अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४९ | Colorodo: 21:04

मिस पुर्वाञ्चलको टिकटबाट संकलित सम्पूर्ण रकम बाढीपिडितलाई

बिआरटीनेपाल २०७४ भदौ ११ गते ३:२४ मा प्रकाशित

पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिस पुर्वाञ्चलले बाढीबाट क्षत बिक्षत बनेको इटहरीस्थित गैरीगाउ पुनःनिर्माणकालागि सक्दो सहयोग जुटाउने भएको छ । शनिवार सुनसरीको इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थाले यस्तो घोषणा गरेको हो ।

मिस पुर्वाञ्चल आठौ संस्करणको टिकटबाट संकलित सम्पूर्ण रकम इटहरी उपमहानगरपालिकाको सहकार्यमा बाढीपिडितहरूलार्इ प्रदान गर्ने जनाइएको छ । बिगत ८ बर्षदेखी सिल्भर इन्टरटेन्मेन्टले मिस पूर्वाञ्चलको आयोजना गर्दै आएको छ । सिल्भर इन्टरटेन्मेन्टले अघिल्लो बर्ष धरान स्थित आसारा सुधार गृहलाई टिकट बिक्रि बाट उठेको रकम मध्ये आधा ५ लाख ६५ हजार रूपैया सहयोग स्वरूप प्रदान गरेको थियो भने धरानको अपांग पुनर्स्थापना केन्द्र , भेडेटार – नाम्जे स्थित आत्माघर निर्माण, फिस्टुला फ्री नेपाल लगायतको कार्यमा सहयोग गरेको छ ।

यो बर्ष मिस पूर्वाञ्चलको टिकट बिक्रिबाट संकलित रकम सामाजिक कार्यमा लगाउने उद्येश्य स्वरूप इटहरीको गैरीगाउ पूनःनिर्माण तथा राहतमा जुटाउने भएको पत्रकार सम्मेलनमा सिल्भर इन्टरटेन्मेन्टका अध्यक्ष दिपक बनेपालीले बताउनु भयो ।


सम्मेलन अघि सम्पूर्ण प्रतियोगी सहित आयोजक टोलीले इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमसंग कार्यालयमा अनि भेटघाट गरेको थियो ।यसरि बाढीपिडितलाई सहयोग गर्ने मनसायको कुरा सुनेपछि उपमेयर गौतमले राम्रो काम भन्दै सराहना गर्नु भएको थियो ।सम्पूर्ण मिस पुर्वान्चलका प्रतियोगीले बाढीले क्षतिग्रस्त इटहरीस्थित गैरीगाउको अवलोकन समेत गरेका थिए । करिब ८१ घरले अब खानका लागि बह्न्दा पनि बासका लागि आवस्यक सहयोगको खाँचो रहेको बताएका थिए ।

 

प्रतिक्रिया