अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२५ | Colorodo: 14:40

कोलोराडोमा होली सम्पन्न (फोटो फिचर सहित)

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७३ फागुन २९ गते १७:५३ मा प्रकाशित

अमेरिका, कोलोराडो १२ मार्च / असत्यबिरुद्द सत्य र अधर्ममाथि धर्मको विजयको प्रतीकको रूपमा एक अर्कामा रंगहरु दलेर तथा आपसमा शुभकामनाको आदान प्रदान गरिदै मनाइने नेपालीहरूको महत्त्वपूर्ण चाड फागु पूर्णिमा (होली) कोलोराडोवासी नेपालीहरूले यस वर्ष आज ब्राइटनस्थित सनातन मन्दिरमा धूमधामसँग मनाए । कोलोराडोमा रहेका नेपालीहरूको सङ्गठन नेपाली घरद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न उमेर समूहका महिला तथा पुरुषको ठुलो सहभागिता रहेको थियो । मन्दिरका पूजारी जीवन बरालबाट होली सम्बन्धी विशेष पूजा गरी कार्यक्रमको सुरुवात गरिएको थियो । 

उपस्थित सबैले एक अर्कामा रङ्ग दल्दै एकआपसमा शुभकामना आदानप्रदान गरेका थिए । होली खेल्नेहरुमा कोलोराडोबासी आम नेपालीहरूका अतिरिक्त विभिन्न सामाजिक संस्थाका पदाधिकारी, कलाकार र संचारकर्मी थिए । अन्त्यमा कार्यक्रमको आयोजक ‘नेपाली घर’ले उपस्थित हुने सबैको लागि भोजन-प्रसादको व्यवस्था गरेको थियो ।

नेपालमा फागुन शुक्ल अष्टमीको दिन बसन्तपुर स्थित गद्धिबैठक अगाडी रङ्गी चङ्गी पारेर सिंगारी गाडीएको चिरमा पुजाआजा गरेपछि बिधीबत् रूपमा होलीसुरु भएको मानिन्छ । दैत्यराज हिरण्यकश्यपुले विष्णु भक्त आङ्खना पुत्र प्रहलादलाई मार्ने उद्धेश्यले ब्रम्हाबाट आगोले छुन नसक्ने बरदान पाएकी आङ्खनी बहिनी होलिकालाई प्रहलादका साथ दन्किरहेको आगोमा बस्न लगाउंदा आगोले होलीका आफै भष्म भएको, तर भक्त प्रहलादलाई केही नभएकाले त्यही समय देखि शक्तिको दुरुपयोग गर्ने पापिनी होलीका मारिएको खुसीयालीमा होली खोल्ने चलन चलेको हिन्दु शास्त्रमा उल्लेख गरिएको छ । 

बिहान १२ बजे देखी सुरु भएको कार्यक्रम दिउसो २ बजेसम्म सञ्चालन भएको थियो । कार्यक्रममा नेपाली घरका महासचिव लक्ष्मण रानाले सबैलाई स्वागत गरेका थिए भने अध्यक्ष योगराज गौतमले उपस्थित सबैलाई धन्यवाद दिएका थिए । त्यसै गरी सल्लाहकार राम प्रसाद श्रेष्ठले होलीको शुभकामना दिएका थिए । रक्की माउन्टेन फ्रेन्डस अफ नेपालका अध्यक्ष शरद आचार्यको स्वास्थको बारेमा जानकारी ब्रिजेश लम्सालले गराउनुको साथै सहयोग गर्न पनि अनुरोध गरिएको थियो । आचार्यको गत हप्ता ओपेन हार्ट सर्जरी गरिएको थियो । 

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू