अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३३ | Colorodo: 13:48

सार्वजनिक बिदाको सङ्ख्या घटाउन सुझाव

बिआरटीनेपाल २०८१ मंसिर २७ गते ६:३९ मा प्रकाशित

सांसदहरुले सार्वजनिक बिदाको सङ्ख्या घटाउन सरकारलाई सुझाव दिएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनीहरूले नेपालमा धेरै बिदा हुँदा जनतामा सहज रूपमा सेवा प्रवाहमा समस्या भएकाले बिदाको सङ्ख्या घटाउन सरकारलाई सुझाव दिएका हुन् । सांसद अमरेशकुमार सिंहले वर्षमा ३० दिनभन्दा बढी बिदा नपाउने व्यवस्था गर्न सुझाव दिनुभयो ।

सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर छलफलका क्रममा उहाँले हरेक कुरामा बिदा दिने प्रचलनले समयमा नै काम नहुने र जनतालाई समेत समस्या पर्ने देखिएको बताउनुभयो । त्यस्तै सांसद श्याम घिमिरेले खरदारसम्मका लागि कर्मचारी नीति क्षेत्रको कम्पनीबाट लिनुपर्ने र पाँचौँ तहबाट मात्रै निजामती सेवामा कर्मचारी लिनुपर्ने सुझाव दिनुभयो ।

बैठकमा सांसद माधव सापकोटाले समितिको बैठकबारे बिहान साढे दश बजेमात्र जानकारी आएको र तयारी नगरेकाले छलफलमा भाग नलिने बताए । २४ वटा बुँदामा संशोधन दर्ता गरेपनि पर्याप्त छलफल हुने अवस्था नदेखिएको जिकिर गर्नुभयो । समितिका सभापति रामहरि खतिवडाले निरन्तर बैठक भएकाले सूचना पठाउन ढिलाइ भएको जवाफ दिनुभयो । सभापति खतिवडाले समितिमा रहेका विधेयकलाई निष्कर्षमा पुराउनका लागि समिति निरन्तर क्रियाशील रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय