अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३३ | Colorodo: 12:48

एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टरद्धारा एक डलर अभियानको घोषणा

बिआरटीनेपाल २०७४ असोज १३ गते २०:०७ मा प्रकाशित

गैह्रआवासीय नेपाली सङ्घ अमेरिकाको क्यालिफोर्निया च्याप्टरको सेप्टेम्बर २८ मा सम्पन्न बैठकले एक आकस्मिक कोषको स्थापना गर्ने निर्णय गरेकोछ। हाल आकस्मिक कोषमा च्याप्टरका ११ जना पदाधिकारी एवं सदस्यहरूबाट सुरुमा कम्तीमा $२५० र त्यसपछि प्रत्येक महिना $१० का दरले जम्मा गर्ने निर्णय गरेको च्याप्टरका सचिव रोशन अधिकारीले जानकारी गराए। आकस्मिक कोषको स्थायित्व र कोष वृद्धिका लागि नेपालीहरूका बिच ‘एक नेपाली-एक डलर’ अभियान सञ्चालन गर्ने निर्णय समेत एनआरएनए क्यालिफोर्नियामा च्याप्टरले गरेकोछ।

‘चुनाव अघि गरिएको बाचा अनुरूप नै स्थानीय अगुवा, समाजसेवी, नेपाली सङ्घ-संस्थाका पदाधिकारी र कार्यसमितिका अन्य साथीहरूको सहमतिमा यो अभियान सञ्चालन गर्ने निर्णय भएको हो’ अध्यक्ष पाण्डेले उत्साहित हुँदै बताए।

अध्यक्ष पाण्डेका अनुसार यस अभियान अन्तर्गत क्यालिफोर्नियाका सबै नेपाली सामाजिक संघसंस्थाहरुसंगको सहकार्यमा यहाँ हुने सामाजिक कार्यक्रमहरूमा क्यालिफोर्निया च्याप्टरको एउटा हेल्पडेस्क राखेर नेपालीहरूको नाम, ठेगाना र सम्पर्क फोन/इमेल सहितको विवरण सङ्कलन गर्ने र एक डलर सहयोग गर्न अनुरोध समेत गर्ने लक्ष्य रहेकोछ। यस अतिरिक्त नेपालीहरूका मनोरन्जनात्मक एवं सांस्कृतिक कार्यक्रमहरूमा बिक्री भएको प्रवेश टिकटबाट प्रति टिकट $१ आकस्मिक कोषमा जम्मा गरिदिन समेत नेपाली संस्थाहरूलाई अनुरोध गरिनेछ।

यो कार्यको सुरुवात दसैँमा लसएन्जलसमा आयोजित दसैँ शुभकामना सांस्कृतिक कार्यक्रमबाट भैसकेकोछ। नेपाली संस्था र सामाजिक अगुवाहरुको संलग्नतामा एक नेपाली-एक डलर अभियानको लागि क्यालिफोर्नियामा घरदैलो लगायत स्थानीय टोल/ समूह भेटघाटलाई समेत प्राथमिकता दिने लक्ष्य रहेको जानकारी अध्यक्ष पाण्डेले गराए।

‘यो अभियान अर्थ सङ्कलन र कोष वृद्धिमा मात्र सीमित हुने छैन बरु यस अभियानबाट क्यालिफोर्नियामा नेपालीहरूको तथ्याङ्क अध्यावधिक गर्न सहयोग पुग्ने, नेपालीहरूलाई दुख पर्दा सहयोग गर्न नेपालीहरूको आफ्नै आकस्मिक कोष बढ्ने र परेको बेला सहयोगी एनआरएन अमेरिका भन्ने सन्देश पनि जानेछ।

यस्ता गतिविधिहरुले एनआरएन अमेरिकाको सदस्यता विस्तारमा समेत सहयोग पुग्छ। हालै सम्पन्न चुनावका बेला सतहमा छरपस्ट भएको एनआरएन अमेरिकाको छवि सुधार्न र यसप्रति नेपालीहरुबीच देखिएको वितृष्णा कम गर्न समेत क्यालिफोर्निया च्याप्टरको यो निर्णयले सघाउ पुय्राउनेछ’, अध्यक्ष पाण्डेको विश्वास छ। अध्यक्ष पाण्डे भन्छन्—‘अब काम गरेरै नेपालीहरूलाई एनआरएन अमेरिकाको सदस्य बन्न इच्छुक बनाउने हो।’ 

प्रतिक्रिया