अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४१ | Colorodo: 07:56

लाेकमान विरुद्धको मुद्दामा अब पुस २१ गते सुनुवाइ

बिआरटीनेपाल २०७३ पुष ८ गते १२:२९ मा प्रकाशित

काठमाडौँ, पुस ८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तिविरूद्धको मुद्दामा सर्वोच्च अदालतमा यही पुस २१ गते पुनःसुनुवाइ हुने भएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासमा लोकमानसिंहविरुद्धका मुद्दामा सुनुवाइ बिहीबारदेखि सुरु भएको हो । उहाँका तर्फबाट आज अधिवक्ता बालकृष्ण न्यौपाने र माधव बस्नेतले बहस गर्नुभयो ।

रिट निवेदक ओमप्रकाश अर्यालका तर्फबाट अधिवक्ता रमेश बडाल, डा सुरेन्द्र भण्डारी, टीकाराम भट्टराई, गोविन्द बन्दी, डा चन्द्रकान्त ज्ञवाली, शम्भु थापा, रवि खनाल, सुनिल पोखरेल, विजय मिश्रलगायतले बिहीबार बहस गर्नुभएको थियो । लोकमानसिंहको नियुक्ति संविधान विपरीत भएको जिकिर गर्दै अधिवक्ता अर्यालले रिट निवेदन दायर गर्नुभएको थियो । खारेज भइसकेको अधिवक्ता अर्यालको निवेदन सर्वोच्च अदालतले पुनरवलोकन गर्ने निर्णय गरेको थियो ।

लोकमानसिंहका पक्षबाट बिहीबार सहमहान्यायाधिवक्ता किरण पौडेलले बहस गर्नुभएको थियो । उहाँको नियुक्ति संविधानसम्मत भए÷नभएको सुनुवाइपछि निर्णय आउनेछ । पूर्व कानुन सचिव प्रमोद कार्कीविरुद्ध पनि अदुअआका निलम्बित प्रमुखको मुद्दाका सिलसिलामा म्याद तामेलीमा अवरोध गरेको अभियोग लागेको छ ।

यसैबिच अदालतले लोकमानसिंह र पूर्व कानुन सचिव प्रमोदलाई आफ्नो मुद्दामा वारेस राख्न पाउने सुविधा दिएको छ । मुद्दामा आफैँ स्वयम् उपस्थित हुनु नपर्ने सुविधा आजको पूर्ण इजलासले उहाँहरूलाई दिएको हो । यसअघि उहाँहरू आफैँ मुुद्दाको पेसी बुझ्न आउनुपर्ने हुन्थ्यो । म्याद तामेली अवरोध गरेको मुद्दाको सुनुवाइपछि कार्कीद्वयलाई वारेस राख्ने सुविधा दिएको हो । आफ्नो मुद्दाको वारेस बुझ्न आएका कार्कीविरुद्ध दुव्र्यवहार भएपछि कार्की पक्षका अधिवक्ताले वारेस राख्न पाउनुपर्ने निवेदन दिनुभएको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू