अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१० | Colorodo: 17:25

भुटानी शरणार्थी समस्याबारे छलफल

बिआरटीनेपाल २०७४ भदौ २३ गते १२:५० मा प्रकाशित

काठमाडौँ, २३ भदौ । गृहमन्त्री जनार्दन शर्मा र यहाँस्थित शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्त (युएनएचसीआर)का प्रतिनिधि केभिन जे अलेनबीच आज भएको भेटवार्तामा नेपालमा रहेका भुटानी र तिब्बती शरणार्थी समस्या समाधानका विषयमा छलफल भएको छ ।

गृह मन्त्रालयमा आज भएको भेटमा मन्त्री शर्माले भुटानी शरणार्थी समस्या समाधानका लागि नेपाल तयार भए पनि भुटान तयार नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी वार्ता गरेर भुटानी शरणार्थी समस्या समाधान गर्न चाहन्छौँ तर भुटान सरकार तयार छैन ।”

उहाँले विश्व खाद्य कार्यक्रमले शरणार्थीलाई दिँदै आएको खाद्य सहायता कार्यक्रम रोकेमा थप सङ्कटमा पर्ने चिन्ता व्यक्त गर्नुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । राष्ट्र सङ्घको आगामी महासभामा सहभागी हुँदा शरणार्थी समस्याबारे छलफलका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूले अनुरोध गर्ने जानकारी दिँदै उहाँले गृह मन्त्रालयका तर्फबाट गर्नुपर्ने पहलका लागि आफू तयार रहेको बताउनुभयो ।

युएनएचसीआरका प्रतिनिधि अलेनले भुटानी शरणार्थीको समस्या समाधानका लागि युएनएचसीआर नेपाल सरकारसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेकोे बताउनुभयो । उहाँले सन् २०१६ देखि पुनर्वासमा जान चाहने शरणार्थीको आवेदन लिन छाडिएको तथा सन् १९९५ देखि नै तिब्बती शरणार्थीको दर्ता प्रक्रिया स्थगन गरिएको जानकारी पनि दिनुभयो ।

नेपालमा रहेका शरणार्थीलाई कुनै खालको कागजात उपलब्ध गराउने सकिएमा राष्ट्रिय सुरक्षामा समेत सहयोगी हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “नेपाल र भुटान शरणार्थी समस्या समाधानमा लागिपर्ने विश्वास लिएको छु, हामी दुई देशबीचको वार्ताका लागि सहयोग गर्न तयार छौँ ।”

भुटानी शरणार्थी समस्याबारे राष्ट्र सङ्घका महासचिवले पनि चासो व्यक्त गर्नुभएको उल्लेख गर्दै अलेनले विश्व खाद्य कार्यक्रमले शरणार्थीलाई उपलब्ध गराउँदै आएको खाद्य सहयोग घटाउँदै लगिएको जानकारी दिनुभयो । रासस

फोटो: गुगल सर्च

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू