अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०७ | Colorodo: 12:22

जनकपुरको गंगासागरमा धामीझाँक्रीको घुइँचो

बिआरटीनेपाल २०७४ कार्तिक १९ गते ३:२६ मा प्रकाशित

विगतमा झैँ यस वर्ष पनि जनकपुरस्थित गंगासागरमा भूत मेला मनाउन धामीझाँक्री भेला भएका छन् । आज बिहानै जनकपुरधामस्थित गंगासागर तलाउमा धामीझाँक्रीको घुइँचो लागेको छ । धनुषा, महोत्तरी, सिरहा, सप्तरीसहित भारतका विभिन्न स्थानबाट जनकपुरको गंगासागरमा स्नान गरी मन्त्रसिद्ध गर्न धामीझाँक्री आउने गर्छन् ।

पूर्णिमाको भोलिपल्ट एकाबिहानै गंगासागरमा पहेँलो धोती र सारीमा सजिएका मानिसहरु धामीझाँक्री बन्नका लागि हातमा बेतको छडी घुमाउँदै कर्कश स्वरमा चिच्याउँदै मन्त्रजप गरिरहेका थिए । आफूमा आएको देउतालाई सिद्ध गर्न स्नान गर्न आएको धनुषाधाम निवासी ४५ वर्षीय रामसुन्दर सदाले बताउनुभयो ।

मादल, करताल, झाइल र ढोल पिपहीको मधुरताबीच यिनीहरुको कर्कश स्वरले भय उत्पन्न गराएको छ । स्नानका समयमा मूलधामीले लोक भाकामा गीतसमेत गाउँछन् जसलाई स्थानीय भाषामा ‘महराई’ भनिन्छ ।

कात्तिक पूर्णिमाका दिन धनुषा, सिरहा र भारतको जयनगरमा अवस्थित कमला नदीमा र त्यसको भोलिपल्ट जनकपुरमा धामीझाँक्रीको घुइँचो लाग्छ । धामी बेतको लठ्ठी र बल्दै गरेको आहुत लिएर त्यहाँ जाने गर्छन् । त्यो लट्ठी उनीहरुले तन्त्र सिद्धि गरेर पूजापाठ गर्ने बेलामा प्रयोग गर्छन् । गंगासागर तलाउमा स्नान गर्नआएका धामीझाँक्री मन्त्र सिद्धिसँगै मठमन्दिर घुमेर फर्किने चलन छ ।

धामीझाँक्रीले भूत र कूलदेवता भाक्दै गंगासागरमा डुबुल्की मार्ने परम्परा शदियौँदेखिको हो । भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले कमला नदी र गंगासागरको शुद्ध पानी आआफ्नो घर लैजाने गर्छन् । प्रायःजसो भूतमेलामा दलित समुदायको सहभागिता रहने गरेको छ । उनीहरु आफ्ना घरमा पूजापाठ गरी कमला नदीमा विसर्जन गर्न जाने गर्छन् ।

मूलधामीले मन्त्र सिद्ध गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुनेमा तारापट्टी निवासी राजकिशोर यादव विश्वस्त छन् । उनी भन्छन्, “वर्षभरीमा हुने गरेका विभिन्न आपद्विपद्बाट अकाल मृत्यू भएकाको आत्मालाई नियन्त्रणमा राखी अमनचयनका लागि यस दिनाको अहम भूमिका रहने गरेको छ ।”

तन्त्रशास्त्रका अनुसार तन्त्र सिद्धिका लागि यस दिन पूर्णाहुति दिने चलन छ । मिथिलामा तन्त्र विधामा सर्वसाधारणको विश्वास छ ।(रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू