अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५७ | Colorodo: 15:12

प्रथम गोल्डेन नेपाली फिल्म अवार्ड अब डिसेम्बरमा

बिआरटीनेपाल २०८१ कार्तिक ७ गते १२:०० मा प्रकाशित

अमेरिका । प्रथम गोल्डेन नेपाली फिल्म अवार्ड–०२४ डिसेम्बर २१ मा आयोजना गरिने भएको छ । पहिला नोभेम्बर १६ मा आयोजना गर्ने घोषणा गरिएको अवार्ड अमेरिकामा नोभेम्बर ५ मा हुन लागेको राष्ट्रपति निर्वाचनका कारण एक महिना पछि सारिएको अवार्डका नेपाल संयोजक सुनिल कटुवालद्वारा शनिवार जारी विज्ञप्तिमा उल्लेख छ ।

‘अमेरिकामा आसन्न राष्ट्रपति निर्वाचनलाई ख्याल राखी सोही सेरोफेरोमा आयोजना हुने तयारीमा रहेको प्रथम गोल्डेन नेपाली फिल्म अवार्डको मिति सारिएको’ विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति निर्वाचनका कारण पाहुनाहरूको सुरक्षा र आवागमनमा हुने कडा तथा असहजताको ख्याल गरी अवार्ड कार्यक्रम पूर्वनिर्धारित भन्दा करिब एक महिनापछि सारिएको जनाएको छ ।

अवार्ड मूल समारोह २१ डिसेम्बर २०२४ को साँझ ६ बजे क्यालिफोर्नियास्थित रिचमन्ड मेमोरियल अडिटोरियम,४०३ सिभिक सेन्टर प्लाजामा आयोजना हुने छ भने २२ डिसेम्बर बिहान ११ बजे बार्केलेमा नेपाली कला संस्कृति,भेषभेषा झल्कने झाँकीसहित–प्रभात फेरि नेपाल डे परेड आयोजना गरिने छ । सोही दिन साँझ नेपाली सेलिब्रेटीहरुसँग मिट एण्ड ग्रिट क्रुज पार्टी आयोजना गरिने जानकारी विज्ञप्तिमा उल्लेख छ ।

०८० साउनदेखि ०८१ असार मसान्तभित्र नेपालका सिनेमा घरमा प्रदर्शन भएका नेपाली चलचित्रहरू समावेश गरिएको अवार्डमा झन्डै डेढ दर्जन विधामा प्रतिस्पर्धी अवार्ड प्रदान गर्नुका साथै एक विशिष्ट चलचित्रकर्मीलाई लाइफ टाइम एचिभ्मेन्ट अवार्ड दिइदैछ अवार्डमा सहभागी हुनका लागि नेपालबाट तीन दर्जन बढी सेलिब्रेटी अमेरिका पुग्ने छन् भने अमेरिकामै रहेका चलचित्रकर्मीहरूको समेत बाक्लो उपस्थिति रहने आयोजकले जनाएको छ । अवार्डको जुरीमा नेपालबाट वरिष्ठ अभिनेता शिव श्रेष्ठ,वरिष्ठ अभिनेता सुनिल थापा,चर्चित अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला,वरिष्ठ छायाकार गौरीशङ्कर धूजु श्रेष्ठ,अभिनेता सुनिल कटुवाल र वरिष्ठ चलचित्र पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदी छन् । अवार्ड समारोह चर्चित होस्ट नरेश भट्टराईले सञ्चालन गर्ने छन् । अवार्ड निकै भव्य र ऐतिहासिक रूपमा आयोजना गर्ने तयारी अमेरिकास्थित मूल आयोजक हिमालय फाउन्डेसन कर्प,गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्निया,लाइटे ल अफिस,सोम्नामे ग्रुप एलएलसी (यति रेस्टुरेन्ट),रजपुत ग्रुप एलएलसी,पाण्डे रियालिटी तथा टाइटल स्पन्सर हिमालयन हवले गरेका छन् । नेपाली कलाकार,चलचित्र तथा नेपाली कला संस्कृतिको प्रवर्द्धनमा यो अवार्डले अमूल्य टेवा पुर्‍याउने विश्वास लिइएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू