अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३४ | Colorodo: 05:49

एनआरएन अमेरिका प्रविधि र कार्डको दुरुपयोग ३२६८ जनाको सदस्यता शङ्काको घेरामा

बिआरटीनेपाल २०७४ वैशाख १२ गते १४:०३ मा प्रकाशित

तोया दाहाल, अमेरिका ।

एनआरएन अमेरिकाको सदस्यता वितरणको समयमा भएका केही अस्वाभाविक गतिविधिले यो संस्था गलत अभ्यासको चक्रब्यूहबाट तत्काल बाहिर निस्कन नसक्ने देखाएको छ । यति सम्म कि केही घन्टामै एउटै कम्प्युटरबाट ६ सयलाई सदस्यता बनाइएको प्रमाणसमेत फेला परेको छ । समाचार स्रोतका अनुसार प्रविधि र कार्डको दुरुपयोग व्यापक मात्रामा भएका छन् ।
सदस्यता छानबिन समिति गाम्भीरयता पूर्वक अगाडि बढेमा करिब ३२ सय ६८ जनाको सदस्यता शङ्काको घेरामा पर्ने सम्भावना छ । प्रमाणित हुन नसक्ने अनुमान गरिएका सदस्यहरूको सङ्ख्या सबैभन्दा बढी टेक्सासमा रहेको छ । जहाँ २२ सय भन्दा बढी यस्ता सदस्य रहेको बताइन्छ । त्यसपछि क्यालिफोर्नियामा ४ सय ५० , न्युयोर्कमा ७०, नर्थ क्यारोलेनामा सय , अलावामामा ६० जनाको सदस्यता छानबिनको दायरामा आउने सम्भावना रहेको छ ।

प्रविधि र कार्ड

कम्प्युटर प्रविधिका हस्ती जोकोहीलाई पनि एनआरएनको सदस्यता लिने प्रक्रिया पूरा गर्न दस मिनेटभन्दा बढी समय लाग्छ । प्रश्न उठ्छ, यति धेरैको सदस्यता बनाउने काम कसरी सम्भव भयो त केही घन्टामै ? त्यो पनि एउटै कम्प्युटरबाट । बसोबासको जानकारी, इमेल आईडी, फोन र कार्डको विवरण दिएर लिनुपर्ने सदस्यता त्यति छिटो र सजिलो कसरी भयो त ? सूचना प्रविधिका जानकारहरुका अनुसार माइक्रोसफ्ट आउटलुक बिजनेस इमेलबाट यो काम सम्भव हुन्छ । एउटै मास्टर पासवर्डबाट एकै पटकमा हजारवटा इमेल बनाएर पठाउन सकिन्छ ।

टेक्सासको कुनै कार्यालयको एउटै कम्प्युटरबाट यो काम भएको स्रोतको दाबी छ । एनआरएन अमेरिकाको वेबसाइट नै ह्याक गरेर थपिएका सदस्यहरू छानबिन समितिले सहजै पर्गेल्न सक्ने सम्भावना कम छ ।

अनुसन्धान भएमा एउटै आईपी एड्रेसबाट क–कसले सदस्यता लिएको हो भन्ने यथार्थसमेत बाहिर निकाल्न सकिन्छ । अध्यक्षका उमेदवार गौरी जोशी आफूहरुले बाहिरको हल्लाजस्तो कुनै फेक इमेल आईडी र प्रविधिको दुरुपयोग गरी सदस्यता नबनाएको जिकिर गर्छन् । घरदैलो गरेरै टेक्सासमा सदस्यता सङ्ख्या बढाएको उनको दाबी छ । टेक्सासकै धेरै सदस्य भेरिफिकेशनका क्रममा प्रमाणित हुन नसक्ने समस्या देखिनु अरू कुनै कारण नभई समयको अभावले मात्र त्यस्तो भएको हुनसक्ने जोशीको तर्क छ ।

संस्थाका केही कमी–कमजोरी र छिद्रहरुलाई समाएर पैसा र प्रविधिको बलमा सदस्यता थपेर अध्यक्ष बन्ने दौडको अन्त्य नगरे एनआरएन अमेरिकाको छवि समाप्त हुने वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेलले बताए । अहिलेको अवस्था सुधार नहुने हो भने योग्य, सक्षम र क्षमता भएका व्यक्ति एनआरएन अमेरिकामा प्रवेश गर्नै नसक्ने पोखरेलको दाबी छ । राजनीतिक समूहलाई चन्दा र आफ्नो संस्था हो भन्ने अनुभूति नै हुन नदिने गरी पैसा तिरेर बनाइने सदस्यताको जगमा उभिने एनआरएन अमेरिका अब एउटा खण्डहरमा परिणत हुनेछ ।

एनआरएन अमेरिकाकी उपाध्यक्ष रविना थापा प्रविधि र पैसाको दुरुपयोग गरेर संस्थामा छिर्न खोज्नेविरुद्ध आफ्नो लडाइ केन्द्रित हुने बताउँछिन् ।

टेक्सासकै एउटा भुटानी शरणार्थी बस्ती आसपासमा पनि सिरियल नम्बर मिल्ने वालमार्ट प्रिपेड डेबिट कार्डबाट २ सय ५७ जनालाई सदस्यता बनाइएको छ ।

एनआरएन उपाध्यक्ष राम सी पोखरेल यसमा आफ्नो कुनै प्रकारको संलग्नता नभएको दाबी गर्छन् । ’सदस्यता वितरणमा कहीँ कतैवाट गलत काम भएको भए कानुनी कारबाही र निष्पक्ष निर्वाचनको काम सँगसँगै हुनुपर्छ त्यसपछि मात्र संस्था सही बाटोमा हिँड्छ ।’ पोखरेलको तर्क छ ।

क्यालिफोर्नियामा त्यस्तै प्रकारका कार्डहरुको प्रयोग गरी ४ सय ५० जना सदस्य बनाएको स्रोतको दाबी छ । यसरी सदस्य बनाउन कुन कुन समूह कहाँ सक्रिय भए भन्ने यकिन तथ्य फेला पार्न सहज छैन । एनआरएन उपाध्यक्ष डिल्ली भट्टराई आफूबाट त्यस्तो कुनै काम नभएको दाबी गर्छन् । गलत तरिकाले बनाइएका सबै सदस्य हटाउनुपर्ने भट्टराईको भनाइ छ । एनआरएन अध्यक्ष केशव पौडेलले भने छानबिनको प्रक्रियामा रहेको विषय भएकाले केही नबोल्ने बताए ।

एनआरएन अमेरिकाका महासचिव तिलक श्रेष्ठको संयोजकत्वमा गठित समितिले दुई दिन म्याद थपेर काम गरिरहेको भए पनि गहिराइसम्म पुगेर यथार्थ बाहिर निकाल्ने सम्भावना कम छ । १७ हजार सदस्यको प्रमाणित आधार जुटाएर खोजबिन गर्नु पक्कै सहज काम हैन ।
छानबिन समितिले गलत प्रक्रियाबाट बनाइएका सदस्यहरूलाई बाहिर निकालिहालेमा पनि त्यसले निरन्तरता पाउने सम्भावना कम छ । किनकि, यसअघि नै एनआरएन अमेरिका कार्यसमिति र न्यायिक समितिबीच सदस्यता वितरणको समय बढाउने विषयमा लडाइँ भइसकेको छ । कार्यसमितिको कदमलाई पटक पटक चुनौती दिँदै आएको न्यायिक समितिले यसमा पनि त्यस्तै निर्णय गर्न सक्छ । यो लडाइँले चुनाव जित्नकै लागि मात्र पैसा खर्च गरेर बनाइएका सदस्यले पनि मताधिकार पाएमा कुनै आश्चर्य हुने छैन ।

न्यायिक समिति सदस्य यज्ञ नेपाल भन्छन्,’ कसैले उजुरी हालेमा त्यसलाई सम्बोधन गर्नु समितिको दायित्व हो ।’ निर्वाचन गराउन सदस्यता छानबिनमा लागिरहेको निर्वाचन समिति र न्यायिक समितिवीच अब हुने लडाइले एनआरएन अमेरिकाको निर्वाचन प्रक्रिया अनिश्चित बन्ने सम्भावना छ ।

प्रतिक्रिया