अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४५ | Colorodo: 21:00

राजधानीमा कर्णाली उत्सव सम्पन्न – कर्णालीमै फर्केर सुन फलाउन उर्जामन्त्री शाहीको आग्रह

बिआरटीनेपाल २०७४ भदौ २० गते १७:०८ मा प्रकाशित

उर्जामन्त्री महेन्द्र बहादुर शाहीले कर्णालीका युवाहरुलाई कर्णालीमै फर्केर कर्णालीको मुहार फेर्न युवाहरुलाई आह्वान गरेका छन् । मंगलबार काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको कर्णाली बृहत सांस्कृतिक उत्सवमा सो अह्वान गरेका हुन् ।

कर्णाली समाज र साँस्कृतिक संस्थानको आयोजनामा भएको सो उत्सवमा मन्त्री शाहीले कर्णाली आफैंमा सम्भावनाले भरिपूर्ण क्षेत्र भएकोले युवाहरुले दक्षतालाई प्रयोग गरेर कर्णालीको मुहार फेर्नतर्फ केन्द्रित हुने आग्रह गरे । ‘राजधानीमा उत्कृष्ट साँस्कृतिक कार्यक्रम गर्न सक्ने युवाले सबै क्षमता लगाएर कर्णालीलाई शासक र कर्णाली बाहिरका जनताको हेर्ने नजर फेर्न सकछन् । ढिलाई किन ?’मन्त्री शाहीले भने ।

त्यस्तै वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशीले कर्णाली कला तथा संस्कृतिले भरिपूर्ण भएको र त्यसको जगेर्ना गर्न कर्णालीका युवाहरुलाई आग्रह गरे । सांसद मोहन बानियाँले कर्णाली इतिहासमा शक्तिसाली भएको र फेरि कार्णालीकै युवाले त्योभन्दा राम्रो गरेर देखाउने बेला आएको बताए ।

कर्णाली विकास आयोगका अध्यक्ष डा. चन्द्रकान्त पौडेलले कर्णालीको विकासका लागि दस वर्षे कार्ययोजना बनाएको र त्यसैअनुसार काम गर्नपर्ने बताए । योजनाअनुरुप काम भए कर्णाली आत्मनिर्भर भएर पनि अन्य क्षेत्रलाई सहयोग गर्न सक्ने अवस्था बन्ने बताए ।
सांस्कृतिक संस्थानका अध्यक्ष राजेश थापाले कर्णाली संस्कृतिले धनी भएकाले यसको संरक्षण र प्रवद्र्धन गर्नु बढी दायित्व कर्णालीबासी भएको बताए ।

त्यस्तै कर्णाली समाजका अध्यक्ष प्रेमबहादुर बोहोराले जबरजस्ती पछाडी पारिएका कर्णालीलाई सकारात्मक तवरले सवल र सक्षम बनाउन कर्णालीका सबै युवा एक भएर लाग्ने बताए । युवा पंक्तिलाई सहयोग गर्न पनि सरकारसँग आग्रह गरे । उत्सवमा कर्णालीका हुम्ला, डोल्पा, मुगु, जुम्ला र कालिकोटका मौलिक सांस्कृतिक कला प्रदर्शन गरिएको थियो । उत्सव युवाहरुद्वारा स्थापित कर्णाली समाज र साँस्कृतिक संस्थानको संयुक्त आयोजना भएको हो ।

उत्सव बिहान ८ बजे राजधानीको भुकृटीमण्डपबाट र्यालीसहति मुख्य शहरबजार परिक्रमपछि पुनः भृकुटीमण्डपमा पुगी मेलामा परिणत भएको थियो । उत्सवमा हजारौं सहभागी थिए । कर्णालीका स्थानीय लरे, हुड्के, दमाह नाच, ठाडी भाका, देउडा, मारी, धामी, मागल, स्याप्रु, सहनाई, तथा झुडालगायत मौलिक कला, बाजा र साँस्कृतिकसहित प्रस्तुति दिइएको थियो ।

उत्सवमा युवा संघका केन्द्रीय सचिव हस्तबहादुर साही, संवाद डबलीकी उपाध्यक्ष देवकी तिमल्सिनालगायतको उपस्थिति थियो । उत्सवलाई नेपाल पर्यटन बोर्डद्वारा प्रवद्र्धित थियो भने संवाद डबली र अनलाइन डबली डट कम (onlinedabali.com) मिडिया पार्टनर रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू