अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५५ | Colorodo: 06:10

नेपाल औषधी उध्योग पुन सन्चालनमा

बिआरटीनेपाल २०७४ वैशाख २५ गते १२:३९ मा प्रकाशित

नेपाल औषधी उद्योगले आजबाट पुन औषधी उत्पादन सुरु गरेको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल औषधी उद्योग लिमिटेड केही समयदेखि बन्द अवस्थामा थियो । उद्योग मन्त्री नवीन्द्रराज जोशीले आफ्नो कार्यभार सुरु गरे लगत्तै सरकारी स्वामित्वमा रहेर विभिन्न कारणले विगतमा बन्द रहेका सरकारी उद्योगहरुलाई प्राथमिकताका आधारमा पुन सञ्चालन गर्ने नीति लिनु भए सँगै नेपाल औषधी उद्योगले पुनर्जिवन पाएको हो । उद्योग मन्त्री जोशीकै पहलमा नेपाल सरकारले औषधी उत्पादनको लागि विश्व स्वाथ्य सङ्गठन ध्ज्इ ले तय गरेको कुशल निर्माण विधि Good Manufacturing Practice सुरु गर्नको लागि नेपाल सरकारको तर्फबाट १४ करोड ६५ लाख रुपैयाँ ऋण स्वरूप नेपाल औषधी लिमिटेडलाई उपलब्ध गराउने निर्णय गरेको थियो । जस अन्तर्गत पहिलो किस्ता बापत ६ करोड ४८ लाख रुपैंया निकासा भई नेपाल औषधी लिमिटेडले पहिलो चरणमा आजबाट जीवन जलको उत्पादन सुरु गरेको छ । आगामी ३ महिना भित्र सिटामोल लगायत Non Penicillin ग्रुपका ट्यावलेटहरु उत्पादन गरी बजारमा पुर्‍याउने लक्षका साथ नविकरण र आवश्यक मेशिनहरु खरिद गर्ने कार्यको ठेक्का सम्झौता गरी द्रुत स्तरमा कार्य अगाडी बढिरहेको छ ।

दोस्रो चरणमा नेपाल औषधी लिमिटेडले अत्यावश्यक र बजारमा खपत बढी भएका १५ भन्दा बढी प्रकारका नयाँ औषधी समेत उत्पादन गर्ने लक्ष लिई सो अनुरूप कार्य अगाडी बढाएको छ । यसै गरी तेस्रो चरणमा उद्योगले क्याप्सुल, पेनिसिलिन गु्रपका औषधी, झोल तथा मलमहरु उत्पादन गर्ने र Intravanous Fluid – (IVF) शाखा समेत सञ्चालनमा ल्याई स्लाईन तथा Hemodialisis Fluid जस्ता अति आवश्यक औषधीहरुको उत्पादनलाई समेत अगाडी बढाउने प्रस्ट कार्यसूचीका साथ अगाडी बढिरहेको छ । राष्ट्रिय स्वास्थ्य नीति २०७१ को उद्धेश्य अनुरूप स्वास्थ्य मन्त्रालय सँग समन्वय गरी नेपाल सरकारबाट निःशुल्क वितरण गरिने ७० प्रकारका औषधी तथा नेपाल सरकारले सूचिकृत गरेका अत्यावश्यक औषधीहरु नेपाल औषधी लिमिटेडबाट उत्पादन गरी नेपाल सरकारलाई उपलब्ध गराउने गरी कार्य योजना अगाडी बढाउने दिशामा समेत काम भइरहेको पत्रकार साथीहरूलाई जानकारी गराउँदछौं ।

नेपालमा आधुनिक औषधी उत्पादन सरकारबाटै गर्ने उद्धेश्यका साथ कम्पनी ऐन २०२१ अन्तरगत नेपाल औषधी लिमिटेडको स्थापना २०२९ सालमा भएको थियो । विगतमा नेपाल औषधी उद्योगले १२० थरीका औषधीहरु उत्पादन गरी बजारमा विक्री गर्दै आइरहेको थियो । २०६६ साल देखि सो औषधी उद्योग पूर्ण रूपमा बन्द अवस्थामा रहेको थियो । नेपाल औषधी लिमिटेडले पुन उत्पादन सुरु गरेको जीवन जलको उत्पादन कार्यको उद्योग मन्त्री नवीन्द्रराज जोशीले आज एक कार्यक्रमका बिच शुभारम्भ गर्नुभयो ।

विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्ड अनुसार गुणस्तरिय औषधी उत्पादन गर्न नेपाल औषधी लिमिटेडले नयाँ प्रविधि अनुरूप २७ भन्दा बढी प्रकारका आधुनिक प्रविधिले युक्त गुणस्तर जाँच गर्ने उपकरणहरू जडान गरिसकेको छ । स्थापना कालदेखि नै उद्योगको मुख्य उद्धेश्यको रूपमा रहेको प्रतिस्पर्धी बजार मूल्य कायम गर्ने क्रममा आजबाट पुन उत्पादन सुरु भएको जीवनजलको मूल्य हाल बजारमा प्रचलित अन्य Oral Rehydration Salt को प्रचलित मूल्यभन्दा कम राखिएको छ । जसको प्रत्यक्ष फाइदा आम उपभोक्ता वर्गलाई पर्न जाने छ ।

आम जनतालाई सस्तो सुलभ र गुणस्तरिय औषधी प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउने मुख्य उद्धेश्यका साथ नेपाल औषधी लिमिटेडलाई पुनर्जिवन दिइएको मन्त्री जोशीले त्यस अवसरमा बताउनु भयो । उद्योग मन्त्रालय अहिले मुलुकमा औद्योगिक वातावरण निर्माण गरी बढी भन्दा बढी रोजगारी श्रृजना गर्ने दिशामा क्रियाशील रहेको भन्दै मन्त्री जोशीले मुलुकमा उद्योग गर्ने वातावरण छ भन्ने सन्देश निजी क्षेत्रलाई प्रवाह गर्न पनि सरकारले बन्द अवस्थामा रहेका सम्भावना भएका सरकारी उद्योगहरुलाई पुनर्जिवन दिने अभियान सञ्चालन गरेको बताउनु भयो ।

नेपाली काँग्रेसले सन् ९० को दशकमा सुरु गरेको आर्थिक उदारिकरणको नीतिलाई थप उदारिकण गर्न उद्योग मन्त्रालय अहिले दोस्रो चरणको आर्थिक सुधारमा रहेको मन्त्री जोशीले बताउनु भयो । यसका लागि उद्योग मन्त्रालयले नीतिगत सुधारलाई उच्च प्राथमिकतामा राख्दै मन्त्रालय र मन्त्रालय अन्तर्गतबाट प्रदान गरिने प्रशासनिक सेवालाई चुस्त, दुरुस्त र पारदर्शि बनाउने अभियान सुरु गरिसकेको मन्त्री जोशीले बताउनु भयो ।

उद्योगीहरुको समग्र समस्यालाई उद्योग मन्त्रालयले पूर्ण रूपमा समाधान गर्ने हिसाबले मन्त्रालय अघि बढिरहेको भन्दै मन्त्री जोशीले यसको सुरुवात उद्योग विभागमा एकद्धार प्रणालीको स्थापना गरी सुरु गरिसकेको बताउनु भयो । नेपालमा लगानी गर्न विदेशी लगानी कर्ताहरु समेत उत्साहित रहेको आफूले पाएको भन्दै मन्त्री जोशीले अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा व्यक्त लगानी सम्बन्धी प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्न उद्योग मन्त्रालयले छुट्टै संयन्त्र निर्माण गरेर कार्यान्वयन अगाडी बढाएको बताउनु भयो ।

उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादेले नेपाली काँग्रेसले आम उपभोक्ताले सस्तो र सुलभ मूल्यमा गुणस्तरिय औषधी पाउनु पर्छ भन्ने मान्यताका साथ सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेडलाई पुन सञ्चालनमा ल्याएको बताउनु भयो ।

उद्योग मन्त्रालय अन्तरगत रहेका अन्य बन्द उद्योगहरुलाई पनि क्रमशः पुन सञ्चालनमा ल्याउने उद्धेश्यका साथ मन्त्रालयले काम गरिरहेको राज्यमन्त्री कञ्चनचन्द्र वादेले बताउनु भयो ।

नेपाल औषधी लिमिटेडका महाप्रवन्धक रोभस कुसुम सुवेदीले उद्योग मन्त्रालयको दृढ अठोट, आँट बल र सहयोगकै कारणले गर्दा उद्योगलाई WHO मापदण्ड GMP अनुरूप नविकरण गरी पुन उत्पादन सुरु गर्न सम्भव भएको बताउनु भयो । उद्योगले आगामी ३ महिना भित्रै सिटामोल लगायत Non Penicillin ग्रुपमा ट्यावलेटहरु उत्पादन गरी बजारमा ल्याउने दृढ उद्धेश्यका साथ काम गरिरहेको उहाँले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू