अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०७ | Colorodo: 00:22

बढी भाडा असुल्ने सवारी चालकलाई कारबाही

बिआरटीनेपाल २०७४ माघ २ गते २:४० मा प्रकाशित

साँखु शालीनदी मेला भर्न जाने यात्रुबाट साँखु बस व्यवसायी संघ अन्तर्गत चल्ने बसका सहचालकले यातायात व्यवस्था विभागले तोकेभन्दा बढी भाडा लिने गरेका छन् । 

पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म माधवनारायणको मेला लाग्ने शालीनदीमा लाखौँ भक्तजन पुग्ने गर्छन् । मेला भर्न गएका ज्येष्ठ नागरिक, अपाङ्ग र विद्यार्थीलाई यहाँ चल्ने सवारी साधनमा यात्रा गर्दा सहुलियत नदिएको तीर्थयात्री सम्झना श्रेष्ठले बताउनुभयो ।

चाबहिलदेखि शालीनदीसम्मको भाडा प्रतिव्यक्ति रु २७ तोकिएको छ । तर सहचालकले यात्रुबाट रु ३५ उठाउने गरेका छन् । शालीनदीबाट रत्नपार्कसम्मको भाडा रु ३५ रहेकामा रु ४५ भन्दा बढी लिने गरेको यात्रु रमिला कायस्थले बताउनुभयो ।

यातायात क्षेत्रको विकृतिविरुद्ध अभियानमा लाग्नुभएका भक्तपुरका रामबहादुर थापा विभागले अनुगमन नगरेकै कारण सवारी साधनका सहचालकले काठमाडौँमै मनलागी भाडा असुल्ने बताउनुहुन्छ ।

“सम्बन्धित निकायले जानकारी दिने ‘होर्डिङ बोर्ड’ समेत राखेका छैनन्, यातायात व्यवसायीले सवारी तथा यातायात व्यवस्था ऐन र नियमावलीमा भएको प्रावधानअनुसार दूरी एवं आवतजावत गर्ने स्थल उल्लेख भएको टिकट दिँदैनन्, त्यसैले सहचालकले बढीभन्दा बढी भाडा असुल्ने गरेका छन्”, उहाँले भन्नुभयो ।

रत्नपार्क, चाबहिल, साँखु, सातदोबाटोमा कार्यसमितिका एक÷एकजना प्रतिनिधि खटाएर बढी भाडा असुल्नेलाई कारबाही गर्दैआएको संघले जनाएको छ । संघका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठ चाबहिलदेखि शालीनदीसम्मको भाडा रु १०० देखि रु १५० सम्म लिने दुईवटा सवारी साधनका चालकलाई कारबाही गर्न ट्राफिक प्रहरीलाई बुझाएको बताउनुहुन्छ ।

शालीनदीमा एक महिना मेला लाग्ने भए पनि शनिबार र सार्वजनिक बिदाका दिन बढी भीड हुने गर्छ । पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म शालीनदीमा स्नान गरी माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने जनविश्वास छ । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू