अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३० | Colorodo: 05:45

वैशाख महिनाभित्र विराटनगरबाट ‘गोरखापत्र’ प्रकाशित गर्न सञ्चार मन्त्री बस्नेतको निर्देशन

विराटनगर २०७४ पुष २५ गते १०:२९ मा प्रकाशित

सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले आगामी वैशाख महिनाभित्र गोरखापत्र विराटनगरबाट प्रकाशित हुने बताउनुभएको छ । गोरखापत्र दैनिकका प्रदेश नं १ र २ का समाचारदाताका लागि आज यहाँ आयोजित एकदिने अनुशिक्षण कार्यक्रममा सो जानकारी दिनुभएको हो । 

उहाँले गोरखापत्र दैनिकको स्थापना दिवस वैशाख २४ गतेको अवसर पारेर विराटनगरबाट पत्रिका प्रकाशित गर्न समेत निर्देशन दिनुभयो ।

मन्त्री बस्नेतले गोरखापत्रलाई ग्रामीण क्षेत्रका जनतासम्मको पहुँच पु¥याउनुपर्नेमा जोड दिँदै विराटनगरबाट प्रकाशन भएपछि पत्रिकाको बिक्री वितरणमा अझ सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपालको पत्रकारिताको विकासमा लामो इतिहास बोकेको गोरखापत्रको विकासका लागि सरकारले जस्तोसुकै सहयोग प्रदान गर्न तयार रहेको छ भन्नुहुँदै संस्थानले आफ्नो कार्यलाई प्रभावकारी ढंगबाट अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री बस्नेतले अहिलेको बजार भनेको प्रतिस्पर्धी रहेको उल्लेख गर्दै व्यवस्थापन सुधार गरेर मुलुकभरि रहेका समाचारदाताको संयुक्त प्रयासबाट पत्रिकाको ख्याति बढाउने कार्यमा अघि बढ्न समेत आग्रह गर्नुभएको छ ।

संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायले ‘पेपरलेस न्युज डेक्स’, ‘इ–पेपर’लगायत आधुनिक सञ्चारका प्रविधिबाट गोरखापत्रको विकास गरिने जानकारी दिनुभयो ।

गोरखापत्र दैनिकका प्रबन्ध सम्पादक श्रीधर आचार्यले स्थानीय समाचारदाताले उच्च आत्मबल र जिम्मेवारीका साथ काम गर्न आग्रह गर्नुभयो ।

संस्थानका अध्यक्ष गोविन्द पोखरेलले संस्थानको विकासका लागि सहकार्य गरेर अघि बढ्न समाचारदातालाई आग्रह गर्नुभयो । प्रदेश नं १ र २ का विभिन्न जिल्लाबाट सहभागी समाचारदाताले पेशागत सुरक्षा र सुविधाको व्यवस्था गर्न व्यवस्थापनसँग माग गरेका थिए ।

उक्त कार्यक्रममा प्रदेश नं १ र २ का २७ जना समाचारदाताको सहभागिता रहेको थियो ।

यसैबीच मन्त्री बस्नेतले आजै गोरखापत्र दैनिकको विराटनगर–१९ स्थित निर्माणाधीन कार्यालय तथा प्रेस भवनको निरीक्षण गर्नुभयो । उक्त भवनको करिब ७० प्रतिशत काम सम्पन्न भएको छ ।

विराटनगर–१९ बैजनाथपुरमा करिब रु सात करोड ५० लाख लागतमा निर्माण भइरहेको भवनको निर्माण कार्य आगामी वैशाख २४ गतेभित्र सम्पन्न हुनेछ ।

भवन हस्तान्तरणपछि सोही मितिबाट विराटनगर प्रकाशन आरम्भ गर्ने तयारी संस्थानले थालेको छ । निर्माणाधीन भवनमा गोदाम घर, मेसिन घर, प्रशासनिक भवन, कर्मचारी आवास लगायत रहनेछ । भवनलाई आगामी फागुन १ गतेदेखि आंशिकरुपमा सञ्चालनमा ल्याइने बताइएको छ ।  (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू