अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५२ | Colorodo: 06:07

जन्म दिन मनाउन सुन्तली बर्दिबास पुगिन् (फोटो फिचर)

बिआरटीनेपाल २०७४ असार १६ गते १०:०१ मा प्रकाशित

हास्यकलाकार कुञ्जना घिमिरे (सुन्तली)ले मुसहर बालबालिकासँग आफ्नो जन्म दिन मनाएकी छिन् । महोत्तरी बर्दिबासमा रहेका मुसहर बालबालिकालाई टिफिन बक्स वितरण गरेर जन्म दिन मनाएकी हुन् । मुसहर बालबालिकाले सम्मान र शुभेच्छासहित कुञ्जनाको जन्म दिनलाई विशेष बनाइदिएका छन् । उनीहरूले गरेको सम्मानले आफूलाई भावुक बनाएको कुञ्जना घिमिरेले बताएकी छिन् । मुसहर बस्तीका बालबालिकामा आएको परिर्वतन देखेर आफूहरू भावुक बनेको उनको भनाई छ । जुन परिर्वतनको अपेक्षा गरेका थियौँ, त्यो देख्न पाउँदाको आनन्द शब्दमा व्यक्त गर्न सकिरहेको छैन, कुञ्जनाले भनिन् । 

‘मुसहर बालबालिका नियमित पढ्न थालेका छन्, तर उनीहरूलाई घरबाट खाजा लैजानका लागि समस्या छ । त्यसैले जन्म दिनमा हुने खर्चले टिफिन बक्ससँगै केही शैक्षिक सामग्री किनेर दिएँ, उनीहरुसँगै रमाइलो गरेर जन्म दिन मनाएँ’ सुन्तलीले भनिन् ।

सरसफाई अभियानका क्रममा मुसहर बस्ती पुगेका धुर्मुस सुन्तलीले गएको वैशाखमा ५३ परिवार मुसहरहरुका लागि एकीकृत बस्ती हस्तारण गरेका थिए । बालविवाह, अशिक्षा, गरिबीलगायतका समस्याबाट पिल्सीएको मुसहर समुदायमा धुर्मुस सुन्तली प्रवेश गरेपछि निकै परिर्वतन भएको थियो । उनीहरूकै कारण बस्तीका १ सय भन्दा बढी बालबालिका नियमित विद्यालय जान सुरु गरेका थिए । 

त्यही परिर्वतनबाट प्रभावित भएर धुर्मुस सुन्तलीले मुसहर नमुना एकीकृत बस्ती निर्माण गरेका थिए । बस्ती हस्तान्तरण गरिसक्दा मुसहरहरुप्रतिको माया अझै बढेर गएकाले जन्म दिन मनाउन धुर्मुसलाई लिएर बर्दिबास पुगेको कुञ्जना घिमिरेले बताएकी छिन् । सुन्तलीको जन्म दिनमा संयोगवस मुसहर बस्ती अवलोकनका लागि कलाकारहरू शङ्कर बिसी, पशुपति शर्मा, मञ्जु पौडेल, रमेशराज भट्टराई, जानुका केसी, पल्पसा डंगो, सुशिला निरौला, जुनु रिजाल, रामचन्द्र फाफ्लेलगायत पनि मुसहर बस्ती पुगेका छन् । 

धुर्मुस सुन्तलीले मुसहर बस्ती निर्माण पश्चात् नमुना नेपाल निर्माणको तयारीमा जुटेका छन् । नेपालका विविध भाषा, संस्कृतिको प्रतिनिधित्व हुने गरी निर्माण हुने नमुना नेपालमा नेपालको चिनारीको रूपमा रहेका लुम्बिनी, धरहरा, स्वयम्भु, पशुपतिलगायतका मन्दिर र मस्जिद निर्माण गर्ने उनीहरूको योजना छ । उक्त नमुना नेपालमा दुख र पिडामा रहेका सय भन्दा बढी पीडित परिवारलाई राखिनुका साथै पर्यटकीय गन्तव्य पनि बनाइने सिताराम कट्टेल बताउँछन् । पर्यटकबाट सङ्कलन भएको रकमले अन्य सामाजिक कामहरू गर्ने उनको भनाई छ । 

 

प्रतिक्रिया