अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०४ | Colorodo: 22:19

‘मैले काठमाडौं छोडेको होइन, काठमाडौंले चाहिँ मलाई छोडेको हो’- कमेडी गायक श्रीकृष्ण लुइँटेल

बिआरटीनेपाल २०७३ चैत ३१ गते ६:४० मा प्रकाशित

२०५३\०५४ सालतिरबाट कमेडी गीत मार्फत आफूलाई यो क्षेत्रमा होमेका हाँस्य कलाकार तथा कमेडी गायक श्रीकृष्ण लुइँटेल ‘बोको दारी’अहिलेसम्म १२ बटा एल्वम निकालेका छन् । उनको ०५६ सालमा पहिलो एल्वम ‘इटहरी डट कम’ बजारमा आएको थियो भने उनको पहिलो गीत ‘सुन है साथी मेरो कहानी मलाई नि आयो झिल्के जवानी….’ भन्ने थियो । उनको ‘मर्छु कि क्या हो…’ भन्ने एल्वम को ‘हयाङ्मा हो हयाङमा….’ भन्नेले पनि राम्रै चर्चा पायो । ‘बोके दारी’ उनको चौथो एल्वम त्यस पछि भने उनले पछाडि फर्किएर हेर्नु परेको छैन ।

‘ए बा किन्देउ न भटभटे’ले पनि उनलाई आफ्नो भिन्न परिचय दिलायो भने गत वर्ष ‘पागल बनायो नारायन पापी फेसबुकले’ बोलको गीत राजधानीको एउटा टिभीले ‘ब्याण्ड’ गरिदियो । त्यो कुरा समाचारमा आएपछि गीत झनै हिट भयो । श्रीकृष्ण पनि हिट भए । कमेडी गायनमा अन्य केही प्रतिभा उदाय पनि निरन्तरता दिन भने सकेनन् । उनले यस क्षेत्रमा एक क्षत्र राज गरेका छन् र सफल पनि ।

पछिल्लो उनको ‘बब्लु’ भन्ने १२औं एल्वम बजारमा छ । जसमा समाजमा भएका विकृति विसङ्गीतहरुलाई उठाएका छन् । ‘बब्लु’ एल्बममा दशवटा गीत समावेश छन् । ‘नलगाउ छोटा कपडा’, ‘ओके छ त’, ‘डल्लेकी बहिनीले’, ‘बाख्रा स्टाइल’, ‘कलियुगको धर्म’लगायतका गीत यो एल्वमका अलिक बढी मनपराइएका गीत हुन् । एल्वममा स्वर, सङ्गीत, शब्द सबै उनकै रहेको छ भने गीतको भडियो निर्देशन पनि उनले नै गरेका छन् ।

विकृति विसङ्गतीका कुरालाई मिठो शैलीमा गायकी शैलीमा, मान्छेलाई पच्ने खालको तरिकाले, समाजमा कस्ता घटना घटछन ति कुरालाई टप्प टिपेर ल्याएर प्रस्तुत गर्ने गर्छन आफ्नै स्टाइलमा अर्थात बोके स्टाइलमा र चर्चा पाउने गर्छन उनका गीतले ।

देशमा मात्र होइन देश बाहिर पनि त्यतिकै रुचाइनछन् उनका गीत । भारतको नेपाली भाषी भएका ठाउँहरुमा पनि बढी मन पराइने नेपाली गीतमा उनका गीत अग्रस्थानमा आउन सफल भएको देखिन्छ । बालक, युवा, बृद्ध सबैलाई, सवै उमेरका लागि उनका गीतका शब्दले छुन्छ सायद त्यही भएर होला नै बढी मन पराइएको पनि ।

उनी आफ्ना प्रायः सबै गीतमा आफैँ देखिने पनि गर्छन् । त्यसो त आफैँ गीत पनि लेख्ने गर्छन् । उनले चलचित्र माइतीको गीत ‘इटहरी बजारैमा…’, मनै त हो, संगम, त्रिवेणीजस्ता चलचित्रका पनि गीतकार हुन उनी । त्यसो त कुनै बेला नेपाली चलचित्रमा सक्रिय थिए उनी । उनले चिफ असिस्टेन्ट डाइरेक्टर धेरै चलचित्रमा काम गरेका छन् । ‘म आफ्नो गन्तवय भन्दा बाहिरतिर गइरहेको छु भन्ने लाग्यो र हाम फाले यता तिर’ उनी भन्छन् ।

कस्ता शब्द राख्ने, कस्तो तरिकाले प्रस्तुत गर्ने भन्ने कुरा गीत लेख्दा पहिला कन्सेप्ट बनाउने अनि त्यसलाई उतार्ने गरेको बताउँने श्रीकृष्ण अर्कोलाई भन्दा नबुझला, आफ्नो कन्सेप्ट नमरोस भनेर आफैँले अभिनय पनि गर्ने गरको बताउँछन् ।

चलचित्र पनि काम गर्दा निर्देशन तिर हात हाल्न मन लागेन भन्ने जिज्ञासामा दुःखको समयमा बाँच्नका लागि गरेको काम थियो त्यो, केही सिकाइ पनि भयो, अहिले गरेको काम चाहिँ बाच्नका लागि भन्दा पनि हाँस्नका लागि गरेको काम हो, सवैलाई हसाउँ आफू पनि हासौ भन्ने हो र गाउँनु मेरो रहर मात्र नभएर मैले आफ्नो भविष्य यसैमा देखेर यसैलाई लक्ष्य बनाएर अघि बढे भन्छन् ।

धेरैको सपना काठमाडौंमै केही गरौ ठूलो ठाउँ हो त्यहाँबाट छिट्टो ‘किल्क’ हुन सकिन्छ भन्ने हुन्छ तर श्रीकृष्णले आफैँनै ठाउँबाट शुरु गरे र अहिले सफल भएका छन् । ‘काठमाडौंमा मात्र बसेर मैले दिन खोजेका कुरा दिन नसक्ने भए र म फर्किए, मैले जुन गाउँका टिपिकल कुरा गर्छु त्यो त यहाँ बसेर सम्भव थिएन भन्छन् । अझ उनको भनाइमा ‘कलाकारका लागि काठमाडौं बस्ने ठाउँ नै होइन ।’ उनलाई काठमाडौं त नर्कमा बसेर खिर खाए जस्तो लाग्छ रे ।

नेपाल बाहिर कतार, ओमन, दुबई, साउथ कोरिया, इजरायल, बर्मा, थाइलायण्ड, मलेसिया र भारत लगायतका मुलुकमा गएर कार्यक्रम गरेका उनी संघर्षका दिनले नै अहिलेको सफलता दिलाएको ठान्दछन् । तर, पछिल्लो समयमा कला भन्दा पैसाले धेरै कुरा गरेको उनको बुझाइ रहेको छ । ‘ए यससँग त यस्तो राम्रो कला छ यसलाई उठाउँनु पर्छ भन्ने मानसिकता छैन, पहिला जस्तो अहिले मिहिनेत गर्नु पनि पर्दैन, अहिले सौख भएको छ धेरैको, यसले गर्दा जसले यसैलाई लक्ष्य बनाएर हिँडेका छन् तिनीहरुलाई गाह्रो छ’ उनी भन्छन् ।

पछिल्लो समयमा एल्वम बेचेर आर्थिक समृद्धिको सपना पुरा नहुने बताउँने कृष्ण एल्वम चलेपछि लगानी चाहिँ उठने बताउँछन् । ‘तर, स्टेज कार्यक्रमले चाहिँ राम्रै हुन्छ’ भन्छन् । ‘काइन्ड हर्ट’ (दायालु मन), मार्फत विभिन्न सामाजिक कार्यमा पनि आफूलाई संलग्न गराउँदै आएका उनले यस्ता कार्यले सुखानुभुती हुने दाबी गर्छन । यो संस्थाले पुराना कपडाहरु पनि कलेक्सन गरेर वितरण गर्ने देखि लिएर अन्य सहयोगी कामहरु पनि गर्दै आएको छ । पहिला काम गरौ, काम गरे पछि त्यसको मुल्यांकन त भइ हाल्छ नि भन्ने लाग्छ उनलाई ।

गाउँका टिपिकल कुरा देशभरका साथै विदेशमा जहाँ जहाँ नेपाली भाषी छन् त्यहाँ त्यहाँ देखाउने र सुनाउने आफ्नो चाहना भएको उनी बताउँछन् । ‘यहाँ बारीमा, भीरमा फूल्ने फूल काठमाडौंमा गमलामा फुल्छ । फूलको अस्तित्व त यहाँ छ नि !’ उनी भन्छन्, ‘मैले काठमाडौं छोड्को होइन, काठमाडौंले चाहिँ मलाई छोडेको हो ।’ उनी काम पर्दामात्र काठमाडौं आइजाई गर्छन् । मोफसलमा बसेर देश विदेशका कार्यक्रममा चर्चा पाइरहेका श्रीकृष्ण लुइटेल ‘बोके दारी’का आउँदा दिनका क्रिएशनले यो क्षेत्र अझ समृद्ध हुने छ अहिलेलाई उनीसँग यही अपेक्षा ।

प्रतिक्रिया