नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक सय दिनमा राम्रो काम गरेको बताउनुभएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले आयोजना गरेको शुभकामना आदानप्रदान तथा जय नेपाल भक्तपुर स्मारिका लोकार्पणका अवसरमा उहाले सरकारलाई पार्टीको तर्फबाट कुनै किसिमको अवरोध नहुने समेत बताउनुभयो ।
‘केपी शर्मा ओलीको नेतृत्वको संयुक्त सरकारले राम्रो काम गरिरहेको छ, हामी सरकारमा भएको कारण मात्रै भनेको होइन, प्रधानमन्त्री ओलीले साच्चै राम्रो काम गर्नुभएको छ । मलाई विश्वास छ, आगामी दिनमा पनि यस्तै राम्रा काम गर्दै जानु हुनेछ,’ देउवाले भन्नुभयो ।
प्रधानमन्त्री ओलीलाई आफूले पनि सल्लाह, सुझाव दिएर सहयोग गरिरहेको बताउँदै उहाले विपक्षी पार्टीहरुले सरकारको आलोचना गर्नु स्वभाविक भएको पनि बताउनुभयो ।
आलोचनालाई खराब नमानेको र त्यसलाई तथ्यपरक ढङ्गले सरकारले ध्यान दिने देउवाको भनाइ थियो।सरकारलाई आइपर्ने समस्या समाधानका लागि आफ्नो तर्फबाट पूरापुर सहयोग रहने उहाले बताउनुभयो ।