अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४१ | Colorodo: 15:56

३३ किलो सुनकाण्डमा प्रहरीलाई अर्को सफलताः मालिक पत्ता लागे, १२ जना पक्राउ

बिआरटीनेपाल २०७३ फागुन २२ गते ८:३९ मा प्रकाशित

काठमाडौँ, २२ फागुन । विमानस्थलमा फेला परेको ३३ किलो अवैध सुनका मालिकको प्रहरीले पहिचान गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले आइतबार पत्रकार सम्मेलन गरी सुन तस्करीका नाइके अर्थात् मालिकको नाम सार्वजनिक गरेको हो ।

झन्डै दुई महिनाअघि विमानस्थलमा बरामद भएको ३३ किलो सुनका मालिक काभ्रे घर भई हाल दुबईमा बस्दै आएका ३८ वर्षीय हरिशरण खड्का भएको ब्यूरो प्रमुख डीआईजी नवराज सिलवालले जानकारी दिए । दुबईमा रहेका खड्कासहित सुन तस्करमा संलग्न ५ जनामाथि आइतबारै नेपाल प्रहरीले रेडकर्नर नोटिस जारी गरेको छ । रेडकर्नर नोटिस जारी हुनेमा मुख्य अभियुक्त खड्का, रोशन गुप्तलाल भुसाल, रञ्जन पन्त, राजनप्रसाद पन्त र अर्जुनप्रसाद खरेल रहेका छन् । ‘आजैबाट लागू हुनेगरी पाँच अभियुक्तहरुको नाम नाम रेड कर्नर नोटिसमा राखिएको छ,’ डीआईजी सिलवालले भने– ‘दुबई प्रहरीको सहयोगमा उनीहरूलाई पक्राउ गर्न खोजिरहेका छौँ ।’ १० वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई पुगेका खड्का पछिल्लो समय जागिर छाडेर सुन तस्करीमा संलग्न भएको ब्युरोले जनाएको छ । उनले नेपालमा रहेका सुन व्यवसायीसँग मिलेर दुबईबाट सुन पठाउँदै आएको थिए ।

१२ जना पक्राउ, १८ अझै फरार
पत्रकार सम्मेलनमा केन्द्रीय अनुसन्धान ब्यूराले सुनको तस्करीमा संलग्न ३० जनामध्ये १२ जनालाई पक्राउ गरिएको र १८ जना अझै फरार रहेको जानकारी दियो । ‘सुनकाण्डमा ३० जनाविरुद्ध मुद्दा चलाइएको हालसम्म १२ जनालाई मात्रै पक्राउ गरिएको छ,’ ब्युरोले भनेको छ– ‘१८ जनालाई अझैसम्म पक्राउ गर्ने प्रयत्न जारी छ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू