अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२५ | Colorodo: 04:40

ग्रीन कार्ड आधा कटौति गर्ने विधेयक सिनेटमा, डाइभर्सिटी भिसा कार्यक्रम अन्त्य हुँदै

पुरुषोत्तम ढकाल, लसएन्जलस २०७३ माघ २६ गते २२:१४ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रंपको इच्छा अनुरूप रिपब्लिकन र डेमोक्र्याट पार्टीका दुई शीर्ष सिनेटरले ग्रीन कार्ड आधा कटौति गर्ने विधेयक सिनेटमा प्रस्तुत गरेका छन् ।

यसलाई अमेरिकामा स्थाई बसोबासको आधार ग्रीन कार्ड प्राप्त गर्न थप बन्देज लगाउने अध्यागमन कानुन ल्याउने ट्रंप प्रशासनको नयाँ रणनीति भनेर व्याख्या गरिएको छ ।

रिपब्लिकन सिनेटर टम कटन र डेमोक्र्याट सिनेटर डेबिड बर्डूले मङ्गलवार सिनेटमा प्रस्तुत गरेको विधेयक अनुसार प्रत्यक वर्ष जारी गरिने स्थाई बसोबासको आधार ग्रीन कार्डको सङ्ख्या १० लाखबाट घटाएर ५ लाख कायम गर्न प्रस्ताव गरिएको छ ।

यो प्रस्तावित विधेयकलाई ट्रंप प्रशासनको समर्थन रहेको अनुमान गरिएको छ । प्रस्तावित विधेयक पास भएमा संसारभरिका नागरिक र तिनका परिवारजनले सहज ग्रीन कार्ड पाउने डाइभर्सिटी भिसा लोटरी कार्यक्रम अन्त्य हुनेछ ।

रिपब्लिकन सिनेटर टम कटन र डेमोक्र्याटिक पार्टीका सिनेटर डेबिड बर्डूले मङ्गलवार सिनेटमा विधेयक प्रस्ताव गरेका हुन् । प्रस्तावित विधेयकले डाइभर्सिटी लोटरी भिसा अन्तर्गत प्रत्यक वर्ष संसार भरीका ५० हजार नागरिकले विधिवत अमेरिकाको स्थाई बसोबास पाउँदै आएकाहरुलाई समेत लक्षित गरेको छ जसका कारण डाइभर्सिटी भिसा लोटरी मार्फत संसार भरीका नागरिक जस्तै नेपालीहरूको सहज अमेरिका आप्रवाशन समेत अन्त्य हुनेछ ।

स्मरणीय छ प्रस्तावित विधेयक अनुमोदन भएमा डाइभर्सिटी भिसा लोटरी कार्यक्रम विधिवत अन्त्य हुनेछ । प्रस्तावित विधेयक अनुमोदन भएमा अमेरिकाले सञ्चालन गर्दै आएको शरणार्थी पुनर्वास कार्यक्रम समेत प्रभावित हुनेछ जसका कारण भुटान, सिरिया र इराक लगायतका देशका शरणार्थीको अमेरिका पुनर्वासको सपना समेत तुहिने छ ।

 

सम्बन्धित सामग्रीहरू