अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१८ | Colorodo: 20:33

दसौँ दक्षिण एसिया आर्थिक सम्मेलन काठमाडौँमा सुरु

बिआरटीनेपाल २०७४ कार्तिक २८ गते २२:५८ मा प्रकाशित

काठमाडौँ । दिगो विकास हासिल गर्नका लागि मन्त्री, विधायक, नीति निर्माताहरुबाट क्षेत्रीय एकतामा जोड दिदैं दसौँ दक्षिण एसिया आर्थिक सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ ।
‘दक्षिण एसियामा समावेशी र दिगो आर्थिक विकासका लागि गहन आर्थिक एकता’ विषयक सम्मेलन राष्ट्रिय योजना आयोग, वाणिज्य मन्त्रालय तथा साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एण्ड इन्भाएरोमेन्ट (सावती) को संयुक्त आयोजनामा कार्तिक २८ देखि ३० गतेसम्म चल्नेछ ।

सम्मेलनको उद्घाटनका क्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्मेलनका सहभागीहरुलाई स्वागत गर्दै छलफल र धारणाहरुले नीति निर्माणको लागि समेत बाटो पहिल्याउने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले व्यापार तथा पारवहन सहजीकरण र दक्षिण एसिया स्वतन्त्र व्यापार क्षेत्र अन्तर्गत व्यापारको संवेदनशील सूची घटाउन गरेको पहलका सम्बन्धमा उद्धृत गर्दै यसलाई सार्क देशहरुसँग सहकार्य र सहयोग आदानप्रदान गर्ने नेपालको तत्परताको रूपमा ग्रहण गर्न आग्रह गर्नुभयो ।
भुटानका अर्थमन्त्री ल्योन्पो लेके दोर्जीले दक्षिण एसियामा आर्थिक एकताका चुनौतीहरुका विषयहरूको सम्बन्धमा चर्चा गर्दै विद्यमान चुनौतीहरू सम्बोधन भई दक्षिण एसियामा आर्थिक सम्भावना उजागर हुने अपेक्षा व्यक्त गर्नुभयो । क्षेत्रीय व्यापार, भन्सार सहजीकरण र यातायातको सम्पर्कसञ्जाल सुधार तथा विस्तारमा जोड दिनुभयो ।

वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले दिगो विकास, स्थायी शान्ति र आर्थिक संवृद्धिका लागि दक्षिण एसियाको साझा मञ्चलाई सुदृढ बनाउनुपर्नेमा जोड दिदैं दक्षिण एसिया स्वतन्त्र व्यापार क्षेत्र वास्तविक रूपमा कार्यान्वयन भए यसले क्षेत्रीय व्यापार र लगानीको हिस्सा बढाउन मद्दत गर्ने बताउनुभयो। दक्षिण एसियाली एकताले गरिबी निवारणमा ठुलो सहयोग पुगेको भन्दै अझै पनि साझा चुनौतीहरू सामानाका लागि मजबुत क्षेत्रीय एकताको खाँचो औल्ल्याउनुभयो । मन्त्री विश्वकर्माले व्यापारका अवरोधहरुलाई हटाउँदै, मजबुत यातायात सञ्जाल विस्तारले वस्तु, सेवा, पुँजी, प्रविधि तथा मानिसहरूको आवागमनका लागि समेत मार्ग प्रशस्त गर्नुपर्ने उहाँको भनाई थियो ।

मालदिभ्सका आर्थिक विकास राज्यमन्त्री अब्दुल लतिफ मोहम्मदले साफ्टाको प्रभावकारी कार्यान्वयनको आवश्यकता औंल्याउँदै सेवा व्यापारसम्बन्धि सार्क सम्झौताले आन्तरिक तथा अन्तर क्षेत्रीय व्यापार प्रवद्र्धनलाई सहजीकरण गर्ने बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेले सार्क क्षेत्रले दुई विश्वव्यापी विकासका एजेण्डा— समता तथा दीगोपनामा केन्द्रित भएको उल्लेख गर्दै दक्षिण एसियाली राष्ट्रहरूको आर्थिक करिडोर जोड्ने गरी यातायात सञ्जाल विस्तार गर्नुपर्ने बताउनुभयो । दक्षिण एसियामा व्यापार लागत घटाउन अपरिहार्य रहेको भन्दै उहाँले पाकिस्तान र भारतबीच व्यापारको लागत अमेरिका र चीनको व्यापार लागत भन्दा दोब्बर भएको उदाहरण पेस गर्नुभयो । द्रुत विकास हासिल गर्न व्यापारको लागत न्यूनीकरण, व्यावसाय मैत्री वातावरण, ऊर्जाको सहज उपलब्धतामा जोड दिनुभयो ।

सहभागीहरुलाई स्वागत गर्दै सावतीका कार्यकारी अध्यक्ष डा. पोषराज पाण्डेले दक्षिण एसिया क्षेत्रको आन्तरिक व्यापार बाह्य देशहरुसँगको व्यापारको तुलनामा नगण्य भए पनि पछिल्लो दश वर्षमा व्यापार दोब्बर भएको बताउनुभयो ।

उद्घाटन सत्रका क्रममा ‘रिइम्याजिनिङ साउथ एसिया इन २०३०’ विषयक पुस्तक विमोचन गरिएको थियो । उक्त पुस्तक गत वर्ष ढाकामा सम्पन्न नवौँ दक्षिण एसिया आर्थिक सम्मेलनका कार्यक्रमहरूको संंग्रह हो ।

प्रतिष्ठीत अनुसन्धाता, प्राज्ञ, विज्ञ, कूटनीतिज्ञ लगायत विभिन्न ३०० भन्दा बढी सहभागीहरू रहेको उक्त कार्यक्रममा तीन दिनमा १४ समानान्तर सत्रहरु सञ्चालन हुनेछन् । सन् २००८ देखि सुरु भएको दक्षिण एसिया आर्थिक सम्मेलनको यो दसौँ संस्करण हो ।

क्षेत्रीय थिंक ट्यांकहरु नेपालमा सावती, बङ्गलादेशमा सेन्टर फर पोलीसी डायलग, भारतमा रिसर्च एण्ड इन्फरमेसन सिस्टम फर डेभलपिङ कन्ट्रीज, पाकिस्तानमा सस्टेनेबल डेभलपमेन्ट पोलीसी इन्स्टिच्युट, तथा श्रीलंकामा इन्स्टीच्यूट अफ पोलीसी स्टडीज्ले पालैपालो सार्क देशहरूमा यो सम्मेलन आयोजना गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू