अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०८ | Colorodo: 10:23

माओवादी केन्द्रले उपनिर्वाचन हुने सबै स्थानीय तहमा आफ्नै उम्मेदवार उठाउने

बिआरटीनेपाल २०८१ कार्तिक २६ गते ४:०२ मा प्रकाशित

आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले सबै ठाउँमा आफ्नै उम्मेदवार उठाउने भएको छ। अध्यक्ष प्रचण्डको निवास खुमलटारमा सोमबार बसेको पदाधिकारी बैठकले उपनिर्वाचन हुने सबै स्थानीय तहमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको उपमहासचिव वर्षमान पुनले जानकारी दिनुभयो। यद्यपि विपक्षी दलहरूसँगको सम्भावित सहकार्यबारे पछि छलफल गरी निर्णय हुने उहाँले बताउनुभयो ।

‘तत्कालका लागि सबै ठाउँमा आफ्नै उम्मेदवार उठाउने निर्णय भएको छ। पछि विचार मिल्ने दलहरूसँग तालमेल गर्ने विषयमा छलफल गरेर निर्णय हुन्छ’, उपमहासचिव पुनले भन्नुभयो । बैठकले उपनिर्वाचनका लागि प्रदेश कमिटीहरूले हालसम्म टुंगो लगाएका उम्मेदवारको अनुमोदन गर्ने निर्णय गरेको छ। साथै पार्टीका उम्मेदवारलाई जिताउनका लागि एकताबद्ध र प्रतिबद्ध भएर लाग्न पनि बैठकले अपिल गरेको छ। मंसिर १६ गते देशभरका ४४ रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ।

जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, नगरपालिका प्रमुख १, उपप्रमुख १ र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उपनिर्वाचन हुनेछ। ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशङ्कर गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि निर्वाचन हुनेछ।

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नम्बर ३, झापाको कन्काइ नगरपालिका वडा नम्बर ६, तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नम्बर ८, सुनसरीको गढी गाउँपालिका वडा नम्बर ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नम्बर ५, उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ र बेलका नगरपालिका वडा नम्बर ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ र ४, धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २, रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ७, राजपुर नगरपालिका वडा नम्बर ६ र गढीमाई नगरपालिका वडा नम्बर ८ को वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ।

काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर १ र ४, काठमाडौं महानगरपालिका वडा नम्बर १६, नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २, मकवानपुरको हेटौंडा नगरपालिका वडा नम्बर १२, गोरखाको गोरखा नगरपालिका वडा नम्बर ५, गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४, रुकुम ९पूर्वी० पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर २ र कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष पदमा निर्वाचन हुने आयोगका सूचना अधिकृत सुमन घिमिरेले बताउनुभयो।

दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३, कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर ४, जाजरकोट कुशे गाउँपालिका वडा नम्बर ७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५, रुकुम ९पश्चिम० सानीभेरी गाउँपालिका वडा नम्बर ५, बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ६, दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ। मंसिर २ गते उम्मेदवारी दर्ता गर्ने कार्यसूची छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू