अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५७ | Colorodo: 10:12

ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता भएको वासिङटन पोष्टको दाबी, युक्रेनमा युद्ध नबढाउन ट्रम्पको चेतावनी

बिआरटीनेपाल २०८१ कार्तिक २६ गते ४:२२ मा प्रकाशित

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनमा कुराकानी गरेको वासिङटन पोस्टले दाबी गरेको छ ।ट्रम्पको विजयी सुनिश्चित भएपछि नोभेम्बर ६ तारिख अर्थात् गएको बुधवार उहाँले पुटिनसँग कुराकानी गरेको स्रोतहरुलाई उद्धृत गर्दै वासिङटन पोस्टले जनाएको छ । ट्रम्पले पुटिनलाई युक्रेनमा युद्ध नबढाउन चेतावनी दिनुभएको समाचारमा उल्लेख छ । यस्तै, युरोपमा अमेरिकी सैन्य उपस्थितिलाई बेवास्ता नगर्न पनि ट्रम्पले पुटिनलाई आग्रह गर्नुभएको छ । ट्रम्पको चुनावी अभियानले भने पुटिनसँग कुरा गरेको समाचारमा कुनै टिप्पणी गरेको छैन ।

बीबीसीले ट्रम्पका सञ्चार निर्देशक स्टीवन चेङलाई टेलिफोन कुराकानीबारे पुष्टि गर्न खोज्दा स्पष्ट जवाफ नपाएको जनाएको छ । ‘हामी राष्ट्रपति ट्रम्प र अन्य विश्व नेताहरूबीचको निजी फोनको बारेमा टिप्पणी गर्दैनौँ ।’ चेङले भन्नुभएको छ । चुनावी अभियानको क्रममा ट्रम्पले आफू विजयी भएमा युक्रेन युद्ध एकैदिनमा समाप्त गरिदिने जिकिर गर्नुभएको थियो । तर राष्ट्रपतिमा निर्वाचित भएपछि भने उहाँले युक्रेन युद्धबारे बोल्नुभएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू