अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४१ | Colorodo: 01:56

मेहनत, लगनशीलता र आत्मविश्वासले नै म मिस शेर्पा २०१७ भएँ – सोनाम डोल्मा

बिआरटीनेपाल २०७४ पुष १६ गते ५:५८ मा प्रकाशित

सोनाम डोल्मा शेर्पा सौन्दर्य प्रतियोगिताहरुमा देखिने र चिनिएको नाम हो । सोलुखुम्बु जिल्लाको सोलु–दुधकुण्ड नगरपालिका–३ मा जन्मिएका उनी शारीरिक सुन्दरता, बौद्धिक क्षमताले पूर्ण सावित गर्दै सन् २०१७ का लागि ‘मिस शेर्पा’ घोषित भइन् । सन् २०१२ मा आयोजना भएको मिस शेर्पामा सहभागि भएपनि त्यसवखत उपलब्धी हासिल गर्न सकिनन् तर उनीमा ‘कुनै दिन मिस शेर्पाको ताज पहिरिएरै छाड्छु’ भन्ने आत्मविश्वास थियो । त्यो आज पूरा भएको छ । त्यस्तै, २०७३ को मिस नेपाल पिसमा वेस्ट वाल्कको उपाधी समेत जितिसकककेकी छिन् ।

२९ डिसेम्बरमा राजधानीको रोयल पाटी प्यालेशमा डिपास इन्टरनेश्नलले मिस शेर्पाको अन्तिम चरणको नतिजा घोषणा गर्दा उनले वेस्ट वाल्कको ‘सप टाइटल’ समेत हात पारिन् । १२ जना प्रतिस्पर्धीलाई पछि पार्दै ताज पहिरिएकी सोनाम डोल्मा राजधानीकै कपनमा वस्दै आएकी छन् । स्नातक–तह नर्सिङ चौथो सेमेस्टरमा अध्ययनरत उनी विभिन्न सामाजिक संस्थामा आबद्ध भएर समाजसेवामा पनि उत्तिकै सक्रिया छिन् । हिमालयन शेर्पा सांस्कृतीक केन्द्रमा केन्द्रीय सदस्य हुँदै अहिले सचिव पदमा रही काम गरिरहेकी उनी शेर्पा जातिको भाषा, संस्कार, संस्कृती, रितिरिवाजलाई संरक्षण, सम्बद्र्धन र बढोत्तरी दिने मामिलामा क्रियाशिल केन्द्रमा आबद्ध रहेर शेर्पा समुदायको श्रीबृद्धिका लागि महत्वपूर्ण योगदान दिइरहेकी छन् ।

शान नर्सिङ कलेजमा अध्ययनरत उनी अध्ययनलाई पहिलो प्रथामिकतामा राख्छिन् भने अन्य बौद्धिक क्षमता विकास र सौन्दर्य प्रतियोगिताहरुमा सकेसम्म भाग लिने गरेकी छन् । शेर्पा समुदायलाई पर्यटनसँग मात्रै नभई हर क्षेत्रमा जोडिनुपर्दछ भन्ने मान्यता राख्ने शेर्पाले समुदायको हितका लागि आफूले आगामी दिनमा चाल्ने कदमका बारेमा सञ्चारमाध्यम माझ खुलस्त भइन् । मिस शेर्पाको ताज पहिरिएपछि समुदायले राखेको अपेक्षा र उनले बुनेका योजनाका बारेमा पत्रकार लाक्पा जी शेर्पाले गरेको कुराकानीको सम्पादित अंशः

कुन ‘फरक क्षमता’का कारण आफूलाई मिस शेर्पाको ताज पहिरिन सफल भएँ जस्तो लाग्छ ?
मिस शेर्पा २०१७ मा छानिने अवसर प्राप्त भएकीमा म आफूलाई भाग्यमानी ठानेकी छु । यो अवसरलाई सदुपयोग गर्दै समुदायको हितका लागि काम गर्न सक्छु भन्ने विश्वास पनि लिएकोछु । मिस शेर्पामा प्रतिस्पर्धीहरु मध्ये म आफूलाई अब्बल सावित गर्न सफल भएँ । त्यसमा पहिलो कुरा भनेकै आत्मविश्वास हो । र, मैले लामो समयदेखि गर्दै आएको मिहिनेत र यसप्रतिको लगानशीलताले नै यो अवसर प्राप्त गर्न सकेको हुँ जस्तो लाग्छ ।

मिस शेर्पाको ताज पहिरिएपछि समुदायका लागि तपाईको भावी कार्यक्रमहरु के के छन् ?
विशेष गरी शेर्पा समुदायको भाषा, संस्कार, संस्कृतीको विकास र सम्बद्र्धनमा नै मेरो ध्यान जानेछ । त्यस्तै, आर्थिक समृद्धी, परम्परागत मान्यताहरुलाई परिमार्जनसहित प्रबद्र्धन, जगेर्ना गर्दै शेर्पा समुदायसँग जोडिएको पर्यटन जस्तै अन्य क्षेत्रमा पनि शिर उँचो बनाउने खाले कार्यक्रमहरुमा क्रियाशिल हुनेछु । त्यसैगरी शेर्पा समुदायमा रहेका विभिन्न सामाजिक संघसंस्थाहरु जस्तै नेपाल शेर्पा संघ, शेर्पा महिला संघ, युवा, सञ्चार, पत्रकार लगायतसँग सहकार्य गरेर ती संस्थाहरुले प्रस्ताव गरेका कार्यक्रमहरुमा सहभागि भएरपनि सहयोग गर्ने छु । त्यस्तै, हिमालयन शेर्पा सांस्कृतिक केन्द्र जहाँ आफै सचिवपनि छु त्यसबाट पनि शेर्पा जातिको भाषा, लिपी, संस्कृती त्यस्तै श्याब्रु नृत्य लगायत विविध क्षेत्रमा कार्यक्रमहरु सञ्चालन गर्ने छु भन्ने लाग्छ । र, शेर्पा विद्यार्थीहरुका लागि विद्यार्थी संघ, शेर्पा फर चेन्ज लगायतका संस्थासँगको साझेदारीमा बौद्धिक विकास तथा व्यक्तित्व विकास सम्बन्धि कार्यक्रमहरु सञ्चालनका लागि आवश्यक योजनाहरु निर्माण गरेर अघि बढ्ने प्रतिज्ञा गर्दछु ।

सुन्दरता प्रदर्शन शेर्पा समुदायमा अलि रुचिकरको विषयको रुपमा हेरिँदैन । सौन्दर्य र सुन्दरतावीचमा के फरक छ ? तपाईको बुझाई के हो ?
वास्तवमै हाम्रो समुदायमा सुन्दरता प्रदर्शनलाई खास स्थान दिएको पाइँदैन । यसलाई अलि पश्चिमेली संस्कृती भनेर पनि आरोपहरु लगाइन्छ । तर, वास्तवमा आयोजना हुने ‘व्यूटि प्याजेन’हरु शारीरिक सुन्दरता प्रदर्शनका लागि मात्रै हैन । यहाँ त सौन्दर्यताको परीक्षा हुन्छ भनेर बुझ्नु जरुरी छ । शारीरिक सुन्दरताले मात्रै छनौट यदि भए त्यो अपूर्ण हुन्छ । वास्तवमा शारीरिक सन्दरता, बौद्धिक क्षमताले अब्बल, नेतृत्वदायी क्षमता, कला, कौशलले यूक्त व्यक्तित्व छनौट गर्दै समाजको एक नमुना पात्र छान्ने कार्य नै सौन्दर्य प्रतियोगिता हो । यसलाई कुनैपनि नकारात्मक दृष्टिबाट हेरिनु हाम्रो बुझाईमा कमजोरी हुन आउँछ । तसर्थ, यी प्रतियोगिताहरुले प्रतिभाहरु जन्माउँछन्, अवसरहरु प्राप्त गर्ने विशिष्ट मञ्च र माध्यम निर्माण हुने र वास्तवमा समुदायमा सबै क्षमता, गुणले भरिपूर्ण व्यक्ति को हुन त ? भन्दै खोजि गर्दा प्राप्त गर्ने र उभिने माध्यम हो भनेर बुझ्नु पर्दछ ।

नयाँ–नयाँ प्रविधिको विकाससँगै हामीमा स्वतः आधुनिकताले प्रवेश पाउने कुरालाई अस्वभाविक रुपमा पनि लिनु हुँदैन । हरेक व्यक्तिमा क्षमता हुन्छन् । त्यसलाई प्रदर्शन र प्रस्फुटन गर्ने अवसरहरु खोजी गर्न सक्नु पर्दछ । मिस शेर्पा त्यस्तै एउटा थलो थियो जुन हामीले सदुपयोग गर्यौं । यसबाट व्यक्तित्व विकास हुन्छ । क्षमताहरु प्रदर्शन गर्ने अवसर प्राप्त हुन्छ र भएको छ । तसर्थ, यस्ता प्रतियोगिताहरु शारीरिक प्रदर्शनका लागि आयोजना हुने होइन भनेर बुझ्नु नितान्त जरुरी छ ।

मोडलिङ क्षेत्रमा प्रवेश कसरी गर्नु भयो ?
मोडलिङ आफैंमा चुनौति पूर्ण काम हो । हामी ‘मोडल’ बन्छौं तर खास मोडल भनेको ‘नमुना’ हो । हामी समाजको नमुना बन्न सक्नु पर्दछ । शारीरिक प्रदर्शन र अनुहार श्रृंगारिएर मात्रै मोडलको परिभाषा पूरा हुँदैन । मेरो यस क्षेत्रको प्रवेश संयोग हो, योजनाबद्ध हैन । वास्तवमा मेरो भावी योजना भनेको नर्सिङ मार्फत स्वास्थ्य क्षेत्रमा केही गर्छु भन्ने हो । त्यस्तै, खाली रहेको समयमा बौद्धिक विकास र व्यक्तित्व निर्माणको कार्यमा क्रियाशिल, संलग्न हुन मन पराउँछु । मिस शेर्पा मेरो लागि अवसरहरु प्राप्त गर्ने एउटा विशिष्ट माध्यम हो तर रंगिन क्षेत्रमा नै केही गर्छु भन्ने चाँही योजना हैन ।

मिस शेर्पाका ताज पहिरिसक्नु भएकाहरुसँगको समन्वय कस्तो रहन्छ ?
यसअघि मिस शेर्पाको ताज पहिरिनु भएका अग्रज दिदिज्यूहरु हुनुहुन्छ । कतिपयसँग म अपरिचित पनि हुन सक्छु । मिस शेर्पा २०१२ का विजेता छिमी दिदिले त मलाई ताजै पहिरि दिनु भएको छ । म यस बर्षको मिस शेर्पाको हैसियतले सबैसँग समन्वय गरेर समाजलाई हित हुने खाले कार्यक्रमहरु सञ्चालनका लागि अभियानहरु सञ्चालन गर्न प्रयास गर्नेछु । सबैसँग सम्पर्क समन्वयको माध्यमबाट नै सामाजिक हितका लागि कामहरु हुनेछन् ।

तपाई सांस्कृतीक दूतको रुपमा पनि अघि बढ्नु हुन्छ हैन ?
वास्तवमा मिस शेर्पाको यो उपाधी मेरोलागि गौरवको बिषय बन्यो । किनभने म मिस शेर्पाको हैसियतले शेर्पा समुदायबाट सांस्कृतिक दूतको रुपमा समेत रहेर काम गर्ने अवसर प्राप्त गर्न सक्छु । हिमालयन शेर्पा सांस्कृतीक केन्द्रंले यसबाट थप योजना निर्माण गर्ने छ । शेर्पा समुदायको पहिचान जगेर्ना र विकासका लागि देश विदेशमा छरिएर रहेका संस्थाहरुसँगको साझेदारीमा संस्कृती सम्बद्र्धन र अभ्यासहरुमा मेरो सक्रिय सहभागिता रहनेछ ।

समुदायबाट के अपेक्षा गर्नु भएको छ ?
मिस शेर्पाको उपाधीसँगै ममा समुदायको हितका लागि गर्नुपर्ने कार्यहरुको थप जिम्मेवारी बोध भएको छ । समुदायबाट मिस शेर्पा एउटा औपचारिकता मात्रै हो भन्ने बुझाई राख्नु हुँदैन । मिस शेर्पाको माध्यमबाट समुदायले आर्थिक, सामाजिक, राजनैतिक र बौद्धिक रुपमा समेत अवसरहरु प्राप्त गर्ने, विश्वव्यापी रुपमा आफूलाई प्रस्तुत गर्ने कुराहरुलाई भुल्नु हुनेछैन । त्यस्तै, विभिन्न ठाउँमा हुने कार्यक्रमहरुमा सांस्कृतीक क्रियाकलाप, सन्देशहरु फैलाउँदै समुदायमा योगदान दिनेछु । र, समुदायमा रहेका संस्थाहरुले पनि यो प्लेटफर्मलाई अवसरको रुपमा सदुपयोग गर्न हुनेछ भन्ने पूर्ण विश्वास लिएकोछु ।

त्यस्तै, युवाहरुवीच अन्तरघुलनको माध्यमबाट विभिन्न पेशा, व्यवसायमा आबद्ध हुने खाले मार्ग प्रशस्त गर्नका लागिपनि भूमिका निर्वाह गर्ने योजना छ । लैंगिक समानता, समावेशी विकास र राज्यमा पहुँच विस्तारका लागि पनि मेरो भूमिका रहन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू