अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४५ | Colorodo: 12:00

नेप्से सूचक र कारोबार दुई महिनायताकै उच्च

बिआरटीनेपाल २०८१ कार्तिक २५ गते ६:०८ मा प्रकाशित

तिहारपछि सेयर बजारमा उच्च वृद्धि हुन सक्ने लगानीकर्ताहरूको अनुमान मेल खाएको छ।तिहारपछिको तेस्रो कारोबारको दिन आइतबार नेप्से परिसूचक ६२.५४ अंकले बढेर २७३८ विन्दुमा पुगेको छ।यो करिब दुई महिना यताकै उच्च हो। गत असोज १४ गते नेप्से एक सय १४ अंकले बढेको थियो। आइतबारको वृद्धि त्यसयता कै उच्च हो।कारोबार रकममा पनि सो समय यताकै वृद्धि देखिएको छ। आइतबार बजारमा नौ अर्ब ७७ करोड रूपैयाँको कारोबार भएको हो। त्यसअघि भदौ ३० गते १० अर्ब ३३ करोड रूपैयाँको कारोबार भएको थियो।

केही समयदेखि २७ सयको विन्दुमा कडा प्रतिरोध पाइरहेको नेप्सेले यो तह पार गरेको जस्तो देखिएको छ। प्रतिरोधको तहबाट १५/२० अंकबाट पनि घट्ने सम्भावनाहरू हुन्छन्। आइतबार बजार बन्द हुँदा २७३८ विन्दुमा आएकोले सोमबारको कारोबार हेरेर प्रतिरोध तोडिएको सुनिश्चितता गर्न सकिने देखिन्छ। आज ३२५ वटा धितोपत्रको दुई करोड २४ लाख ७४ हजार २८१ कित्ता सेयर किनबेच भएको हो।आइतबार २२८ कम्पनीको सेयर मूल्य बढेको छ भने १३ वटाको घटेको छ। यस्तै, तीन कम्पनीको मूल्य स्थिर रहेको छ।

यस दिन छ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।गुराँस लघुवित्त, श्रीजनशील लघुवित्त र सुपरमाई हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ भने बलेफी हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक र समृद्धि फाइनान्सको मूल्य ९.९९ प्रतिशतले बढेको छ। यस्तै, सानिमा ग्रोथ फण्डको मूल्य सर्वाधिक ६.७६ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ६ रूपैयाँ ७६ पैसामा झरेको छ।

समाज लघुवित्तको मूल्य ४.८६ प्रतिशतले घटेको छ। उक्त कम्पनीको मूल्य तीन हजार ६२० रूपैयाँ २० पैसा कायम भएको छ।आइतबार सानिमा जिआइसी इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य ७६९ रूपैयाँ ९० पैसामा ३८ करोड चार लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १.८४ प्रतिशत बढेको हो।सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा समृद्धि फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ९३३ रूपैयाँ ७० पैसामा ३४ करोड १९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो। यसदिन जलविद्युत समूहको परिसूचक सर्वाधिक ४.२६ प्रतिशतले बढेको छ भने दोस्रोमा विकास बैंक समूहको परिसूचक २.७१ प्रतिशतले बढेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू