अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३८ | Colorodo: 03:53

आइटिएफ तेक्वान्दो प्रतियोगिताः सिनियरमा सेना, जुनियरमा मध्यमाञ्चल विजयी

बिआरटीनेपाल २०७४ कार्तिक १८ गते ८:५३ मा प्रकाशित

यहाँ आज सम्पन्न १७ औँ सिनियर तथा दसौँ जुनियर राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगितामा सिनियरतर्फको उपाधि नेपाली सेना र जुनियरतर्फको उपाधि मध्यमाञ्चलले जितेका छन् ।

प्रतियोगितामा सेना नौ स्वर्ण, १० रजत र १७ कास्य पदकसहित उपाधि उचाल्न सफल भएको हो । प्रतियोगितामा जुनियरतर्फ मध्यमाञ्चलले पाँच स्वर्ण, छ रजत र तीन कास्य पदक जितेको छ ।

प्रतियोगितामा सिनियर महिलातर्फ उत्कृष्टको उपाधि मध्यमाञ्चलकी रञ्जु पुलामी मगर र जुनियर महिलातर्फ मध्यमाञ्चलकै विपना थापा मगर हुन सफल भए । सिनियर पुरुषतर्फको उत्कृष्टको उपाधि मध्यमाञ्चलका सागर कुँवर र जुनियर पुरुषतर्फ पनि मध्यमाञ्चलकै युनिश गौतमले जितेका छन् । उत्कृष्ट भएका चारै जनाले जनही रु दुई हजार पाँच सय तथा ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगिता विदुर नगरपालिका–२ मा रहेको खेलकुद कभर्ड हलमा दुई दिनसम्म भएको थियो । राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पाँच विकास क्षेत्र, सेना, सशस्त्र प्रहरी बल र आयोजक गरी छ राष्ट्रिय टोलीका १०० महिलासहित २०० खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेको प्रतियोगिता आयोजक समितिका संयोजक वासु भट्टले जानकारी दिनुभयो ।

प्रतियोगितामा पुरुषतर्फ २० देखि ८५ केजी तौल समूह र महिलातर्फ २५ देखि ७५ केजी तौल समूहमा प्रतिस्पर्धा गरिएको थियो । प्रतियोगितामा ४१ –४१ स्वर्ण र रजत तथा ८२ कास्य पदकका लागि खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको समापन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बुद्धि प्रधानले तेक्वान्दो खेलले जिल्लालाई चिनाएकाले यसका प्रतिभालाई बाहिर ल्याउन जिल्लामा राष्ट्रियस्तरको प्रतियोगिता निरन्तर हुनुपर्ने बताउनुभयो । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू