अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४६ | Colorodo: 10:01

भारत लैजाँदै गरेका २० बालकको उद्धार

बिआरटीनेपाल २०७४ पुष २५ गते १०:३२ मा प्रकाशित

जुम्ला, तिला गाउँपालिकास्थित कुडारी प्रहरी चौकी जुम्लाले भारत लैजाँदै गरेका २० जना बालकको आज दिउँसो उद्धार गरेको छ ।

उद्धार गरिएका सबै बालक जुम्ला पातारासी गाउँपालिका ७ र ८ हुरी, महरी, पेरे र तल्फी गाउँका रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका निमित्त प्रहरी नायब उपरीक्षक चुडामणि पुनले जानकारी दिनुभयो ।

यता कुडारी प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक हिरालाल बस्नेतले नेपालगन्ज जाँदै गरेको गाडीको जेकजाँचका क्रममा २० जना बालबालिका भेटिएको बताउनुभयो ।

“उनीहरूलाई कहाँ जाने भनेर सोधपुछ गरे, लामा पढ्न भारत जाने भनेपछि उनीहरूलाई लैजाँदै गरेका दुई जनासँग कागज मागे तर भेटाइन । पछि सबैलाई जाँचबुझ गरेर मात्र छोड्नुपर्छ भनेर जिल्ला पठाएँ ।” उहाँले भन्नुभयो ।

सबै बालकलाई आज जिल्ला प्रहरी कार्यालयको महिला प्रहरी सेलमा राखिएको छ । अभिभावकको सहमतिमा लिन थालिएको भनिएपनि आधिकारिक कागजात केही नभएको र बालकहरूलाई भारततर्फ लैजाँदै गरेका पातारासी गाउँपालिकाकै दुवै जनालई अनुसन्धानका लागि हिरासत कक्षमा राखिएको निमित्त प्रनाउ पुनले बताउनुभयो ।

आधिकारिक कागजात विना भारत लैजाँदै गरेका बालकहरूका अवस्थाका बारेमा बुझ्न पातारासी गाउँपालिकाका अध्यक्ष र अभिभावकलाई बोलाइएको पनि उहाँले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू