अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०५ | Colorodo: 09:20

हवाईजहाजमाथि आक्रमण बढ्दै गएपछि राष्ट्रसङ्घले हैटीमा उडान बन्द गर्‍याे

बिआरटीनेपाल २०८१ कार्तिक २८ गते ६:१६ मा प्रकाशित

हवाईजहाजमाथि आक्रमण बढ्दै गएपछि संयुक्त राष्ट्रसङ्घले हैटीमा सम्पूर्ण उडान बन्द गरेको छ । राष्ट्रसङ्घका प्रवक्ता स्टेफेन डुजारिकले बढ्दो आक्रमणका कारण हैटीमा हुने उडान बन्द गरेको र यसले थप मानवीय सङ्कट निम्ताउने चेतावनी दिनुभएको छ ।अस्ति सोमवार हैटीको राजधानी पोर्ट–ओ–प्रिन्स नजिकै पुगेको बेला अमेरिकाको स्पिरिट एअरलाइन्सको एउटा व्यावसायिक विमानमा गोली लागेको थियो, यो विमान छिमेकी डोमिनिकन गणतन्त्रमा डाइभर्ट भएको थियो । त्यसै दिन पोर्ट–ओ–प्रिन्सबाट उडान गरेको जेट ब्ल्यू एअरवेजको एउटा जहाज न्युयोर्क पुगेपछि गोलीले क्षति पुर्‍याएको पाइएको थियो ।

प्रवक्ता डुजारिकले राजधानी पोर्ट–ओ–प्रिन्समा २० वटा सशस्त्र समूहबीच झडप भइरहेको र शहर अस्तव्यस्त रहेको बताउनुभएको छ । पोर्ट–ओ–प्रिन्सको टुसेन्ट लुभर्टुर अन्तर्राष्ट्रिय विमानस्थल आउँदो मङ्गलवारसम्मका लागि बन्द भएको छ । समुद्री बन्दरगाह खुला रहे पनि बन्दरगाहसम्म पुग्न सडकको पहुँच छैन । उडान बन्द भएपछि आफ्ना मानवीय कर्मचारी र स्रोतहरूको प्रवाहलाई सीमित बनाइएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

पहिले नै मानवीय अवस्था कमजोर रहेको हैटीमा बढ्दो हिंसाले थप भयानक अवस्था निम्ताएको खबरमा उल्लेख छ । हैटीको राजधानीका सबै विद्यालय पनि बन्द भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू