अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४४ | Colorodo: 12:59

प्रजापतिले पदस्थापना गराए हराएको मूर्ति

बिआरटीनेपाल २०७३ चैत २९ गते १०:०४ मा प्रकाशित

साविक भक्तपुर नगरपालिका वडा नं. १ हाल भक्तपुर नगरपालिका वडा नम्बर ९ का तौलाछेंका स्थानीय विष्णुप्रसाद प्रजापतिले ब्रम्हायणी देवी मन्दिरमा नयाँ मूर्ति पदस्थापना गरेका छन् । गत बैशाखमा मन्दिरमा रहेका दुवै मूर्ति हराएपछि अहिलेसम्म मूर्ति फेला नपरेको भन्दै स्थानीय प्रजापतिले वर्षदिनमा एक पटक गरिने बिस्केट जात्रामा खटमा राखेर ब्रम्हायणी देवीको जात्रा गर्नका लागि मूर्तिको पूजा गर्नुपर्ने हुन्छ । तर मूर्ति वर्षदिनमा पनि फेला नपरेपछि प्रजापतिले स्थानीय टोलबासी, ब्रम्हायणी देवी जात्रा सरोकार समिति र गुठीयारको सहमतिमा एकवटा मूर्ति पदस्थापना गरेका हुन् ।

विगतमा सो मन्दिरमा एक मूर्ति रहेकोमा मूर्ति हराएपछि दाताले नयाँ मूर्ति पदस्थापना गरेपछि हराएको मूर्ति फेला परेर दुईवटा मूर्ति रहेका थिए । तर गत बैशाख २८ गते मन्दिरको दुवै मूर्ति हराएपछि यो वर्षको जात्रा रोकिने अवस्थामा पुगेको भन्दै प्रजापतिले तीन महिना लगाएर बनाएको नयाँ मूर्ति पदस्थापना गरेका हुन् ।

स्वर्गीय रामभक्त (किसी) प्रजापतिको स्मृतिमा श्रीमती मोहनवेथी र सम्पूर्ण परिवारको नाममा गत १९ चैतमा गुठीयारको सहमतिमा विभिन्न विधि प्रक्रिया पूरा गरेर मूर्ति पदस्थापना गरेको बताए । चाँदीको धावा र किकिंपा चढाइएको सो मूर्ति १५ ईन्च र ८ किलो तौल रहेको छ ।

हरेक वर्ष पुरानो वर्षको अन्तिम दिन ब्रम्हायणी देवी मन्दिरमा खट राखेर जात्रा गरिने चलन छ । बिस्केटको अवसरमा पाँच दिनसम्म चल्ने सो जात्रा मसान्तका दिन ब्रम्हायणी पीठसम्म लागि एक रात राखिन्छ । नयाँ वर्षको दिन सो खट च्याम्हासिंहस्थित ध्ःवाकासी गणेश मन्दिरमा ल्याई सोही रात त्यही मन्दिरमा राखेर भोलीपल्ट २ गते महेश्वरी, ब्रम्हायणी, श्वेत भैरव र तौलाछे गणेश र बालकुमारीको खट एकआपसमा जुधाएर जात्रा गर्ने चलन छ । बैशाख ३ गते भने सूर्यमढीदेखि ईनाचोसम्म खट जुधाई ब्रम्हायणी जात्रा सुरु गर्ने प्रचलन रही आएको प्रजापतिले जानकारी दिए ।

प्रजापतिका अनुसार बैशाख ४ गते संगुन पूजा गरी टोलटोलमा खट घुमाएर मूल देवता घरमा लगेर जात्रा समापन गरिन्छ । प्रजापतिले जात्रालाई रोकिनबाट जोगाई परम्परादेखि चल्दै आएको जात्रालाई निरन्तरता दिन मूर्ति पदस्थापना गराई सहयोग गरेको बताए । विगतदेखि नै मूर्ति राख्ने ईच्छा भएपनि यस पटक भने सममयै मूर्ति बनाउन सफल भई जात्राको अवधि अगावै मूर्ति पदस्थापना गरिएकोमा खुसी ब्यक्त गरे । भक्तपुरमा बिस्केट जात्रा आठ रात नौ दिनसम्म सञ्चालन हुन्छ । यस वर्ष २८ चैतबाट सुरु भएको जात्रा वैशाख ५ गते सम्पन्न हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू