अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२२ | Colorodo: 09:37

नेपालीहरूको टि पी एस नबिकरणको लागि अन्त सम्म लडिरहने छु – जोसेफ क्राउली, अमेरिकी सांसद

किरण मरहठ्ठा २०७४ पुष २७ गते १०:०९ मा प्रकाशित

जोसेफ क्राउली अमेरिकी सांसद हुन् । न्यूयोर्कको १४ क्षेत्र नम्बर १४ लाई प्रतिनिधित्व गर्ने क्राउली अमेरिकी संसद्मा डेमोक्रेटिक ककसका अध्यक्ष पनि हुन् । अन्तर्राष्ट्रिय मामिलामा दख्खल राख्ने सांसद क्राउलीसंग पत्रकार किरण मरहठ्ठाले, राष्ट्रपति ट्रम्पको शासन, नेपाललाई दिइएको टिपिएस सुविधा र नेपाल अमेरिका सम्बन्धबारे रोचक कुराकानी गरेका छन्, प्रस्तुत छ सो अन्तर्वाताको सम्पादित अंश ।

ह्वाइट हाउसमा ट्रम्पको अगमन भएपछि तपाइहरु त पुर्णतया रक्षात्मक अवस्थामा पुग्नु भयो नि ?
मलाइ लाग्छ तपाइको कुरा सत्य हो । हामी राष्टपतिय निर्वाचनमा पराजित भयौँ र सदनमा पनि अल्पमतमा छौँ । त्यसैले रिपब्लिकनहरुले कार्यकारी र व्यवस्थापिका दबैमा पूर्ण कब्जा जमाएको स्थिति छ । त्यसैले हाम्रो असहमतिको बाबजुद पनि आप्रवासन, कर र ओवामा केयरको बारेमा व्ह्वाइट हाउसबाट ज्यादै अनुपयुक्त कदमहरू धेरै चालिएका छन् । ओबामा प्रशासनको महत्त्वपूर्ण उपलब्धिहरुलाइ निमिट्यान्न पार्ने प्रयासहरू भैरहेका छन् ।त्यसले यहाँको आप्रबासी र मध्यम तथा निम्न आय भएका मानिसहरूलाई ठुलो असर पार्नेछ ।

ट्रम्प प्रशासनको आरम्भका दिनहरूमा तपाइहरु निकै आक्रमक देखिनु हुन्थ्यो, तर आजकल जनताले तपाईँहरूको आवाज मलिनो भएको टिप्पणी गर्दछन्, रसियाको संलग्नता माथि आशङ्का लगायतका विषयहरू आजपनि उत्तिकै पेचिला छन् ,गतबर्षदेखि नै उठिरहेका यी विषयहरूको अन्य कसरी होला ?
हामीले आफ्नो अवाज बुलन्द नै पारिरहेका छौँ । हेर्नुस्, राष्टिपति ज्यादै अभद्र देखिए र उनी ट्विीटरमार्फत विभिन्न हंगामा मच्चाइ रहन्छन् । उनी अलिक गैर जिम्मेवार ढङ्गले शासन सञ्चालन गरिरहेका छन् । रसियाको मामिलामा एफबिआइका निर्देशक कौमेलाइ पदच्युत गरेर राष्टपतिले थप शङ्का गर्ने ठाउँ दिएका छन् । यो अनुसन्धान जारी छ । हामी प्रमाणहरू पर्खिरहेका छौँ । यो विषयको अन्त्य कसरी होला म भन्न सक्दिन तर यसले देशलाई भने बर्बाद पारिरहेको छ । विषय कहिले काहिँ भन्ने गरेजस्तो महाअभियोगसम्मै त नजाला तर म के कुरा चाहिँ भन्न चाहन्छु भने यी राष्टपति अमेरिकालाई शासन गर्न योग्य भने होइनन् ।

हालै सदनले पारित गरेको करनीतिलाइ तपाइहरुले त्यत्रो विरोध किन गर्नुपरेको ?
मलाइ लाग्छ हाम्रो विरोध जायज थियो । यो करनीति जनमैत्रि छैन । यसले ८२ मिलियन मध्यम आय भएका परिवारहरुलाइ ठुलो मार पार्नेछ । ७० प्रतिशत निम्न आय भएकाहरुलाइ करबृदिको मारमा पार्नेछ । रिपब्लिकनहरुले यो करनीति गरिब तथा निम्नआय भएका अमेरिकनहरुलाइ सङ्कटमै पार्दै धनी तथा व्यावसायिक घरानाहरु पोस्ने उदेश्यले ल्याइएको छ । यसको परिणामहरू धेरै भयावह हुनेछन् ।

अमेरिका अहिले बाह्य भन्दा आन्तरिक मामिलामै बढी व्यस्त देखिन्छ र राष्ट्रपतिले पनि यसैलाई प्राथमिकता दिएका छन्, यसको मतलब अमेरिकाले विश्व महाशक्तिको रूपमा आफ्नो भूमिका र दायित्वहरू कटौति गर्ने खोजिरहेको हो ?
यदि वर्तमान राष्ट्रपतिले त्यो चाहेका हुन् भने अमेरिकाको लागी त्यो दुखद हुनेछ । इतिहासमा हामीले अमेरिका र एलाइ पावरको संलग्नतामा दोस्रो विश्वयुद्धताका युरोप र एसियाका कयौँ मुद्धाहरुलाइ समाधान गरेका छौँ त्यसैकारण आजको विश्व शक्ति सन्तुलनलाई जन्म दिन हामी सफल भएका हौँ । तर ट्रम्पले यी कुराहरू विर्सीएर अन्तरिक मामिला मात्र ध्यान दिएका छन् । यसले हाम्रो भलो गर्दैन । यहाँ एक थरी मानिसहरू अमेरिकाले संसारमा के भइरहेको भनेर चासो लिएर के पायो भन्ने तर्क गर्छन्, राष्ट्रपति तिनै मानिसको मनोविज्ञानमाथि खेलीरहेका छन् ।
गत चुनावमा तपाइहरुले सहरी क्षेत्रमा जित्नुभयो तर ग्रामीण इलाकाहरूमा तपाईँहरूको प्रभाव ज्यादै निराशाजनक देखियो , के आगामी वर्षको संसदीय चुनावमा डेमोक्र्याटको बहुमत आउला त ?
यो ज्यादै रोचक कुरा गर्नुभयो, मलाइ लाग्छ हामी बहुमत ल्याउने छौँ । राष्ट्रपति ट्रम्पले चुनावताक गरेका बाचाहरू धेरै पुरा गर्न सकेन, त्यो हाम्रो लागी ठुलो अवसर हो । हामीले रोजगारी सिर्जना र गुणस्तरिय जीवनको बारेमा हाम्रो पटिले विगत देखि दिँदै आएका योगदानहरूको बारेमा थप प्रकाश पार्नेछौँ । हामीले राष्टपति विल क्लिन्टनले व्ह्वाइट हाउस छोड्दा देशको ढुकुटी कति धेरै नाफामा थियो भन्ने बारेमा फेरि सम्झाउने छौँ । बुसको पालामा तहसनहस भएको अर्थतन्त्रलाई कसरी ओबामाले ज्यान दिए र बेरोजगारि घटाए भन्ने कुरा बुझाउने छौँ । यी सबै सकारात्मक तथ्यहरूको बिचमा हामीले रिपब्लिकनले बाचा गरे अनुरूप काम गर्ननसकेको तथ्यलाई पनि छुटाउन हुँदैन उनीहरू वर्तमान सरकारसँग खुसी छैनन् , तसर्थ जनताले यस पटक हामीलाई विश्वास गर्नेछन् ।

मलाइ विषयान्तरको अनुमति दिनुहोस, तपाइको पार्टी सधैँ आप्रवासीमैत्री पार्टी भनेर दाबी गर्नुहुन्छ, तर तपाइहरु सरकारमा हुँदा पनि आप्रवासननीतिमा व्यापक सुधार त केही गर्नुभएकन, यो भोटका लागी गरिएका बाचाहरू हुन भन्दा के फरक पर्ला त ?
त्यो दाबी होइन बरु सत्य हो । हामी आप्रवासन मैत्री पार्टी हौँ । म स्वयम् पनि आप्रवासि हुँ । हाम्रो पर्टिमा आप्रवासिको पहिलो या दोस्रो पुस्ताका नेताहरूको बाहुल्यता छ । हामी विविध भाषा, संस्कृतिको मूल्य र मान्यताहरुलाइ महसुस गर्ने सक्छौँ । हामी त्यही आवाज बोलिरहेका छौँ । आप्रवासीहरुले यो देशलाई उत्कृष्ट बनाउन धेरै योगदान दिएका छन् । उनीहरूले समान अवसर उपभोग गरिरहेका छन् । वर्तमान राष्टपतिले केही आप्रबासननीति परिमार्जन गर्न खोजिरहेका छन् तर उनले ओबामाको कार्यकाल सम्झनु पर्छ । रोनाल्ड रेगनको पालामा रिपब्लिकन र डेमोक्रायाट पार्टीको सहमतिमा नयाँ करनीति र आप्रवासन सुधारनीति पारित गरियो । त्यसपछि जब बारका ओबामाले बृहद सुधारको प्रयास गरे उनलाई सदनबाट सहयोग भएन । स्मरण रहोस् आप्रवासन सुधार र नयाँकरनीति ओबामाको दोस्रो कार्यकालका एजेन्डाहरू थिए तर त्यहाँ उनलाई काम गर्नै दिइएन । हामीले त्यो अवसर चाहिँ गुमाएका हौँ । तर पनि ओबामाले डाका, डापा, टिपिएस जस्ता कार्यक्रम मार्फत लाखौँ आप्रवासीको समस्या समाधान गरेका थिए । तर अहिलेको राष्ट्रपतिले के गरे ? उनी हात धोएर आप्रवासीको पछि लागिरहेका छन् ।

म अव तपाइको ध्यान टिपिएसतर्फ मोड्न चाहन्छु, जुन नेपालीको लागी सबैभन्दा सरोकारको विषय हो । आगामी जुनमा नेपाललाई दिइएको टिपिएस सुविधा समाप्त हुन्छ, के यो नविकरण होला ?
यो ज्यादै महत्वको कुरा गर्नुभयो, यो एक पटक फेरि आप्रवासीको बारेमा एैक्यवद्धता जनाउने विषय हो जुन हामीले विगतमा गरेका थियो । विशेष गरी राजनीतिक र प्राकृतिक विपत्तिको शिकारमा परेकाहरुलाइ यो अझ जरुरी छ । अहिले प्रशासनले अवस्था जटिल बनाइरहेको छ । हेनुर्स, निकारागुवा र हैटीको टिपिएस सुविधा निलम्बन गरिएको छ । तर मलाइ शङ्का छ र म निश्चयपुर्वक यो भन्न सक्दिन की नेपालको टिपिएसको भविष्य के हुनेछ । तर फेरि पनि यो कस्तो सरकार छ, राष्टपति र उनको पार्टी आप्रवासीको समस्याप्रति कत्तिको गम्भीर छ भन्ने कुरामा भरपर्दछ । मलाइ लाग्छ, डापा, डाका र नेपालको महाभूकम्प पश्चात् राष्टपति ओबामाले टिपिएस सुविधा दिएर गरेका मानवीय कार्यको विरुद्धमा कोही पनि जानु राम्रो होइन तर डापा र डाकालाइ खारेजीमा लगियो ।

तपाइ एक विधायकको हैसियतले नेपाली समुदायलाई केही विश्वास दिलाउन सक्नुहुन्छ ?
म विगतमा पनि टिपिएस सुविधाको लबी गर्ने मध्यमा पर्दछु । विगतमा मैले जे गरे नविकरणको लागी पनि त्यही स्तरमा लाग्ने प्रतिबद्धता जनाउने छु । मैले २०१५ मा पनि नेपाललाई टिपिएस सुविधा दिनुपर्छ भनेर ६५ जना संसद्को समूह बनाएर पहल गरेका हुँ । तर फेरि पनि यो राष्टपतिको विवेकमा भरपर्ने कुरा हो । हामी सदनमा पनि निर्णायक अवस्थामा छैनौँ ।

अब म तपाइको ध्यान नेपालतर्फ मोड्न चाहन्छु जसले लामो राजनीतिक संक्रमणकाल भोगेर हालै चुनाव सम्पन्न गरेको छ , नेपाल अमेरिका सम्बन्धको हामीले ७१औँ बर्षगाँठ मनाइरहेका छौँ तर अझ पनि नेपाल अमेरिकाको प्राथमिकताको सूचीमा किन पर्न सकेन ?
मलाइ लाग्छ कि आजको विश्व रंगमंचमा नेपालले आफ्नो महत्त्व उचोँ बनाइरहेको छ । नेपालले पनि भारतले जस्तै परिपक्व लोकतन्त्रको अभ्यासमा लागिरहेका छ । त्यसभेगका अन्य मुलुकहरू जस्तै म्यानमार, बङ्गलादेश, पाकिस्तान र अफगान्स्तिानले पनि लोकतन्त्रको अभ्यास गरुन् भन्ने कामना गरौँ । नेपालले भारत चिन रसिया जस्ता मुलुकसँग सौहाद्र सम्बन्ध राख्न सफल छ । हामी नेपालको लोकतान्त्रिक अभ्यासको सम्मान गर्दछौँ । अमेरिकाले नेपाललाई महत्त्व नदिएको जस्तो मलाइ लाग्दैन । नेपाल भविष्यमा पनि हाम्रो असल मित्रशक्तिको रूपमा रहिरहने छ ।

तपाइहरु चिन, भारत जस्ता विश्व महाशक्ति बन्दैगरेका मुलुकहरुसंग बढी इगेंज भएर नेपाललाई कम महत्त्व दिनुभएको हो कि ?
कहिले काहिँ हामी आफ्नो अन्तर्राष्ट्रिय क्षमताका कारण मारमा चाहिँ पर्नेरहेछौँ जस्तो कि आयरल्याण्डले पनि ब्रिटेन र अमेरिकाको सम्बन्धमा उस्तै मार खेपिरहेको छ ।

नेपालमा एक ज्यादै दुखद भनाइ के छ भने अमेरिका सधैँ भारितय आँखाले नेपाललाई हेर्ने गर्र्छ, तपाइहरु किन त्यसो गर्नुहुन्छ ?
निश्चयनै हाम्रो भारत, पाकिस्तान, नेपालसँग सम्बन्ध छ । हामी त्यस क्षेत्रमा क्षेत्रीय मेलमिलाप र सद्भाव विकसित होस् भन्ने चाहन्छौँ । यो कुनै सजिलो काम होइन । मानिसहरू भन्छन् कि हामीले मध्यपुर्व वा संसारका अन्य समस्याहरूको हल गर्न सकिरहेका छैन तर यो बुझ्नु अति जरुरी छ कि यो सामान्य काम होइन र यसको लागी समय चाहिन्छ । हामी हाम्रोतर्फबाट सबैभन्दा राम्रो के गर्न सकिन्छ गरिरहेका छौँ । नेपाल मामिलामा भारतीय आँखाले हेर्ने भन्ने कुरो पनि गलत हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू