अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२७ | Colorodo: 03:42

मोरङमा एमाले र कांग्रेसको बृहत र्‍याली संगै उमेद्वारी दर्ता 

बिआरटीनेपाल २०७४ असार ४ गते ७:१९ मा प्रकाशित

अन्यत्र झैं जिल्लाको पथरीशनिश्चरे नगरमा पनि असार १४ मा हुने स्थानीय तह निर्वाचनको सरगर्मीसँगै आज शान्तिपूर्ण र उत्साहपूर्वक उम्मेदवारी दर्ता भएको छ । चुनावी गतिविधि र नगरवासीको अभिमत अनुसार नगरमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच प्रतिष्पर्धा हुने देखिएको छ ।

उम्मेदवारी दर्ताका लागि एमालेले कविर ५ हजार मानिसको सहभागितामा झाँकी सहितको र्याली निकालेको छ । कांग्रेसले ३ हजार बढीको संख्यामा उसैगरी र्‍याली निकालेको छ ।

विहान ८ बजे स्वतन्त्र उम्मेदवारको उम्मेदवारी दर्ताबाट सुरु भएको कार्यक्रममा माओवादी केन्द्र, माओवादी क्रान्तिकारी, कांग्रेस, एमाले, राप्रपा, नयाँशक्ति र संघीय समाजवादी फोरम, लिम्बूवान पार्टीले क्रमैसँग उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ताका क्रममा एमालेले चोकमा कोणसभा समेत गरेको छ । सभामा एमालेका केन्द्रीय सदस्य हिक्मत कार्कीले यस अघि सम्पन्न निर्वाचनको परिणाम सहित अव आउने परिणामले स्थानीय तहको निर्वाचनमा मुलुकलाई समृद्ध पार्ने जिम्मेवारी जनताले एमालेलाई दिएको जनाउनु भएको छ ।

उहाँले बृद्ध सहितका भत्ताहरु बृद्धि गरेर प्रत्येकको मन मनमा एमालाई सदा अमर भएर बसाइरहने एमालेको थप जनमुखी कार्यक्रमहरु रहेको सुनाउनु भएको छ ।

सो अवसरमा १ नम्बर प्रदेश सदस्य रामकुमार बस्नेतले एमालेका लोकप्रीय कार्यक्रम र राष्ट्यिताप्रतिको दृढताले एमाले यो समयका लागि उपयुक्त पार्टी सावित भएको बताउनु भएको छ ।

कार्यक्रममा, वैद्य माओवादीका जिल्ला सदस्य रामकुमार राई, लालबहादुर राई सहितका कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । १० वडा रहेको नगरका लागि नगर प्रमुख र उपप्रमुख सहित कुल ५२ जना उम्मेदवार निर्वाचित हुनेछन् ।

साविक पथरी, शनिश्चरे र हसन्दह गाउँ विकास समिति मिलेर बनेको सो नगरपालिकामा साविक पथरीमा स्थानीय निर्वाचन ०४९ र ०५४ मा एमालेले जीत हाँसिल गरेको थियो ।

०४९ मा तिलक वान्तवा राई र ०५४ मा मोहन तुम्वापो अध्यक्षमा निर्वाचित बन्नु भएको थियो । शनिश्चरेमा दुवै निर्वाचनमा एमालेका मोहनकुमार न्यौपाने निर्वाचित हुनु भएको थियो । हसन्दहमा ०४९ मा कांग्रेसका प्रकाश अधिकारी र ०५४ मा एमालेका माधव खतिवडा गाविस अध्यक्षमा निर्वाचित बन्न सफल हुनु भएको थियो ।

नगरमा २० मदतान केन्द्र र ४६ मतदानस्थल छन् । नगरमा मतदाताको संख्या ४० हजार १२ रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मोरंगको उर्लाबारी, झापाको दमक लगायतका क्षेत्रमा समेत उत्साहपूर्वक र शान्तिपूर्ण रुपमा उम्मेदवारी दर्ताको कार्यक्रम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू