अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०६ | Colorodo: 23:21

उपत्यकाभित्र रगतको अभाव: रक्तदान गर्न आह्वान

बिआरटीनेपाल २०७४ कार्तिक ९ गते ९:२१ मा प्रकाशित

अस्पताल तथा बिरामीहरूबाट रगतको माग अत्याधिकरुपमा बढ्दा काठमाडौं उपत्यकाभित्र रगतको अभाव देखिएको छ । पर्वहरू वडादशैँ, तिहार तथा छठका समयमा रक्तदाताका कमी एवं रक्तदान शिविर सञ्चालन समेत कम भएकाले उपत्यकाभित्र रगतको एक्कासि अभाव देखिएको हो । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रलाई रगतको माग र आपूर्तिबीचमा सहजता ल्याउन अहिले कठिन भएको छ । यसका लागि सोसाइटीले आम रक्तदातालाई रक्तदान गर्न र रक्तदानको शिविर बढाउन सङ्घ सस्थालाई आह्वान समेत गरेको छ ।

केन्द्रका निर्देशक डा मनिता राजकर्णिकारले अहिले केन्दमा दैनिक रूपमा दुईसय युनिट (प्रिन्ट) रगतको माग हुनेगरेको र बिरामीका आफन्तमार्फत नै मुस्किलले सो माग पूर्ति गर्ने गरेको जानकारी दिनुभयो । विगतमा पनि विशेष गरी दसैँ, तिहार तथा छठका समयमा रगतको अभाव उपत्यकामा देखिने गर्दथ्यो । तर यस पटक तिहार तथा छठमा रगतको बढी अभाव देखिएको केन्द्रले जनाएको छ ।

रक्तसञ्चार ताहाचलबाट सञ्चालनको तयारी
अर्काेतर्फ सोसाइटीले ललितपुरस्थित बालकुमारीमा रहेको अस्थायी रक्त सञ्चार सेवा केन्द्रलाई ताहाचलस्थित आफ्नै केन्द्रीय कार्यालयबाट सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ ।यसका लागि अस्थायी प्रिफेव भवन निर्माण भइरहेको र तीन महिनाभित्र भवन निर्माण सम्पन्न भइसक्ने सोसाइटीका उपमहामन्त्री हरि न्यौपानेले जानकारी दिनुभयो । विभिन्न दुर्घटना, प्रसूति, क्यान्सर, शल्यक्रिया गर्नुपर्ने रोग जस्ता बिरामीको सङ्ख्या बढ्दै जाँदा रगतको माग काठमाडाँै, पोखरा, नेपालगंजलगायत प्रमुख सहरहरूमा दिनप्रतिदिन बढ्दै गएको छ ।

केन्द्रका निर्देशक डा राजकर्णिकारका अनुसार देशभर दैनिक रूपमा दुईहजार युनिट रगतको खोजी रक्तसञ्चार सेवा केन्द्रमा मात्र हुने गर्दछ । हाल सोसाइटीअन्तर्गत आफ्ना ७२ जिल्लाका १०५ स्थानबाट रक्त सञ्चार सेवा सञ्चालनमा रहेको छ ।

दैनिक रूपमा ७८ प्रतिशत स्वयंसेवी रक्तदाता र २२ प्रतिशत बिरामीका आफन्तबाट अर्थात् शोधभर्नाबाट सङ्कलन गर्नुपर्ने बाध्यता केन्द्रसँग रहेको छ । अर्काेतर्फ चिकित्सकले शल्यक्रियालगायत अन्य जटिल उपचार गर्नुपूर्व बिरामीका आफन्तलाई रगत जम्मा गर्न लगाउने तर सो रगत पुरै प्रयोगमा नआउँदा कति रगत मिति नाधेर खेरा जान्छ भन्ने एकिन तथ्याङ्क कुनै निकायसँग छैन । कूल रक्तदातामध्ये ८४ पुरुष र १६ प्रतिशत महिला रहेका छन् । केन्द्रसँग रगतका तत्वअनुसार तीनदिनदेखि सातदिनसम्म भण्डारण गर्ने क्षमतामात्र रहेको छ ।

निर्धक्क रगत दिऔँ र लिऔँ : प्रयोगशाला
राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशालाले विश्व स्वास्थ्य सङ्गठनको गाइड लाइन र यसले सिफारिस गरेका मापदण्डअनुसार नै ¥यापिड र इलाइज प्रविधिबाट नेपालमा रक्त परीक्षण हुँदै आएको जनाएको छ । चिकित्सकहरूका अनुसार रक्तदानबाट दान भएको रगतबाट जिवाणु संक्रमण हुने सम्भावना रहन्न, स्वच्छ व्यक्तिले निर्धक्क रूपमा रगत दान दिँदा केही हुँदैन ।

हाल रक्तसञ्चार सेवा केन्द्रले रक्तदानबाट प्राप्त रगतका एचआइभी, हेपाटाइटिस बी र सी र सिफिलिस परीक्षण गरेर मात्र वितरण गर्ने गर्दछ । यसका साथै रगत समूह, बिरामीको रगतसँग क्रश म्याचिङ गरेर मात्र वितरण हुन्छ । विश्वका वैज्ञानिकले हालसम्म मानव शरीरलाई आवश्यक पर्ने कृतिम रगत र तिनका प्रकारहरू आविष्कार गर्न सकेका छैनन् । यसैले स्वच्छ व्यक्तिले दिने रगतले नै अर्काे बिरामी व्यक्तिले प्रयोग गरी नयाँ जीवन प्राप्त गर्दछ ।

अर्काेतर्फ रक्तदान गरेर दातालाई कुनै हानि हुँदैन । चिकित्सकहरूका अनुसार रगतमा भएको रातो रक्तकण भरिरहन्छ, त्यसको परिपूर्ति तीन महिनामा भइहाल्छ । मानिसको वजनको करिब ८ प्रतिशत रगत हुन्छ । औसत तौलको मानिसमा चार लिटर रगत हुन्छ । यसैले तीनसयदेखि तीनसय पचास मिलिलिटर रगत झिक्दा शरीरलाई केही हानि नपुग्ने चिकित्सकहरुको भनाइ छ ।

पहिलो स्वास्थ्य नीति २०४८ ले नेपाल रेडक्रस सोसाइटीलाई रक्तसञ्चारसम्बन्धी सम्पूर्ण कार्य गर्ने जिम्मेवारी प्रदान गरेको थियो । यही जिम्मेवारीअन्तर्गत केन्द्रले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअन्तर्गत रही रक्तदाताले दान गरेका रगत र तिनको तत्त्व सुरक्षित र गुणस्तरीयरुपमा बिरामीसम्म पु¥याइरहेको छ । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू