अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३३ | Colorodo: 06:48

दक्षिण एसियाली लेखा व्यवसायीहरूको सम्मेलन काठमाडौँमा हुने

बिआरटीनेपाल २०७४ माघ १४ गते ९:१८ मा प्रकाशित

काठमाडौँ, नेपाल चार्टर एकाउन्टेन संस्था (आइक्यान) ले दक्षिण एसियाली लेखा व्यवसायीहरूको महासङ्घ (साफा) सम्मेलन आगामी माग १६ गतेदेखि काठमाडौँमा गर्ने भएको छ। सार्क देशहरूमा प्रत्येक वर्ष गरिने यो सम्मेलन यो वर्ष नेपालमा गर्न थालेको हो।

‘साफाको चेयर जुन राष्ट्रको हुन्छ, त्यही राष्ट्रले वार्षिक बैठक बोलाउने हो, सोही अनुसार यो वर्ष हामीले सम्मेलन गर्न थालेका हौँ’ आइतबार आयोजित पत्रकार सम्मेलनमा आइक्यानका अध्यक्ष प्रकाशजंग थापाले भने। यसअघि गत अगस्ट महिनामा समेत साफाको बैठक नेपालले बोलाएको थियो। ‘त्यो समयमा साफाको चेयर अफगानसँग थियो, अफगानले अनइच्छा देखाएको कारण हामीले बैठक मात्र गर्‍यौ, अहिले सम्मेलननै गर्दैछौँ’ आइक्यानका उपाध्‍यक्ष जगनाथ उपाध्‍यायले भने । सन् २०१८ को लागि साफा अध्यक्ष नेपालसँग छ। आइक्यानको सिफारिसमा नेपालको तर्फबाट साफाको अध्यक्ष पूर्व अध्यक्ष सुवोधकुमार कर्ण रहेका छन्।

के हुन्छ साफा सम्मेलनमा ?
सार्क राष्ट्रका चार्टर अकाउन्टेन्टहरूको संस्थाले पालै पालो गरिने साफा सम्मेलनको आयोजना गर्ने गर्छ।

वार्षिक बैठकको अवसरमा आयोजना गरिने सम्मेलनमा सार्क क्षेत्रका लेखा, सुशासन तथा चार्टर्ड एकाउन्टेन्सी शिक्षासम्बन्धी मापदण्ड तथा सार्क राष्ट्रहरूमा सहकार्य कसरी गर्ने भन्ने विषयमा छलफल र निर्णयहरू गरिने जनाइएको छ।

साफाका विभिन्न समितिहरू मध्ये कम्तीमा ७ वटा समितिहरूको बैठक बस्ने, सातै देशको प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ।

सम्मेलनको पहिलो दिन (साफा क्वीज एण्ड एलोक्युसन कन्टेस्ट) आयोजना गरिने बताइएको छ। यो प्रतियोगितामा सदस्य राष्ट्रका व्यावसायिक व्यावसायिक लेखा सम्बद्ध निकाय तथा संस्थाका फाइनल तहमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहने छ।

वित्तीय प्रतिवेदनमानहरूमा विद्यार्थीहरूको अभिरुचि अभिवृद्धि यो कार्यक्रको आयोजना गरिएको अध्यक्ष थापाले बताए। यस्तो कार्यक्रम नेपालले पहिलो पटक तथा सार्क क्षेत्रमा दोस्रो पटक आयोजना गर्न थालिएको आयोजकले जनाएको छ।

दोस्रो दिन ‘साफा इन्टरनेशनल सिएफओ कन्फेरेन्स’ राखिएको छ। यस अन्तर्गत माग १७ गते सहभागीहरूबिच वित्तीय जोखिम व्यवस्थापन, पारदर्शीताका विषयमा छलफल गरिने कार्यक्रम रहेको छ। कार्यक्रमको उद्‍घाटन उपराष्ट्रपति नन्दबहादुर पुन गर्ने आयोजकले जनाएको छ। यो कार्यक्रम, निर्देशक, प्रमुख कार्यकारी अधिकृत, वित्त अधिकृत, प्रबन्धक, लेखा व्यावसायी, परामर्शदाता, संस्थाका सदस्य तथा विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको जनाएको छ। यो सम्मेलनमा साफा सदस्य राष्ट्रका १५ जना ख्यातीप्राप्त लेखा व्यावसायी तथा विशिष्ट व्यक्तित्वहरूबाट प्राविधिक पत्रहरू प्रस्तुत गरिने जनाइएको छ।

सम्मेलनमा चार सय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायीको सहभागिता रहने आइक्यानले जनाएको छ। यसै दिन ‘साफा वेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्डस्’ प्रदान गर्ने कार्यक्रम पनि आयोजक आइक्यानले जनाएको छ। यस्तो पुरस्कारले सार्क क्षेत्रका व्यावसायिक निकायहरूको वित्तीय विवरण तथा वार्षिक प्रतिवेदनको गुणस्तर तथा प्रस्तुति अभिवृद्धिमा प्रोत्साहन गर्न दिन थालिएको आइक्यानका अध्यक्ष थापाले बताउनु भयो।

दोस्रो दिननै आइक्यानले आफ्नो स्थापनाको एक्काइसौं वार्षिकोत्सवको कार्यक्रम राखेको छ। वार्षिक उत्सवको अवसरमा संस्थाको सातदोबाटो, ललितपुर स्थित केन्द्रीय कार्यालय अगाडी रहेको कनिबहाल सिंचाहिटी देखि चक्रपथ सम्मको बाटोको नामाकरण आइक्यान मार्ग गर्ने जनाएको छ।

तेस्रो दिन साफाको ५१ औँ बोर्ड बैठक तथा ८६ औँ साफा महासभा बैठक आयोजना गरेको छ। बोर्ड बैठकमा विभिन्न समितिहरूको गठन तथा पुनर्गठनको लागि महासभामा सिफारिस गर्ने, साफा प्रतिवेदन स्वीकृत गर्ने जस्ताका कार्यक्रम राखेको छ।

साफामा नेपाल सहित सार्क राष्ट्रका ३ लाख ७५ हजार लेखा व्यवसायीहरू रहेका छन्। सन् १९८४ मा स्थापना भएको साफामा प्रत्येक वर्ष अध्यक्ष परिवर्तन गर्ने प्रावधान रहेको छ। नेपालले सन् २०१० मा सोफाको अध्यक्षता गरेको थियो भने अहिले २०१८ को साफा अध्यक्ष पनि नेपाल रहेको छ।

प्रतिक्रिया