जिनियरिङ प्रोडक्टहरुले पनि अवलोकनकर्ताको ध्यान तानेको छ । यस पटक नयाँ प्रविधिहरूलाई प्रदर्शन गर्न हार्डवेयरका अतिरिक्त सञ्चार, सफ्टवेयर, आइटी स्टार्टअप र विश्वविद्यालय र कलेजका स्टलहरुलाई पनि समावेश गरिएको छ ।

मेलामा नागमणी, म्याक्स इन्टरनेश्नल, नारायणी मेगाटेक लगायतका कम्पनीहरूले ल्याएका ल्यापटपलगायतका प्रविधिहरूको व्यावसायिक प्रवर्द्धन गरिरहेको छ । मेलामा मेरो टिभीले लाइकमा बाइक अफर ल्याएको छ, जसअन्तर्गत मेरो टिभी मोबाइल एप डाउनलोड गरेका प्रयोगकर्तामध्ये एकले होन्डा बाइक जित्न सक्नेछन् । एन्टिभाइरसअन्तर्गत ई सेट एन्टिभाइरसमा प्रयोगकर्ताले २० देखि ५० प्रतिशत सम्मको छुट तथा मास्क,कप र १६ जीवि सम्मको युएसबि ड्राइभ समेत प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै कास्परस्काई एन्टिभाइरसको खरिदमा ३० देखि ४० प्रतिशतसम्मको छुटका साथमा एक हजार रुपियाँ पर्ने ल्यापटप ब्याग निःशुल्क दिइएको छ । त्यस्तै ई स्क्यान एन्टिभाइरस र इन्टरनेट सेक्युरिटीको खरिदमा ६ देखि १५ सय रुपियाँसम्म छुट एवं ६ महिनाको मोबाइल सेक्युरिटी निःशुल्क दिइएको छ । त्यस्तै डिटिसी मोबाइल खरिदमा २५ सय एमएएचको पावरबैंक निःशुल्क दिइएको छ ।

प्रदर्शनीमा फोटोकपी, प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेसिन, राउटर, सिसिटिभी, जेनेरेटर, ब्याट्री, सोलार, युपीएस, ल्यापटपहरू तथा एन्ड्रोइड स्मार्ट टिभीहरू, स्मार्टफोन÷ट्याब्लेट, एन्टीभाइरस र इन्टरनेट सेक्युरिटी, हेडफोन, पावर बैङ्क, मेमोरी कार्ड, पेनड्राइभ लगायतका स्टलहरुले आफ्ना प्रडक्टको प्रवर्द्धनमा आकर्षक अफर ल्याएका छन् ।

प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स्लगायत गरी २२२ स्टल रहेका छन् । इन्फोटेक माघ १६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू