अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३८ | Colorodo: 02:53

चार सय वर्षपछि पहिलाेपटक सुक्याे रानीपोखरी!

बिआरटीनेपाल २०७३ मंसिर २३ गते २३:३१ मा प्रकाशित

काठमाडौँ,मङ्सिर २३ गते । झन्डै चार सय वर्षपछि रानीपोखरी जलविहीन भएको छ ।

रानीपोखरीको पुनः निर्माण अघि बढाउन अहिले पोखरीको पानी सुकाइएको छ । पानी सुकाइएसँगै पोखरीमा रहेका माछा कमलपोखरीमा सारिएको वल्र्डवाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलले जानकारी दिनुभयो ।

अहिलेसम्ममा तीन हजार माछा सारिसकिएको छ । अब एक हजार माछा सार्न बाँकी रहेको अनुमान गरिएको छ । सबै माछा स्थानान्तरण गरिसकिएपछि केही दिनमा हिलो फाल्ने काम सुरु हुन्छ । विसं २०७२ वैशाख १२को भूकम्पका कारण पोखरीको बिच भागमा रहेको बालगोपालेश्वर मन्दिर र वरपर समेत क्षति पुगेको थियो ।

गत वैशाख दोस्रो सातादेखि सुरु गरिएको पुनःनिर्माणको आगामी भदौ १३ गते सकिने बताइएको छ । बालगोपालेश्वर मन्दिर पुनःनिर्माणको काम मापदण्ड विपरीत रहेको जनाउँदै पुरातत्व विभागले काम रोक्न निर्देशन दिएको थियो ।
दुई वर्ष लगाएर विसं १७२७ मा बनाइएको पोखरीको दक्षिण कुनामा हात्तीमाथि चढेका प्रताप मल्ल र उनका छोराहरूसहितको सेतो मूर्ती छ । पोखरीको चारै कुनामा सोह्रहाते गणेशसहितका मन्दिर छन् । प्रताप मल्लले कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन ‘विष्णुतीर्थ’ निर्माण गराएको इतिहासमा उल्लेख छ । पोखरी निर्माणका क्रममा गोसाइँकुण्डदेखि नेपालका विभिन्न भागका नदी, जलाशयका पानी पनि राखिएको थियो ।

पोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि पुनःनिर्माणअन्तर्गत केही स्थानमा विद्युत् जडान गरी झिलिमिली बनाइने, चारैतिर बार बारिने, बगैँचा बनाइने, हरियाली र रङ्गीन पानीको फोहरा राखिने महानगरपालिकाको योजना रहेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू