अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२६ | Colorodo: 21:41

ट्रम्पको भ्रमणबारे बेलायतमा तनाव, प्रधानमन्त्री मेले ट्रम्पको कामलाई ‘घृणित’ भनिन, रोकिएला राजकीय भ्रमण ?

बिआरटीनेपाल २०७४ मंसिर १५ गते ११:३० मा प्रकाशित

बेलायती प्रधानमन्त्री टिरिसा मेले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम विरोधी भिडियो अनलाइनमा शेयर गर्नु ‘गलत’ र ‘घृणित’ काम भएको बताएका छन् ।

मेको यस्तो सार्वजनिक अभिव्यक्ति दुर्लभ त छ नै, उनको बेलायत राजकीय भ्रमण हुनु पूर्व पनि आएको छ । प्रधानमन्त्री मेमाथि राष्ट्र ट्रम्पको राजकीय भ्रमण रोक्न चर्को दबाब पर्दै आएको छ । त्यसमाथि ट्रम्पले उनको आलोचना गरेपछि मुस्लिम विरोधी भिडियो अनलाई शेयर गरेको विवादलाई मे व्यक्तिगत रूपमा सम्बोधन गर्न बाध्य भएकी हुन् ।

तर, मेले बेलायत र अमेरिकाको सम्बन्ध आँधी बेहरी झेल्न सक्ने स्तरको बताइन् । उनले ट्रम्पलाई भ्रमणको तयारी अघि बढाउन पनि सल्लाह दिइन् ।

ट्रम्प र मेको अभूतपर्व द्वन्द्व भोलिपल्ट पनि लम्बियो । अमेरिकाका लागि बेलायती राजदूतले विवादबारे ह्वाइट हाउसमा चासो राखे । ट्रम्पले बेलायती संसद्मा पनि विरोधको सामना गर्नु प¥यो । सांसदहरुले उनलाई ‘नश्लवादी’, ‘फासीवादी’ र ‘दुष्ट’ भने । केहीले उनलाई ट्वीटरबाट बाहिरिन सल्लाह दिए ।

मेले जोर्डनको अमनमा ट्रम्प विरुद्ध त्यस्तो अभिव्यक्ति दिएकी हुन् । आसन्न भ्रमणबारे सोध्दा उनले भनिन्, ‘ब्रिटेन फस्र्टको भिडियो अमेरिकी राष्ट्रपतिले रिट्वीट गर्नु गलत भएकोमा म प्रस्ट छु । ब्रिटेन फस्र्ट घृणित संस्था हो । यसले हाम्रा विभिन्न समुदायप्रति अविश्वास फैलाउँछ । यो बेलायती सौहार्दता विपरीत काम गर्छ ।’

तर, मेले भ्रमण रद्ध नगर्ने इसारा गरिन् । ‘राजकीय भ्रमण स्वीकार गरिएको छ । भ्रमणको मिति तय गरिएको छैन,’ उनले भनिन् ।

ट्रम्पले बुधवार जेडा फ्र्यान्सनको ३ वटा ट्वीटर भिडियो शेयर गरेपछि विवाद सुरु भएको हो । फ्र्यान्सन ब्रिटेन फस्र्टकी उपनेता हुन् ।

त्यसपछि बेलायतमा ट्रम्पविरुद्ध आक्रोश बढेको थियो । आक्रोश शान्त गर्न मेले प्रवक्तामार्फत ट्रम्पको आलोचना गरेकी थिइन् । त्यसविरुद्ध ट्रम्पले ट्वीटरमा प्रतिक्रिया जनाए, ‘एट टिरिसा मे । ममा केन्द्रित नहुनुहोस् । बेलायतभित्र भइरहेको ध्वंसकारी इश्लामी आतंकवादप्रति केन्द्रित हुनुहोस् । हामी सही काम गरिरहेका छौँ ।’

अमेरिकाका लागि बेलायती राजदूत सर किम डिराकले ट्वीटरमा बिहीबार प्रक्रिया दिए, ‘बेलायती जनता सामुदायिक विभेद ल्याउने, सौहार्दता, सहनशीलता र आपसी सम्मान खल्बल्याउने दक्षिणपन्थी अतिवादी अभिव्यक्ति अस्वीकार गर्छन् । बेलायती मुस्लिम शान्त स्वाभावका कानुन पालना गर्ने नागरिक हुन् । मैले यस विषयमा हिजो ह्वाइट हाउसमा चासो राखेँ ।’

बिहीबार बेलायतमा हाउस अफ कमन्समा सबै दलका सांसद ट्रम्पको आलोचना गर्न उभिए । लेबर पार्टीका सांसद स्टिफन डउटीले ट्रम्पले व्यक्तिगत रूपमा र अनलाइनबाट घृणा र हिंसा फैलाउने अराजक फासिवादी संस्थाको प्रतिनिधित्व गर्ने व्यक्तिको उत्तेजना फैलाउने र विखण्डन ल्याउने भिडियो १० औँ लाख मानिससँग शेयर गरेको बताए । ‘ट्रम्प कि नश्लवादी, कि अयोग्य, कि विचारहीन मानिस हुन् । वा यी सबै हुन्,’ उनले भने ।

अर्का सांसद क्रिस ब्रायन्टले ट्रम्प बेलायत आए धार्मिक अपराधमा गिरफ्तार गरिनुपर्ने बताए । ‘राष्ट्रपति ट्रम्प बेलायत नआउदा हुन्छ,’ उनले भने । केही सांसदले उनलाई ट्वीटर छाड्न सल्लाह दिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू