अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०१ | Colorodo: 07:16

विदेशमा ज्यान गुमाएकाका २२ बालबालिकालाई छात्रवृत्ति

बिआरटीनेपाल २०७४ असोज १२ गते ४:३३ मा प्रकाशित

वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा ज्यान गुमाएकाका परिवारका २२ जना खोटाङका बालबालिकाका लागि छात्रवृत्ति रकम आएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा काम गर्दैगर्दा विदेशमै ज्यान गुमाएकाका बालबच्चाका लागि जिल्ला शिक्षा कार्यालय खोटाङमा वैदेशिक रोजगार प्रवद्र्घन बोर्डबाट छात्रवृत्ति रकम आएको हो ।

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका अभिभावकका बालबच्चाले अध्ययन गर्दै गरेको विद्यालय तथा जिल्ला शिक्षा कार्यालयको सिफारिस, राहदानी, श्रम स्वीकृति, नाता प्रमाणित, करार अवधिमा मृत्यु भएको खुल्ने कागजात वा मृत्यु दर्ता लगायतको कागजात उपलब्ध गराएपछि सो छात्रवृत्ति रकम उपलब्ध गराइने जिल्ला शिक्षा अधिकारी धनबहादुर श्रेष्ठले बताउनुभयो ।

वैदेशिक रोजगारीमा जाँदा कल्याणकारी कोषमा अनिवार्य जम्मा गर्नुपर्ने रु एक हजार रकमअन्तर्गत नै छात्रवृत्ति प्रदान गरिने व्यवस्था वैदेशिक रोजगार प्रवद्र्घन बोर्डले गरेको जनाइएको छ । ८ कक्षासम्मका विद्यार्थीलाई वार्षिक रु आठ हजार र १२ कक्षासम्मका बालबालिकालाई वार्षिक रु १२ हजार रकम छात्रवृत्तिस्वरुप प्रदान गरिने जनाइएको छ । यो वर्ष जिल्लाका विभिन्न २२ बालबालिकाका लागि जम्मा रु एक लाख ४४ हजार रकम आएको छ ।

छात्रवृत्ति उपलब्ध गराउनका लागि जिल्लामा सञ्चालित सुरक्षित आप्रवासन परियोजना, सामी सूचना तथा परामर्श केन्द्रले सम्पर्क समन्वय गर्दै आएको छ । अघिल्लो वर्ष जम्मा तीन जनाले यस्तो छात्रवृत्ति प्राप्त गरेका थिए ।

बोर्डले यस्तो सेवासुविधा प्रदान गरे पनि त्यसका लागि सूचना, जानकारी तथा सम्पर्क समन्वय नहुँदा जिल्लाका कतिपय बालबालिका यस्तो सेवाबाट वञ्चित हुने गरेका छन् । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू