अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०४ | Colorodo: 12:19

बिआरआई फ्रेमवर्कअन्तर्गत अनुदानका परियोजना मात्रै अघि बढ्छ: कांग्रेस

बिआरटीनेपाल २०८१ मंसिर २४ गते ६:२४ मा प्रकाशित

नेपाली कांग्रेसले बिआरआई फ्रेमवर्कअन्तर्गत चीनले अनुदान दिने परियोजनाहरू मात्र अघि बढ्ने बताएको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले चीनले अनुदान दिने परियोजनामात्रै नेपालमा अघि बढ्ने निष्कर्ष निकालेको हो। प्रवक्ता प्रकाशशरण महतले दिएको जानकारीअनुसार बैठकमा बिआरआईका विषयमा पनि कुराकानी भएको छ।

‘कार्यसम्पादन समितिमा बिआरआईबारे पनि छलफल भयो। पार्टीको कार्यसम्पादन समितिले पहिला नै अनुदान स्वीकार गर्ने भनेअनुसार चीनबाट आएको प्रस्तावमा सरकार र हाम्रो पार्टीबीच पनि छलफल गरेर प्रधानमन्त्रीको चीन भ्रमणका बेला अनुदान सहयोग लिने गरी चीन सरकारसँग प्रस्ताव गरियो,’ प्रवक्ता महतले भन्नुभयो, ‘बिआरआई फ्रेमवर्कअन्तर्गत १० परियोजना सूची छन्। जुनमा अनुदान दिन चीन तयार हुन्छ त्यो परियोजना मात्रै सम्झौता र अघि बढ्छ, ऋण लिँदैनौं।’

ऋण लिएर बनाएका परियोजना फलदायी नभएकोले ऋण लिन सक्ने अवस्था नरहेको पनि उहाँले बताउनुभएको छ। नेपालले ऋण लिँदैन भन्ने कुरा चीनले पनि बुझिसकेको महतको भनाइ छ। ‘ऋण लिएर बनाएका परियोजना फलदायी भएनन् भन्ने हाम्रो निष्कर्ष छ। अनुदान नै लिने हो ऋण होइन,’ महतले भन्नुभयो, ‘प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले पनि चीन भ्रमणका क्रममा चिनियाँ पक्षसँग कुरा राख्नु भएको छ। चीनले पनि नेपालले ऋण लिँदैन भन्ने कुरा बुझेको छ।’ नेपाल सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा प्रस्ताव गरेका १२ मध्ये २ वटा हटाएर फ्रेमवर्क अन्तर्गत १० वटा परियोजना अघि बढाउने सहमति गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय