अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५० | Colorodo: 18:05

झलक दिखलाजाको फाइनलमा तेरिया फौजामगर

बिआरटीनेपाल २०७३ पुष ८ गते १२:३५ मा प्रकाशित

काठमाडौँ पुस ८ गते । रियालिटी सो डीआईडी लिटिल मास्टरको उपाधि विजेता तेरिया फौजामगर झलक दिखलाजा डान्स कम्पिटिसनको फाइनलमा पुग्न सफल हुनुभएको छ । यसपटक पनि भोटिङ सहयोगका लागि तेरियाले देशविदेशमा रहेका नेपालीमा आग्रह गर्नुभएको छ ।

कलर्स टेलिभिजनबाट शनिवार राति प्रसारण हुने यस प्रतियोगिताका लागि जनवरी १४ देखि जनवरी २१ तारिखसम्म भोटिङ खुला हुनेछ । तेरियालाई भारतभरबाट मोबाइलमार्फत एसएमएस र अन्य देशबाट अनलाइन भोटिङ गर्न सकिनेछ ।

जी टिभीबाट प्रसारण भएको डीआईडी लिटिल मास्टरको उपाधि सन् २०१४ मा जितेर चर्चित हुनुभएकी रुपन्देहीकी तेरिया फौजामगरले प्रतिस्पर्धामा निर्णायकको मन जित्दै आउनुभएको छ । कलर्स टेलिभिजनले प्रसारण गर्दैआएको डान्स सो झलक दिखलाजामा तेरियाले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै आउनुभएको छ । डीआईडी सिजन ३ की विजेता तेरिया झलक दिखलाजामा वाइल्र्ड कार्ड इन्ट्रीबाट पुग्नुभएको हो । झलक दिखलाजाको नवौँ संस्करणमा उहाँसँग डीआईडी सिजन एककै विजेता सलमान युसुफ खान र वल्र्ड हिपहप विजेता शान्तनु महेश्वरी लगायतको प्रतिस्पर्धीसँग उपाधिका लागि कडा प्रतिस्पर्धा गरिरहनुभएको छ ।

सलमान युुुसुप खानले यसअघिका झलक दिखलाजाका प्रतिस्पर्धीलाई कोरियोग्राफीसमेत गर्दै आउनुभएको थियो । डीआईडी लिटिल मास्टरमा चालिस हजार प्रतिस्पर्धीलाई पछि पार्नुभएकी तेरियाले यसपटक पनि जितका लागि आफूले मिहिनेत गर्ने र नेपाली दर्शकका लागि खुसी दिएरै छाड्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले भोटिङको साथ समेत माग गर्नुभएको छ । उहाँले भन्नुभएको छ– उपाधिका लागि मेरा तर्फबाट गर्ने मिहिनेत दिलोज्यान दिएर गर्छु । भोटिङको आधारमा विजेता चुन्ने भएकाले मलाई डीआईडी लिटिल मास्टरको उपाधिका लागि नेपालीले गरेको भोटिङको फेरि मलाई उत्तिकै जरुरत परेको छ ।

ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसनले सञ्चालन गरेको यस प्रतियोगिताको विजेताले रेनाल्ट डस्टर ब्रान्डको कारको साथै तीस लाख भारतीय रुपियाँ पुरस्कार जित्नेछन् । रासस

प्रतिक्रिया