अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२७ | Colorodo: 08:42

सबिन , पूर्ण र जोन सँगै हजारौँ दर्शकहरू झुमे सुम्निमा पारुहाङ्ग साँझमा

बिआरटीनेपाल २०८१ मंसिर १० गते ९:४६ मा प्रकाशित

धरान । मङ्सिर ७ गते शुक्रवार साँझ पुर्वको चर्चित शहर धरानको धरान रङ्गशालाको मैदान निक्कै लामो समयपछि पुरै भरिएको थियो । एक दिन अघिदेखि नै धरानमा छिमेकी देश भारतको सिक्किम, दार्जिलिङ, सिलिगुडी लगायतका स्थानहरूबाट बाक्लो रूपमा दर्शकहरू आई पुगेका थिए ।

धरानका लोकप्रिय मेयर हर्क साम्पाङ्गको चिन्ड़े डाँडा धरानमा बनाउन लागेको सांस्कृतिक धरोहर सुम्निमा पारुहांगको प्रतिमा निर्माण अभियानको लागि गरिएको दोस्रो च्यारिटी कन्सर्ट “सुम्निमा पारुहांग साँझ २०८१” मा अहिलेका उदयमान युवापुस्ताका माझ अत्यन्तै चर्चित ब्याण्ड जोन एण्ड द लोकल्स र पूर्ण राई एण्ड दाजुभाइहरू सँगै अर्का लिजेण्ड लोकप्रिय ब्याण्ड सबिन राई एण्ड फ्यारोह एउटै स्टेजमा पहिलो पल्ट आफ्नो सांगीतिक प्रस्तुतिको लागि देखा पर्न लागेकोले यो बाक्लो भिड हुनु पनि स्वाभाविक नै थियो । साँझ केही अबेर सुरु भए पनि लगातार कलाकारहरूको प्रस्तुतिले पूर्ण मनोरञ्जन पाउन सफल भएको कन्सर्ट सफलता पुर्वक अबेर रातिसम्म करिब १५ हजार देखि माथिको दर्शकहरूको ऐतिहासिक उपस्थितिका बिच सम्पन्न हुनुलाई पनि मान्न सकिन्छ ।

कन्सर्टको सुरुवात धरानकी उदयीमान गायिका क्यामरिन माझी र उनको ब्याण्ड आरोहिजले भर्खरै दिवङ्गत धरानका गायक तथा सङ्गीतकार नवराम राईलाई श्रद्धाञ्जली अर्पण गर्दै उनकै सङ्गीत रहेको लोकप्रिय गीत गुराँसको फेद मुनि गाएर गरेका थिए। त्यस्तै लोकप्रिय गायिका तथा पहिलो नेपाल स्टार विष्णु चेम्जोङ्ग ले द्रव्य ब्याण्ड सँगै आफ्नो लोकप्रिय गीतहरू शान्ति लुकाऊ कहाँ, याद लगायतका गीतहरू गाएका थिए ।

युवापुस्तामाझ चर्चित पूर्ण राई एण्ड दाजुभाइको प्रस्तुति पनि यादगार रह्यो । उनले आफ्नो चर्चित गीतहरू मनका कुरा, कालो सेतो, तिम्रो माया उन्नान्सय लगायतका चर्चित गीतहरू गाएर आफूसंगै दर्शकहरूलाई झुमाएका थिए । पूर्ण राईको प्रस्तुति पछि आफ्नो लोकप्रिय अन्दाजमा देखा परेका अर्का लोकप्रिय ब्याण्ड जोन एण्ड द लोकल्सको प्रस्तुति पनि अबिस्यमरणीय रह्यो । ब्यान्डका गायक जोन चाम्लिङले के गरु, भन मात्र, फर्कन्न होला, प्रश्न, मुटु देखिन, बादल सरी लगायतका गीतहरू गाएर हजारौँ दर्शकहरूमाझ आफ्नो अमिट छाप छोड्न सफल देखिन्थे ।

कन्सर्टको अन्त्यमा स्टेजमा ओर्लेका अर्का लिजेण्ड सबिन राई एण्ड फ्यारोहको प्रस्तुतिले कन्सर्ट ऐतिहासिक बन्न सफल भयो । उनले समर्पण मेरो, म संसार जित्ने आँट गर्दैछु, जाँउ कि बसु, तिमि नै हो, कोमल त्यो तिम्रो वदनमा लगायतका चर्चित गीतहरू गएका थिए भने अर्का गायक पूर्ण राईसंगै भर्खरै दिवङ्गत गायक तथा सङ्गीतकार नवराम राईलाई श्रद्धाञ्जली अर्पण गर्दै उनीद्वारा सङ्गीतबद्ध गीत गुराँसको फेदमुनि सम्झनाको छाया प्रस्तुत गरेका थिए । आफ्ना दुई चर्चित गायकहरू एक साथ स्टेजमा गाउँदा दर्शकहरू थप रोमाञ्चित देखिएका थिए ।

नेपाली पपरक सङ्गीतका अहिलेका हटकेक ब्यान्डहरू जोन एण्ड द लोकल्स र पूर्ण राई एण्ड दाजुभाईहरुसंगै अर्का लिजेण्ड लोकप्रिय ब्याण्ड सबिन राई एण्ड फ्यारोहको एउटै स्टेजमा एकै दिनको कन्सर्टमा प्रस्तुति पहिलो पल्ट भएकोले दर्शकहरू निकै नै उत्साहित थिए ।

कार्यक्रमको सञ्चालन इक्सा मादेन र महेश लिम्बुले गरेका थिए । धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङले सम्पूर्ण कलाकारहरूलाई धन्यवाद सँगै सम्मान गएका थिए । सम्पूर्ण कलाकारहरूले कन्सर्टमा आफ्नो निःशुल्क प्रस्तुति दिएका थिए ।

सिल्भर इन्टरटेनमेन्टको निर्माण तथा व्यवस्थापनमा सुम्निमा पारुहांग साँझ २०८० च्याप्टर २ आयोजना भएको थियो।

केही समय पछि कार्यक्रमबाट उठेका सम्पूर्ण रकम सुम्निमा पारुहांग प्रतिष्ठानमा बुझाइने कार्यक्रम संयोजक मिना सिंगकले बताउनुभयो । गत चैत्र १० मा आयोजित सुम्निमा पारुहांग साँझ २०८० मा चौसट्ठी लाख अठासी हजार नौ सय उन्नाइस रुपैयाँ रकम हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू