अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०५ | Colorodo: 05:20

उल्टो साइकल चलाएर विश्व यात्रामा निस्किएका विरेश दाहालको कथामा चलचित्र बन्ने

बिआरटीनेपाल २०७४ असोज २८ गते ७:४२ मा प्रकाशित

२८ असोज, काठमाडौँ । विश्व शान्तिको कामना गर्दै उल्टो साइकल चलाएर विश्व यात्रामा निस्किएका उदयपुरका विरेश दाहालको कथामा चलचित्र बन्ने भएको छ । सो कुराको जानकारी राजधानीमा आयोजित एक कार्यक्रमबिच गरिएको हो । दाहालको बायोपिक चलचित्रको नाम ‘उल्टो साइकल’ राखिएको छ भने उक्त चलचित्र विगबुद्ध इन्टरटेनमेन्टको ब्यानरमा बन्ने जानकारी दिइएको छ ।

चलचित्रको निर्माण एनसीसी फ्रान्सको पूर्व उपाध्यक्ष र फ्रान्को नेपाल पाकोफेन संस्थाको निवर्तमान अध्यक्ष जीता कटवालले गर्न लागेकी हुन् । चलचित्रको निर्देशन श्रीराम दाहालले निर्देशन गर्नेछन् । चलचित्रको कथा तथा पटकथा पनि दाहालकै रहेको छ । दाहालले यसअघि बुरहान र लुकामारी जस्ता चलचित्रको निर्देशन गरिसकेका छन् । आगामी पुस २७ गतेबाट चलचित्रको छायाङ्कन सुरु हुने बताइएको छ । नरेन्द्र बराल र विनोद खतिवडा कास्टिङ निर्देशकको रूपमा छनोट भएका छन् भने कलाकार तथा प्राविधिक भने छनोट हुन बाँकी छ ।

निर्देशक दाहालले करिब ७ वर्षको अध्ययन र अनुसन्धानपछि चलचित्रको स्क्रिप्ट तयार गरिएको बताए । उल्टो साइकल यात्रीले भोगेका दुःख, सुख र उनले देश र विदेशमा दिन खोजेको सन्देशलाई चलचित्रमार्फत देखाउन खोजेको उनले बताए ।

चलचित्रका नायक विरेश दाहालले उल्टो साइकल यात्राका क्रममा आफूले भोगेका अनुभवहरू सुनाएका थिए । ‘विश्व शान्ति, मानव भाइचारा नेपाली पहिचानका लागि’ भन्ने नाराका साथ उनी विगत १२ वर्षदेखि विश्व यात्रामा निस्किएका हुन् । १५१ देश घुम्ने लक्ष्यका साथ विश्व साइकल यात्रामा निस्किएका दाहालले सात वर्षमा उल्टो साइकल चलाएर ६३ देश घुमिसकेका छन् । पछिल्लो यात्राका क्रममा दाहालले अमेरिका लामो समय बिताएका छन् । साइकलमा नेपाली झन्डा फहराउँदै यात्रा गर्ने क्रममा उनलाई विभिन्न देशमा नेपालीहरूले भव्य सम्मान समेत गरेका छन् । गरिब परिवारमा जन्मेर साथमा पैसा नहुँदा पनि मनले आँटेपछि यात्राका क्रममा आफूलाई सहयोग गर्ने थुप्रै हातहरू भेटिएकै कारण आफ्नो यात्रा सफल रहेको बताए । उनले नेपालमा मेची देखि महाकालीको यात्रा अन्त गर्ने क्रममा महाकाली पुलमा भारतीय प्रहरीले तस्बिर खिच्न नदिँदा नेपाली स्वाभिमान दुखेको संस्मरण समेत सुनाएका थिए । म्युजिक भिडियोमासमेत अभिनय गरेका दाहालले हालसम्म ९३ वटा स्टेज नाटक, कचहरी नाटक र सडक नाटकमा अभिनय र निर्देशन गरिसकेका छन् ।

निर्मात्री जीता कटवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष रामचन्द्र ढकाल, नाट्य संस्था महासङ्घका अध्यक्षका विजय विस्फोट साथै गैर आवासीय नेपाली सङ्घका सचिव अर्जुनकुमार श्रेष्ठ, एनआरएनए मध्यपूर्वका सहसंयोजक धर्मराज गिरी, हलिउड फिल्मका नेपाली निर्देशक तथा एनआरएनए अभियन्ता दिल श्रेष्ठलगायतले चलचित्र सफलताको शुभकामना दिएका थिए ।

प्रतिक्रिया