अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४५ | Colorodo: 12:00

कुन तरकारीमा के औषधि पाइन्छ ?

बिआरटीनेपाल २०७३ मंसिर १६ गते १०:३९ मा प्रकाशित

हरेका प्रकारका तरकारीहरुमा बिभिन्न किसिमका पौष्टिकतत्वहरु पाइन्छन् । मौसमअनुसार तरकारीलाई सन्तुलन मात्रामा खान सकेमा रोगको सम्भावना निकै कम हुन्छ । गाढा पहेलो र हरिया तरकारीमा प्रशस्त मात्रामा क्यारोटिन पाइन्छ । क्यारोटि भिटामिन एको प्रारम्भिक स्वरुप हो । क्यारोटिन शरिर भित्र गएर भिटामिन एमा परिणत हुन्छ । साधारणतया तरकारीमा कार्बोहाइड्रटमध्ये माड र सेलुलोज, खनिज पदार्थमा आइरन र क्याल्सियम र भिटामिन ए, बी र सी प्रशस्त मात्रामा पाइन्छ ।  तरकारीमा कोलेरेस्टोल भने हुदैन । तरकारीमा फाइबरको अधिक हुन्छ ।

भिन्डी

भिन्डीले ठुलो आन्द्राको क्यान्सरको सम्भावना कम हुने बिभिन्न अध्ययनहरुले देखाएको छ । भिन्डीमा कम क्यालोरी हुने र फाइबर बढी हुने भएकाले तौल घटाउन मद्धत गर्छ । भिन्डीले मुटु रोग लाग्नबाट जोगाउछ । यसमा पाइने तत्वले खराब कोलेस्टेरोल घटाउछ । मधुमेह हुने सम्भावना कम गर्छ । पाचन शक्ति मजबुत बनाउछ । कब्जियतबाट बचाउछ । रोग प्रतिरोध क्षमता बढाउछ ।  रक्तअल्पता हुनबाट जोगाउछ । आँखाको दृष्टि बढाउछ । गर्भावस्थामा भ्रुणको विकाशमा सहयोग गर्छ ।

गोलभेंडा
नेपाली भान्छामा अचारका रूपमा प्रयोग गरिने, तरकारीमा प्रयोग गरिने र सलादका रूपमा खाइने खाद्य पदार्थ हो, गोलभेंडा । पाकेको गोलभेंडा हेर्नमा जति आकर्षक देखिन्छ, उति नै लाभकारी पनि मानिन्छ । गोलभेंडा गुलियो, अमिलो, पाचक, शक्तिबद्र्धक र रुचिबद्र्धक हुनुका साथै यसले अतिसार, पेट र मोटोपना रोक्ने औषधिको पनि काम गर्छ । यसमा लौह तत्वको मात्र दूधभन्दा दुई गुणा र अंगुर, मौसम, तरबुजा तथा खरबुजाको तुलनामा बढी पाइन्छ । गोलभेंडामा क्याल्सियम, चुना, गन्धक, साइट्रिक एसिडलगायतका तत्व पाइन्छ । गोलभेंडा भिटामिनको भण्डार हुन्छ । गोलभेंडा सेवन गर्दा कब्जियतको समस्या समाधान हुन्छ । दिनहुँ गोलभेंडा खाने मानिसमा मधुमेह, रुघा, दाँतको समस्या, रक्तस्रावजस्ता रोग लाग्दैन । साथै आँखा रोगको समस्या पनि हुँदैन ।

बन्दा
बन्दा तरकारीका अलावा सलादका रुपमा पनि प्रयोग गरिन्छ । यसमा कैयौं औषधीय गुण हुन्छन् । जसले हामीहरुलाई निरोगी बनाउँछ । बन्दामा रहेका केही सुक्ष्म तत्वले शरीरमा रहेका विषाक्त पदार्थलाई बाहिर निकाल्छ र शरीरको पाचन प्रक्रिया, मेटाबोलिजमलाई नियमित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । ताजा बन्दामा नुन, मरिच तथा कागतीको रस मिसाएर दैनिक बिहान खाली पेटमा खानाले २, ४ हप्तामै कब्जियतको समस्या समाधान हुन्छ ।

ताजा बन्दको रसमा भिटामिन यु नाम यस्तो दुर्लभ भिटामिन पाइन्छ, जसमा  अल्सरसमेत निको पार्न सक्ने गुण हुन्छ । बन्दाको रस पिउनाले पेप्टिक अल्सर अर्थात् पेटको घाउ ठीक हुन्छ । बन्दामा खनिज लवण प्रचुर रुपमा पाइन्छ,  जो मूत्र प्रणालीमाथि नियन्त्रण राख्न सहायक सिद्ध हुन्छ । रोकिएर पिसाब आउने समस्यामा बन्दाको आधा कप दिनहु पिउनाले आराम मिल्छ ।

 

गाँजर
गाँजरमा उच्चमात्रामा बेटा क्यारोटिन पाइन्छ । यसका साथै भिटामिन ए, मिनरल्स र एन्टिअक्सिडेन्ट पनि पाइन्छ । यो आँखा, छाला, पाचन प्रणाली र दाँतका लागि लाभदायी हुन्छ । यसमा अत्यन्त न्युन मात्रामा क्यालोरी पाइन्छ भने चिल्लो पदार्थ शुन्य हुन्छ ।
गाँजर खानु आँखाको स्वास्थ्यका लागि लाभदायी हुन्छ । यसमा भएको बेटा क्यारोटिन कलेजोमा भिटामिन ए मा परिवर्तन हुन्छ । यसले राती आँखा देख्न सक्ने क्षमतामा वृद्धि गर्नुका साथै ग्लुकोमा, म्याकुलर डिजेनेरेशन र सेनाइल क्याटार्याक्टजस्ता आँखाको समस्याविरुद्ध लड्न मद्दत पु¥याउछ । यसले रतन्धो हुनबाट समेत बचाउछ । एक अनुसन्धानले बेटा क्यारोटिनको उपभोगले म्याकुलर डिजेनेरेशन हुनबाट ४० प्रतिशतले बचाउछ ।
गाँजरमा विभिन्न प्रकारका एन्टिअक्सिडेन्ट र पोलासिटाइलनेस भन्ने तत्व पाइन्छन्, जसले मुटुको कवचको काम गर्छ । अध्ययनहरुबाट गाँजरमा भएका यस्ता तत्व खानाले मुटु रोग लाग्ने खतरा कम हुने देखाएका छन् । उच्च मात्रामा बेटा क्यारोटिनका अतिरिक्त गाँजरमा अल्फाक्यारोटिन र ल्युटन पाइन्छन् । यसले खराब कोलस्टेरोललाई पनि हटाउछ । यहीकारण हृदयाघात हुने सम्भावना पनि रहँदैंन ।

गाँजर खानाले फोक्सो, स्तन तथा कोलोन क्यान्सर लाग्नबाट बचाउछ । गाँजरमा भएको पोलि–अक्टिलाइन एन्टिअक्सिडेन्ट र फाल्कारिनोल भन्ने तत्वका कारण यस्तो भएको हो । यी तत्वले क्यान्सर लगाउने कोषलाई नष्ट पार्छ । गाँजरमा भएका विभिन्न खालका पोषक तत्व र भिटामिन सी सहितको एन्टिअक्सिडेन्टले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ । गाँजरको नियमित सेवनले शरीरमा कवचको जस्तै काम गर्छ । गाँजरमा पाइने भिटामिन एले कलेजोलाई शरीरबाट विषाक्त पदार्थ निकाल्न मद्दत गर्छ । यसले कलेजोमा भएको चिल्लो पदार्थ र पित्तलाई घटाउनुका साथै शरीरलाई नचाहिने तत्व हटाइ शुद्द राख्न सहयोग गर्छ । गाँजरमा हुने क्याल्सियमले महिला तथा केटाकेटीको हड्डीको विकासमा सहयोग गर्छ ।

 

करेला
स्वादमा तितो भएपनि यो बहुगुणकारी तरकारीको रुपमा परिचित छ । यो एन्टिअक्सिडेन्ट र भिटामिनले भरिपूर्ण हुन्छ । करेलामा भिटामिन ए, भिटामिन बि १, भिटामिन बी २, भिटामिन सि, फाइबर, क्याल्सियम, पोटासियम, जिङक, फलाम, कपर तथा फोस्फोरस हुन्छ । ताजा करेला दम, रुघाखोकीजस्ता श्वासप्रश्वासको समस्यामा लाभदायी मानिन्छ ।

दैनिक एक गिलास करेलाको जुसले कलेजोको समस्या समाधान हुन्छ । पानीमा उमालेको करेलाको पात दिनहुँ खानाले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ । करेलाको सेवनले डण्डीफोर, दागलगायतका छालाको संक्रमण हटाउनुका साथै रगतमा भएको अनियमितता हटाउछ । कागती मिसाएको करेलाको जुस ६ महिनासम्म खाली पेटमा खानाले अनुहारको सुन्दरतामा निखार ल्याउछ ।
करेलाको जुसले टाइप टु मधुमेहलाई सबैभन्दा बढी लाभ मिल्छ । करेलामा रहेका केही रासायनिक तत्वहरुले पनि इन्सुलिनको जस्तै काम गर्छन्, जसले रगतमा सुगरको मात्रा कम गर्न मद्दत गर्छन् ।

यसमा भएका फाइबरहरुले खाना पचाउन मद्दत गर्छन् । यसले गर्दा कब्जियतको  समस्या पनि हट्छ । यसले कलेजो र ब्लाडरलाई स्वस्थ बनाउन मद्दत गर्छ । यसका साथै मिर्गौलाको पत्थरी हटाउन पनि सहयोग गर्छ । यो मुटुको समस्याका लागि पनि लाभदायी मानिन्छ । यसले शरीरमा भएको खराब कोलेष्टेरोल हटाई हृदयाघात हुने सम्भावना कम गर्छ । यसले रगतमा चिनीकोमात्र घटाई मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ । करेलाको सेवनले क्यान्सरका कोष वृद्धि हुनबाट जोगाउछ ।
करेलाको नियमित सेवनले छालालाई चम्किलो राख्न मद्दत गर्नुका साथै दागरहित बनाउन मद्दत गर्छ । छालाका रोग तथा संक्रमण हटाउछ । यसमा भएको भिटामिन सिले चाउरीपना हटाउछ । करेलाको जुसले कपाल झर्ने समस्या पनि हटाउछ । करेलाको जुसमा चिनी मिसाएर लगाउनाले कपाल झर्ने समस्या समाधान हुन्छ ।

 

काउली
काउली क्यान्सरबाट बच्ने एउटा उत्तम उपाय हो । काउली खानाले क्यान्सरका कोषहरू बनेका छन् भने पनि त्यसलाई बृद्धि हुन नदिई त्यहीँ निष्कृय पार्छ । यसमा पाइने ‘ग्लुकोसिनोलेट’ र ‘सल्फोराफेन’ले क्यान्सर लाग्न सक्ने तन्तुहरूलाई हटाउन महत्वपूर्ण भूमिका खेल्छन् । यसमा पाइने अन्य तत्वले डीएनएको मर्मत गरी क्यान्सर रोग लगाउने कोषहरू बढ्नबाट रोक्छ ।

काउलीले फोक्सो, स्तन, आन्द्रा, डिम्वाशय र मुत्रथैलीको क्यान्सरबाट बचाउन पनि मद्दत गर्दछ । फ्रेड हचिन्सन क्यासर रिर्सच सेन्टरमा भएको अध्ययनले काउलीजस्ता हरियो सागपातको दैनिक प्रयोगले प्रोस्टेट क्यान्सर हुने सम्भावना लगभग आधा घटाउँछ ।

अध्ययन अनुसार काउलीमा ‘इन्डोल–३–कार्विनोल’ र योभन्दा सशक्त ‘डाइ–इन्डोमिथेन’ नामक रसायनहरू हुन्छन् जसले क्यान्सरसँग लड्न र क्यान्सरका कोषको वृद्धि हुन रोक लगाउँछ ।

जति धेरै काउली आफ्नो खानामा भयो उति नै राम्रो । काउलीलाई धेरै पकाएमा यसमा पाइने क्यान्सर विरुद्ध लड्ने तत्वहरू नाश हुने सम्भावना रहन्छ । विज्ञहरू यसलाई काँचै खान सल्लाह दिन्छन् । विज्ञहरुको सुझाव छ, ‘काउलीलाई एउटा नुनपानी भएको भाँडामा करिब चार घन्टा जति डुबाउने र चिसो पानीले मज्जाले पखालेर खाने ।’

काउलीले हड्डी दह्रो बनाउन पनि मद्दत गर्छ । एलर्जी हुने सम्भावना कम गर्छ र पाचन प्रणालीलाई राम्रो बनाउँछ । यसले मुटुमा लाग्ने रोगहरूबाट बच्न पनि त्यत्ति नै मद्दत गर्दछ ।
काउली भिटामिन ‘के’ र ‘सी’को मुख्य स्रोत हो । एक बटुका काउली मात्र  खपत गर्दा शरीरलाई चाहिने ९१ प्रतिशत भिटामिन ‘के’ र ५० प्रतिशत भिटामिन ‘सी’ उपलब्ध हुन्छ । साथै, काउलीबाट राम्रो मात्रामा रेसा र शरीरलाई चहिने अन्य महत्वपूर्ण तत्वहरू पनि पाइन्छ ।

 

टमाटर

टमाटरलाई तरकारी र फल दुबै रूपमा लिन सकिन्छ । यो काँचै वा पकाएर जसरी पनि खान सकिन्छ । यसलाई सलादको रुपमा पनि खाने गरिएको छ । टमाटरमा रहेको लाइकोपेन नामक तत्व स्वास्थ्यकालागि अति लाभदायक हुन्छ । यसले शरीरमा हुने बुढौलीपनका लक्षण कम गर्न मद्दत गर्छ । यसमा भिटामिन ए र पोटासियम तत्व पाइन्छ । यसमा कार्बोहाइड्रेटको मात्रा कम हुने भएकोले तौल घटाउन टमाटरको सेवन उत्तम हुन्छ । बिरामी र कमजोर व्यक्तिलाई यसको सुप बनाएर खुवाउँदा लाभदायक हुन्छ । टमाटरको रस छालाकालागि  पनि राम्रो मानिन्छ । यसले छालालाई सफा र नरम बनाउन मद्दत गर्छ । बिभिन्न अध्ययनले टमाटरमा क्यान्सर प्रतिरोधात्मक तत्व रहेको पुष्टिसमेत गरेका छन् । अध्ययनकै अनुसार टमाटरले मानव शरीरको डिएन्ए नष्ट हुनबाट बचाउँछ र मुटुरोगको संभावना पनि कम गराउँछ ।

 

फर्सी
फर्सीमा फाइबर, भिटामिन, खनिज तथा कैयौं स्वास्थ्यवद्र्धक एन्टिअक्सिडेन्ट पाइन्छ । यसको यिनै गुणका कारण नियमित सेवनले छालालाई सधैं ताजा बनाइराख्छ । ५० ग्राम फर्सीमा ४९ क्यालोरी पाइन्छ । फर्सीमा कार्बोहाइड्रेटको मात्रा निकै कम हुन्छ भने यसले शरिरमा नराम्रो कोलस्टेरोलको मात्रा पनि  कम गर्छ । यसको बियाँमा प्रोटिन, भिटामिन, फ्याटि एसिडहरू पाइन्छ । फर्सीले स्मरण क्षमताको विकास गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउछ । पँहेलो फर्सीमा पाइने क्यारोटिन, एन्टिअक्सिडेन्टले शरिरमा क्यान्सरको सम्भावनालाई समेत कम गर्छ । यसले मुटु रोगीलाई पनि निकै फाइदा गर्छ ।

 

ब्रोकाउली
ब्रोकाउली खानाले शरीरमा चमत्कारिक लाभ हुन्छ । यसमा पाइने आइसोथायोसाइनेट्सले क्यान्सर उत्पन्न गर्ने कोशिकाको प्रभाव कम गर्न सहयोग गर्ने इन्जाइम निर्माणमा पनि सघाउ पु¥याउछ । यसमा भिटाभिन सि हुने भएकाले पुरुषको स्वास्थ्यका लागि अचूक औषधि मानिएको छ । ब्रोकाउली भिटामिन सीले भरिपूर्ण हुन्छ । यसले प्रतिरक्षा प्रणालीलाई पनि मजबूत बनाउछ। ब्रोकाउलीले मधुमेह नियन्त्रण गर्न मद्धत गर्छ । ब्रोकाउलीमा बिटा – कैरोटीन हुन्छ जसले आँखामा मोतिबिन्दु र मस्कुलर डीजेनरेशन हुनबाट पनि रोक्छ। ब्रोकाउली छालाका लागि निकै राम्रो मानिन्छ । ब्रोकाउलीमा क्याल्शियम, फोस्फोरस, म्याग्निशियम र जिंक पाइन्छ। जसले शरीरका हड्डीलाई मजबूत बनाउछ। ब्रोकाउली शरीरलाई एनीमिया र एल्जाइमर हुनबाट पनि बचाउँछ। यसमा अधिक मात्रामा आइरन पनि पान्इन्छ । ब्रोकाउलीले स्तन क्यान्सरको सम्भावनालाई कम गर्छ ।

लौका
लौकाको जुस ज्वरो, खोकी, मुटुको विकार, गर्भाशयसम्बन्धि सबै रोगको लागि लाभदायक मानिन्छ । लौकाको जुसले रगत शुद्ध गर्ने काम गर्छ । लौकाको तरकारी र जुस मुटु रोगीका लागि निकै फाइदाजनक मानिन्छ । शरीरको कुनै भागमा रगत बगिरहेको अवस्थामा लौकाको बोक्राको लेप लगाउदा रगत बग्न बन्द हुन्छ । गर्भाशय सम्बन्धि समस्यामा लौकाको रस निकै लाभदायक मानिन्छ । पटक पटक गर्भपतन हुने महिलाहरुले लौकाको रस तथा तरकारी खाँदा गर्भपात हुने समस्याबाट छुटकारा मिल्न सक्छ ।

लौका शक्तिवर्धक र वीर्यवर्धक मानिन्छ । मानसिक तनाव, उच्च रक्तचाप, पिसाबसम्बन्धी समस्या, जन्डिस, पाइल्स र यौनजन्य समस्यामा लौका अचुक औषधि मानिन्छ ।

 

स्रोत :स्वास्थ्य खवर पत्रिका

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू