अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२२ | Colorodo: 07:37

सिनेमा निर्माताले स्कुल निर्माण गरे

बिआरटीनेपाल २०७३ चैत १४ गते १६:५१ मा प्रकाशित

काठमाडौँ मार्च २५, नेपालमा गएको प्रलयकारी महा-भूकम्पछि निर्देशक, निर्माता तथा कलाकार आकाश अधिकारीले विभिन्न विकट गाउँमा पुगेर विद्यालय भवन निर्माण गरिरहेका छन् ।

भूकम्पले क्षति पुर्याएका तर राज्य र अन्य निकायको ध्यान पुग्न नसकेको स्थानमा आकाशले ‘आशाको ज्योति नेपाल’ नामक संस्थाबाट विद्यालय भवन निर्माण गरिरहेका छन् । उनले, ललितपुरको मगर गाउँ र नुवाकोटको थानसिङ्गमा विद्यालय भवन निर्माण गरिसकेका छन् । उनै, आकाशले शनिवार नुवाकोटको शिवपुरी गाउँपालिकाको छापमा ३ कोठे विद्यालय भवन निर्माण गरेर हस्तान्तरण गरेका छन् ।  

श्री बोर्लाङ्ग भूमे निम्न माध्यमिक विद्यालयमा आकाशले ३ कोठे भूकम्प रहित भवन निर्माण गरेर हस्तान्तरण गरेका हुन् । शनिवार विद्यालयमा आयोजित कार्यक्रममा पुगेर आकाशले भने “मलाई सुविधा सम्पन्न स्थानमा भन्दा पनि राज्य र अन्य निकायको आँखा नपुगेको स्थानमा सहयोग गर्न मन लाग्छ । साना साना नानीहरू विद्यालयको कक्षा कोठा, भवन राम्रो भएन भने विद्यालय नै आउन छाड्छन् । मलाई उनीहरूको भविष्यको खुबै चिन्ता लाग्छ । यसैले म छापमा आइपुगेको हु” ।

आकाशले नव–निर्मित भवनमा कक्षा १, २ र ३ कक्षाका विद्यार्थीलाई राख्न सुझाव पनि दिए । भवन निर्माण कार्यक्रममा पुग्दा आकाशसहित उनको टिमलाई विद्यार्थीहरूले स्वागत गरेका थिए । साथमा, कार्यक्रममा आकाशले विद्यालयका विद्यार्थीस“ग नृत्य पनि गरेका थिए । 

कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक, व्यवस्थापन समितिका अध्यक्ष, विभिन्न राजनीतिक दलका नेताहरूले आकाश र उनको ‘आशाको ज्योति नेपाल’ नामक संस्थालाई भवन निर्माण गरिदिएकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

भवन निर्माणमा इटालीमा रहेको राम साथी, इको हिमाल, इ पेल्लिवादी लगायतले साथ दिएका छन् । आकाशले आफू सधैँ नै समाजसेवामा यसरि नै अग्रसर हुने बताएका छन् ।  

प्रतिक्रिया