अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४३ | Colorodo: 21:58

काँग्रेस परित्याग गर्दै हरीनारायाण रैनियारले भने: निषेधको राजनीतिले न देशको भलो गर्छ न त जनताको (अन्तरवार्ता)

बिआरटीनेपाल २०७३ चैत ४ गते ८:५७ मा प्रकाशित
पर्सा जिल्लाको पोखरीया नगरपालिकामा जन्मिनु भएका हरीनारायाण रौनियारले नेपाली काँग्रेस पार्टीमा विद्यार्थीकालदेखि नै विद्यार्थी संगठनमा आबद्घ भई सक्रिय रुपमा योगदान गर्दै आएका थिए, तर एक्कासी उनले नेपाली काँग्रेस पार्टी परित्याग गरी मधेशवादी दल संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्ने घोषणा गर्नु भयो । नेपालकै सबभन्दा पुरानो, लोकतान्त्रिक पार्टीमा आफ्नो जीवनको अमूल्य समय समपर्ण गरेका रौनियारले एक्कासी पाटी परित्याग गर्ने घोषणा गर्नु पछाडीका कारण, राष्ट्रिय ठूलो दल परित्याग गरि क्षेत्रीय पार्टीमा आवद्ध हुनु पछाडीका कारण लगायत समसामयिक राजनीतिक अवस्थाबारे स्वतन्त्र पत्रकार कन्हैया गुप्तासन्तोष मिश्रले गर्नु भएको कुराकानीको सार संक्षेप :–

-जीवनको लामो समय नेपाली काँग्रेस पार्टीमा बिताइसकेपछि तपाईंले एकाएक पार्टी परित्याग गर्नुपर्ने सोंच किन बनाउनु भयो?

नेपाली काँग्रेस पार्टीमा करिब २५ वर्ष देखि आफ्नो जीवनको अमूल्य समय अर्पण गरेको र मैले आफ्नो पढाई–लेखाई गरेर घर फर्कें, त्यसपछि ०३५ साल देखि करिब ०४८ सालसम्म म एकदमै सक्रिय रुपमा रहें । जब निर्दल–बहुदलको जनमत संग्रहको निर्वाचन भयो त्यतिबेला म काँग्रेसको विद्यार्थी संगठनको विद्यार्थीमा रहेर बक्सा ल्याउने, भोट ल्याउने काममा अग्र रुपमा रहेर भूमिका निर्वाह गरेको थिएँ । त्यसपछि हाम्रो जिल्लाको पोखरियामा जब गणेशमान सिंह जी आउनु भएको थियो त्यो बेला उहाँको हातबाट म सक्रिय सदस्यता लिएर काम गर्दै आएको थिएँ । त्यसबेला जतिखेर नेपाली काँग्रेस पार्टीको आमसभामा १५/२० जना मानिसको उपस्थिति हुन्थ्यो तर २०० जना आर्मीको घेरा भित्रमा रहेर पनि काँग्रेस पार्टीको लागि काम गर्न राजनीतिमा प्रवेश गरेको थिएँ । त्यसपश्चात पटक पटक आन्दोलन हुँदै ०४६ सालमा आन्दोलन पश्चात हाम्रो पार्टीबाट प्रधानमन्त्री किशुन जी बन्नु भएको थियो । अनि उहाँसँग २०४८ सालमा उहाँको हातबाट सक्रिय सदस्यताको प्रमाणपत्र पाएको थिएँ । सक्रिय सदस्यताको प्रमाणपत्र लिएर पार्टीको हितमा काम गर्न मैले कहिले पनि पदीय दायित्व र भूमिकामा आइन । पदीय दायित्व बिना नै सक्रिय सदस्यको रुपमा रही पार्टीको लागि काम गर्दै गएँ । मैले कहिल्यै पनि वडा सदस्यमा समेत चुनाव नलडेको व्यक्ति हुँ ।
यसैबीच मधेश आन्दोलनलाई जुन तरिकाले बेवास्ता गरी अहिलेको संविधान बन्यो, अहिले मधेश आन्दोलन भएर संविधानमा अस्वीकारिता बढ्यो यो अस्वीकारितालाई उसको अधिकार भएन त भनेर काँग्रेस पार्टीलाई अग्र भूमिका खेल्नुभन्दा पनि दक्षिण पन्थी र उत्तर पन्थीको कुरा हुन्छ । खासगरी एउटा कम्युनिष्ट ग्रुपले जुन हाम्रो सुशील कोइराला प्रधानमन्त्री भएको बेलामा राष्ट्रपतिले पनि यो संविधान सबैलाई मान्य हुँदैन भनेर रोक्दा रोक्दै पनि जबरजस्ती पेलेर संविधान घोषणा गरियो । त्यसैबेलादेखि मधेशका जनताको अधिकार कुण्ठित हुने काम भएको देखेर चौतर्फि रुपमा संविधानको आलोचना र जलाउने काम समेत भयो ।
हाम्रो भौगोलिक बनावटको कारण छुट्याउनुपर्यो वा जनसंख्याको आधारमा गर्नुपर्ने त्यो भएन र अधिकारमा नागरिकताको कुरा भो अनि अन्य सरकारी जागिरमा, सेनामा जुन समावेशी हुनुपर्ने त्यस्ता कुनै पनि संविधानमा उल्लेख गरीएन । यस क्षेत्रमा बसोबास गर्ने ५१ प्रतिशत जनताले ओगेटेको क्षेत्रमा पनि अन्य क्षेत्र सरह विकास निर्माण लगायतका काम गरिएन । नेताहरूलाई हामीले उनीहरूलाई के सम्झाउन सक्छौं र उनीहरू हामी भन्दा बढी जान्ने छन् । तर तिनीहरुले कुनै कुराको वास्ता नगरीकन नै खाली पद र आफ्नो व्यक्तिगत स्वार्थ र आफ्नो बालबच्चालाई पढाई लेखाई गराउने, कुनै–कुनै एम्बेसीबाट डाक्टर, इन्जिनियरको कोटा लिने आफ्नो विकासको नाममा घरबार बनाउने, जनतालाई मूर्ख बनाएर ठग्ने काम गरेकाले नेपाली काँग्रेसको झोला बोकेर पनि आज सम्म केही गर्न सकिएन, त्यसैले गर्दा म आफू धेरै दु:खी भएर पार्टी परित्याग गरेको हुँ ।
– काँग्रेस परित्याग गर्नु भन्दा अगाडी पार्टीले यस क्षेत्रका जनताको सर्वोत्तम हित, विकास र एकताको लागि काम गरिरहेको छैन, गर्नु पर्‍यो भनेर तपाईंले पार्टीमा कहिल्यै आवाज उठाउनु भएन्, एकाएक पार्टी परित्याग गर्नु उचित हो त ?
काँग्रेसको राजनीतिमा लागेर, काँग्रेस पार्टीलाई कसरी अगाडी बढाउने हो भनेर आफ्ना राम्रा दिनमा वा गलत क्रियाकलापको समेत जिल्लाका नेता देखि लिएर माननीय ज्यूहरू समेतलाई मैले व्यक्तिगत रुपमा र सांगठनिक रुपमा बारम्बार यस क्षेत्रका जनताको हित, विकास र एकताको लागि काँग्रेस पार्टीलाई सुझाव सल्लाह दिंदै आएको छु । पर्सा जिल्ला मात्र नभई आफ्नो जिल्ला बाहिर पनि कामको सिलसिलामा आउने–जाने गर्नाले म मेची देखि महाकाली सम्मको यात्रामा भेट हुने र उहाँहरूलाई सल्लाह सुझाव दिंदै आएको हुँ र पर्सा जिल्लामा मैले अहम् भूमिका निर्वाह गर्दै आएको छु । काँग्रेस पार्टीका केन्द्रिय अध्यक्ष, केन्द्रिय स्तरका नेता, माननीय सभासद, मन्त्री लगायतलाई बारम्बार मैले सर्वपक्षीय हितका सवालमा घचघचाउने काम गरें तर कुनै वास्ता गरिएन । यस्तो अवस्थामा पार्टीमा बसिरहनु मेरो नैतिकताले मानेन र मैले परित्याग गर्ने निर्णय गरें ।
– यस क्षेत्रको विकासका लागि पनि वर्षै पिच्छे बजेट आएकै छ नि, विकास भएन, एकता भएन भने यसमा काँग्रेस मात्रको के दोष ?
हेर्नुस्, पञ्चायतकालको समयमा जुन स्थिति थियो त्यो अब रहेन । जनता अब सचेत भइसक्यो जनता आफ्नो अधिकारको लागि लडाई लडेर राज्य सत्तालाई परिवर्तन गर्ने क्षमता राखेका छन् । त्यसमा पनि नेपाली काँग्रेस पार्टी तराईको पार्टी हो र तराइमा नै जन्मेको हो । हुन त नेकपा एमाले पनि तराईमा नै जन्मेको हो भनेर अस्ति भर्खरै राजविराजमा भएको मेचीमहाकाली आमसभामा एमालेका नेता माधव कुमार नेपालले आफ्नो वक्तव्यमार्फत बताउनु भयो र उहाँले आफ्नो वक्तव्य पनि बडो मिठो रुपमा मैथिली भाषामा प्रकट गर्नु भएको थियो । यसबाट हामी के बुझ्छौं भने यी दुई ठूला पार्टी तराइ वेश हो । तर यतिखेर काँग्रेस, एमाले र माओवादी तिनै दल एउटै धार अर्थात खसवादी सोंचले ग्रसित भई एउटै उद्देश्यका अलग अलग नामका पसल खोली मधेश र मधेशी जनतामाथि थिचोमिचो गरिरहने नियतमा काँग्रेसको प्रत्यक्ष सहभागिता हुनु नै काँग्रेसको गल्ती हो त्यसकारण काँग्रेस लगायत तिनै दल गलत छन् ।

– एमाले लगायतका ठूला तीन दलका नेताहरू मधेशको माग जायज छैन, संविधान संशोधन गर्न हुँदैन भन्दै आइरहेका छन्, के भन्नु हुन्छ तपाईं ?

मधेशी जनता अब आफ्नो हक, अधिभकारको खोजी गरेर १ नं. को नागरिक बन्न खोजेका छन्, के यो गलत हो ? खसवादी शासकहरूले मधेशी जनतालाई कहिले विहारी मान्छे भन्ने, कहिले मुठी भरको भन्ने कहिले माखो साङ्लो भन्ने गरेका छन् । ती मध्ये हाम्रा कथित विद्वान अधिवक्ता सुवास चन्द्र नेमवाङ जी भन्नु हुन्छ ९० प्रतिशतले पारित गरेको संविधान संशोधन गर्न पर्दैन तर त्यही संसदमा ९० प्रतिशतले पास भई सकेको संविधानलाई राम्रा संविधानका बारेमा जब ५१ प्रतिशत जनताले विरोध गर्‍यो र उनीहरूको गल्तीलाई देखायो भने आज ती ९० प्रतिशत सभासद मध्ये ७० प्रतिशतले यो संविधान संशोधन गर्नुपर्छ, छुटेका कुराहरू सच्याउनु पर्दछ, मधेशलाई समेट्नु पर्छ भनेर किन भनिरहेका छन् ? त्यसैबेला समेटेको भए के हुन्थ्यो सुवास नेमवाङजीलाई मेरो प्रश्न, संविधान पारित गर्ने ९० प्रतिशत तिनै सभासदहरू मध्ये ७० प्रतिशतले यतिखेर संविधान संशोधन गर्नुपर्छ भनेर बारम्बार प्रश्न गरिरहेका छन् के यो एक आपसमा चित्त नबुझाईकनै जोर जबरजस्तीले पास गरेकै कारणले उहाँहरूको बीचको विवादीत समस्याहरू हुन् भनेर महसुश भइसकेको छ, कि कसो ?

-मधेशी समुदायलाई दोश्रो दर्जाको नागरिक सरहको व्यवहार कसरी गरियो ?

बोर्डरमा बस्ने निहत्था मधेशी जनताले सीमामा बसेर नेपालको सीमाको रक्षा गरिरहेका नेपाली मधेशीको इतिहास छ । सबैले बुझ्नु पर्ने विषय के हो भने मधेशी कुनै मंगोलबाट आएका होइनन्, कुनै सिलीगुडीबाट अथवा चीन, भुटानबाट आएका होइनन् । तराईवासी नेपालीहरू धरतीपुत्र हुन् तर तिनलाई आज दोश्रो दर्जाको नागरिकको रुपमा किन प्रयोग गर्दैछ । अहिलेको आन्दोलन र देशको मापदण्डका आधारमा हामी कुनै मधेशी जात हुँदैन । हामी मधेशी जनता हिजोका दिनमा राजधानी काठमाण्डौं जाँदा हामीलाई काठमाण्डौका केही तथाकथित वर्गले मर्सिया आयो–मर्सिया आयो भनेर हामीलाई जिस्काउँथे, हेला गर्थे, दु:ख दिन्थे । तर तिनै मर्शिया आज विश्वको मानचित्रमा पनि अफ्रीकामा बस्ने काला अफ्रिकन जस्तै मधेशमा बस्ने मधेशी जात भएका छन् ।
वास्तवमा मधेशी जात नभएर कानु, कलवार, यादव, मुसहर, धाङर, कुर्मी, कोइरी लगायत विभिन्न जातजातीको एक सिंगो समुदायको रुपमा चिनिन्थ्यो तर हाम्रा यी शासक वर्गहरूले एउटा के बनाईदिए भने यी मधेशी एउटा जात हो । यो जात भन्दा भन्दा भन्दै पनि एउटा मधेशी जात उम्रेर आयो । मधेशी एउटा जात भयो र हामीले त्यसलाई स्वीकार पनि गर्‍यौं र हामीलाई आज एउटा गर्व भइरहेको छ हामीलाई उनीहरूले मधेशी भन्छन् र उनीहरूलाई हामी पहाडी भन्छौं । तर यो सबैले बुझ्नु पर्ने कुरा के हो भने यो एउटा देश विभाजनको कुरा हो । राष्ट्र रहे मात्र हामी सबै रहने छौं, राष्ट्र टुक्रियो भने हामी सबैलाई घाटा हुन्छ, यी कुरा माथिल्लो शासकहरूले पहिला शाही कालले शासन गरे र आज यिनीहरू हामीहरूमाथि शोषण, शासन गरेर अगाडी बढ्दै छन् ।
निषेधको राजनीतिले न देशको भलो गर्छ न त जनताको नै । एउटा सानो झडपमा भारतीय प्रहरीको गोली लागेर कन्चनपुरमा गोविन्द गौतमको मृत्यु भयो त्यो एउटा दु:खदाई घटना हो कुनै एउटा नेपाली मर्नु भनेको राम्रो कुरा होइन र कुनै पनि किसिमको वैदेशिक हस्तक्षेप हाम्रो देशमा हुनु सहनीय हुन्न तर भारतीय सशस्त्र प्रहरीको गोलीबाट मारिएकाको अन्त्येष्टीमा राजकीय सम्मानका साथ सैनिक सलामी दिइनु तर आफ्नो हक अधिकारको लागि लडेका मधेश भूमिमा लडेका सैयौं मधेशीहरूलाई नेपाली प्रहरीको गोलीबाट मृत्यु हुँदा उनीहरूलाई राजकीय सम्मान नदिने र कालो जातीहरूलाई छानी छानी टाउकोमा गोली हान्ने कार्य गर्नु कुन नियमले दिएको छ ? के यो दोश्रो दर्जाको नागरिक सरहको व्यवहार होइन ?

-मधेशी पार्टीहरूबीच आफैंमा एकता छैन, यस्तो अवस्थामा मधेशको माग राज्यले सम्बोधन गर्ला र मधेशी जनताले आफ्नो हक अधिकार तथा एक नम्बर नागरिकसरहको अधिकार उपभोग गर्न पाउलान् भन्नेमा कतिको विश्वस्त हुनुहुन्छ ?

हिजोको दिनमा मधेशी जनता र पार्टीलाई तिनै शासकवर्गहरूको ठूला दलले विभिन्न प्रलोभनमा फुटाउने प्रयास गरेर सफल भएकै हुन् तर यतिखेर मधेशी दलरू आफ्ना हक अधिकार प्रयोग र प्राप्तीकालागि एकजुट छन् । मधेश केन्द्रित विभिन्न दलहरू जबदेखि एउटै मोर्चामा आवद्ध भएका छन् त्यसपछि हालसम्म सबैको एउटै आवाज छ, एउटै भाषा र माग छ । अर्को कुरा के हो भने अधिकार कसैसँग लिने होइन, यिनीहरू राजा होइनन्, हिजो राजा शासनकालमा हुकुम बक्सिन्थ्यो । केपी ओली, देउवा र प्रचण्ड राजा होइनन् । हामी संविधानमा स्थापित हुन खोजिरहेका छौं, यो संविधानमा हामी स्थापित भएनौं भने यो संविधानको कुनै औचित्य रहन्न र अन्त्यमा यो संविधान खारेज गरेर अर्को बनाउनै पर्छ । ५२ सालमा माओवादीको उत्पत्ति हुँदा गिरीजा र देउवाहरूले माओवादीलाई गनेका थिएनन् । तर प्रचण्ड, बाबुराम, वैद्य र महराहरूले संघर्ष गरेर आजको अवस्थामा पुगेका छन् । त्यस्तै मधेशी जनताको शक्तिलाई अवमूल्यन नगरियोस् भन्ने हामी सन्देश दिन चाहन्छौं ।

-नेपाललाई हिन्दू राष्ट्र बनाउनु पर्ने विषयमा संयुक्त मधेशी मोर्चाले केही बोलेको पाइँदैन, यसबारेमा तपाईंको धारणा के छ ?

हिन्दू धर्म लगायत सम्पूर्ण धर्महरूका अनुयायीहरू आ–आफ्ना धर्महरू मान्न पाउनु पर्छ त्यसमा बन्देज लगाउनु हुँदैन भन्ने अर्को विश्वको पहिचान रहेको हिन्दू राष्ट्रलाई पनि अन्य राष्ट्रजस्तै पहिचानकालागि हिन्दू राष्ट्र राखिएमा मेरो तर्फबाट कुनै किसिमको आपत्ती नरहेको तर पहिला पनि हिन्दू राष्ट्र राजाको समयमा थियो र अन्य जातजातीहरूमाथि गरिने भेदभावको अन्त्य हुनु पर्छ मेरो व्यक्तिगत धारणा यही हो ।

– अन्त्यमा मधेशी जन समुदायलाई केही सन्देश दिन चाहनु हुन्छ ?

अवश्य, यसै मिडियाबाट सम्पूर्ण मधेशी समुदायलाई के आग्रह गर्न चाहन्छु भने समय छँदै आफ्नो हक अधिकार सुनिश्चित गर्न हामी सबै एक जुट होऔं । बेलैमा हामी एक हुन सकेनौं भने हाम्रा सन्नतीले हामीलाई धिक्कार्ने छ । साथै यही चैत्र ६ गते का दिन हजारौं व्यक्तिहरू विभिन्न दल परित्याग गरी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्ने कार्यक्रम रहेको हुँदा पर्साको सो कार्यक्रममा सहभागी हुन पर्साको पोखरीयामा आइदिनुहुन सबैमा अनुरोध पनि गर्दछु । धन्यवाद ।

प्रतिक्रिया